• २०८१ बैशाख १७ सोमबार

उपराष्ट्रपतिको निर्वाचनको मतगणना शुरु

kharibot

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनको मतगणना शुरु भएको छ । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा अपरान्ह ३ बजे मतदान सकिएपछि केहि बेरअघि बाट मतगणना शुरु भएको हो ।

मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।   नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार हुनुहुन्छ । उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ ।

निर्वाचनमा सङ्घीय संसद्का ३३२ सांसद र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्य मतदाता छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । उपराष्ट्रपति मर्यादाका हिसाबले राज्यको दोस्रो माथिल्लो पद हो । नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै