• २०८१ बैशाख १८ मंगलबार

आज मोतीराम भट्टको १५४औँ जन्मजयन्ती

kharibot

काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । 

विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उहाँको निधन भएको थियो । तीस वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका छन् । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । साथै नेपालमा छापाखाना भित्र्याउने योगदानसमेत पनि उनले नै पाएका छन् । 

युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गरेको रामायण विसं १९४१ मा छापेर सार्वजनिक गरेका थिए । भानुभक्तलाई चर्चामा ल्याउने काम उनले गरेका थिए । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।

 शृङ्गारिक धाराका गजलकार भट्टले नेपाल र वनारसमा पनि मोती मण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलासलगायतलाई पनि साहित्यमा अघि बढाएको नेपाली साहित्यका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए । नेपाली कविताको माध्यमिककालका केन्द्रीय प्रतिभा भट्टले लेखेका गजल व्यङ्ग्यात्मक शैलीका समेत हुन्थे ।

‘जता हेर्यो त्यतै मेरो नजर्मा राम प्यारा छन्’, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो’ यी उनका गजलका नमूना हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै