• २०८१ बैशाख १५ शनिबार

समुद्री आँधी बिपरजोय गुजरात र कराँची तटमा ठोक्किदै, लाखौँलाई सुरक्षित स्थानमा सारियो

kharibot

नयाँ दिल्ली । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवाती समुद्री आँधी (बिपरजोय) भारतको गुजरात राज्यको माण्डवी र पाकिस्तानको सिन्ध प्रान्तको कराँची सहरनजिकैको तटमा ठोक्किँने भएको छ ।

पछिल्ला केही दिनदेखि निकै चर्चामा रहेको आँधीको पूर्वसावधानी स्वरुप दुवै देशका तटीय क्षेत्रका एक लाख ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवात बिपरजोय भारतको गुजरातको जखाउ बन्दरगाहमा र पाकिस्तानको केति बन्दरगाहमा ठोक्किने अनुमान छ ।

गुजरातको तटीय क्षेत्रबाट करिब ७४ हजार र पाकिस्तानमा करिब ६६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

तेस्रो श्रेणीको अत्यन्त गम्भीर चक्रवाती तुफान वर्गीकरण गरिएको बिपरजोयको हावाको गति १४० देखि १५० किलोमिटर प्रतिघण्टा छ । तटीय क्षेत्रमा ठोक्किँदा भने गति केही कम हुने अनुमान छ । 

चक्रवाती तुफान गुजरातको तटतर्फ नजिकिँदै गर्दा पोरबन्दर, राजकोट, मोर्बी, जुनागढ तथा सौराष्ट्र जिल्लाका अन्य क्षेत्र र उत्तरी गुजरातमा भारी वर्षा हुने मौसम विभागले जनाएको छ ।

चक्रवातलाई ध्यानमा राख्दै आज (बिहीबार) यी क्षेत्रमा चल्ने ७६ वटा रेल रद्द गरिएको वेस्टर्न रेल्वेले जनाएको छ । गुजरातका द्वारकाधीश र सोमनाथ मन्दिर बिहीबार बन्द रहे ।

सम्भावित क्षति र उद्धार कार्यका लागि जल, थल र वायु सेनाका टोलीहरु परिचालित गरिएको छ । बिपरजोयका कारण परेको भारी वर्षाले भारतमा कम्तिमा सातजनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै