• २०८१ बैशाख २० बिहीबार

थाइल्यान्डमा सरकार गठनका लागि दलहरूबीच वार्तामा

kharibot

बैङ्कक । मतदानमा सरकारी प्रतिद्वन्द्वीहरूलाई पराजित गरेपछि थाइल्याण्डका विपक्षी समूहहरूले बुधबार सरकार–गठबन्धन वार्ता गरेका छन् । यद्यपि, सैनिक निकट भई नियुक्त भएका केही सिनेटरहरूले विजयी पार्टीका नेतालाई प्रधानमन्त्री बन्नबाट रोक्ने प्रयास गर्ने चेतावनी दिएका छन् ।

करिब एक दशकलामो सेनासमर्थित शासनलाई मतदाताले ठाडै अस्वीकार गरेपछि प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) आइतबारको चुनावबाट सबैभन्दा ठूलो दलको रूपमा उदाएको हो । एमएफपी नेता पिता लिम्जारोएनरतले बैङ्ककको एक रेस्टुरेन्टमा अन्य पाँच विपक्षी दलका वरिष्ठ अधिकारीहरूलाई भेटेर फोटो खिचाएपछि उनीहरू वार्ताका लागि बन्द कोठामा छिरेका थिए । 

युवा नेता ४२ वर्षीय पिटाले दुई दशकदेखि थाई राजनीतिमा प्रभुत्व जमाएको फेउ थाई र चार वटा साना समूहसँग गठबन्धन बनाउने प्रयास गरिरहेका छन् ।

एमएफपीले १५२ सिट जितेको छ भने फेउ थाईले १४१ सिट जितेको छ । अन्य दलसँग गठबन्धन गर्दा तल्लो सदनका ५०० सिटमध्ये ३०० भन्दा बढी सिट प्राप्त हुनेछ ।

तर प्रधानमन्त्रीको पद सुरक्षित गर्न गठबन्धनलाई सिनेटसहित दुवै सदनमा बहुमत आवश्यक छ, जसका २५० सदस्य अघिल्लो सैनिक सरकारले छानेको थियो ।

एमएफपी र यसका सहयोगीहरूलाई तल्लो सदनमा ३७६ मत आवश्यक पर्दछ । यसको अर्थ यही वातावरण रहेमा सिनेटरहरूले पितालाई प्रधानमन्त्री बन्नबाट रोक्न सक्दैनन् तर सेनाको प्रभावमा परेर साना दलले विपक्षीहरूको गठबन्धनलाई विफल पार्नसक्ने पनि सम्भावना रहेको छ ।

केही सिनेटरहरूले पिताको विरोधमा आवाज उठाइसकेका छन् । राजालाई हेर्ने दृष्टिकोणलाई कानूनको संशोधन गरेर परिवर्तन ल्याउने एाएफपीको योजनाका कारण संस्थापन विरोधी अडानमा विभाजन आउने अनुमान हेरिएको छ । 

सिनेटर जाडेट इन्सवाङले भने, “म पितालाई प्रधानमन्त्रीको रूपमा स्वीकार गर्दिनँ ।” सिनेटर कित्तिसाक रतनवराहले पनि पितालाई समर्थन गर्न अस्वीकार गरे । उनले भने, “प्रधानमन्त्रीको उम्मेदवारले देश, राजसंस्थालाई माया गर्नुपर्छ ।”

फेउ थाईका एक वरिष्ठ नेताले मङ्गलबार दुई मझौला कन्जरभेटिभ पार्टी भुमजैथाई र प्रजातान्त्रिकलाई प्रधानमन्त्रीको मतदानमा गठबन्धनलाई सहयोग गर्न आह्वान गरेका छन् ।

प्रधानमन्त्री प्रयुत चान–ओ–चाको निवर्तमान गठबन्धनको हिस्सा रहेको भुमजैथाई पार्टी आफ्नो तल्लो सदनको ७० सिटका साथ सम्भावित निर्णायक शक्तिको रूपमा देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै