• २०८१ बैशाख १६ आइतबार

दिवंगत सारुक ताम्राकार अभिनित म्युजिक भिडियो सार्वजनिक

kharibot

काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत् दिवंगत अभिनेता सारुकले अभिनय गरेको ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । 

निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले सारुकको अन्तिम इच्छा चलचित्र नै सार्वजनिक गरे पनि सो सम्भव नभएका कारण म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको जानकारी दिए । 

‘हामीले चलचित्र पूरा गर्न सकेनौँ । तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौँ । हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो । उ नरहेता पनि उसको काम हामी माँझ रहिरहने छ’, निर्देशक गुरुङले भने । गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन् । बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले बताए । 

कार्यक्रममा अभिनेता ताम्राकारको आमा रुकमणि ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा लगायत उपस्थित थिए । 

सारुककी आमा रुकमणिले आफ्नो छोराले निकै मेहनतका साथ गरेको कामलाई म्युजिक भिडियोकै माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, ‘सरुकले यो चलचित्रको लागि तीन वर्षदेखि समय दिएको थियो । यसलाई ठूलो पर्दाममा हेर्न न पाएता पनि यहाँ हेर्न पाउँदा खुशी लाग्यो ।’ 

उनले छोराकै मृत्यु वियोगका कारण पति सानु ताम्राकार अस्पताल भर्ना हुनुपरेको कारण कार्यक्रम उपस्थित नभएको जानकारी गराइन् । उनले सारुकलाई लिएर सामाजिक सञ्जाल र अन्यत्र विभिन्न अड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन समेत आग्रह गरिन् । 

कलाकार संघका अध्यक्ष मोहन निरौलाले पनि ‘सारुकले न्याय पाउनु पर्छ’ भन्दै आफ्नो मन्तव्यको सुरुआत गरे । उनले भने, ‘म यो परिवारसँग जोडिएको चार दशक भईसक्यो । उहाँहरू सरुकलाई गुमाउदा जुन पिडामा हुनुहुन्छ त्यसलाई शब्दमा व्यक्त गर्न सकिदैन । हामी पनि कलाकारसँग जोडिएको विषयलाई अनुसन्धान गरिरहनु भएका प्रहरीलाई छिटै टुङ्ग्याउन र सत्य तथ्य बाहिर ल्याइदिन आग्रह गर्दछौँ ।’

अभिनेता ताम्राकारसँगै अभिनय शिक्षा लिएकी अभिनेत्री सृष्टी श्रेष्ठले पुराना सम्झनालाई स्मरण गर्दै भावुक भइन् । ‘सारुकसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समुहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग विदा भयो भन्ने स्वीकार्न सकिरहेका छैनौँ । हाम्रो साथीले के–कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माँग छ । र, हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौँ’, अभिनेत्री श्रेष्ठले भनिन् । 

चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका अभिनेता ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका छन्  । अभिनेता ताम्राकारले गत असार २१ गते आफ्नै रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए ।  

गीतकाे लिंक :

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै