• २०८१ बैशाख १७ सोमबार

अझै कायम छ धामी–झाँक्री प्रथा

kharibot

मन्थली (रामेछाप)। जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी–झाँक्रीप्रति अझै विश्वास कायमै छ । बच्चाहरू रोइराख्यो भने गाउँका धामी–झाँक्री वा बूढापाकाबाट फुक्न लगाउनेदेखि लगान भयो भन्दै धामी–झाँक्रीकामा पुग्ने चलन गाउँमा मात्र होइन, सहरमा अझै पनि कायमै छ ।

गाउँमा स्वास्थ्य चौकी, पालिकामा पालिकास्तरीय अस्पताल र जिल्ला  अस्पतालमा पनि निको नभएका बिरामी धामी–झाँक्रीले निको पार्ने गरेको भन्दै उनीहरूप्रतिको विश्वास बढेको हो । अस्पतालमाम ठूलो धनराशि खर्च गरेर उपचार गराउँदा पनि बिरामीलाई निको नभएपछि  निराश भएका बिरामीका आफन्त अन्तिम विकल्पका रूपमा तान्त्रिककामा उपचारका लागि पुग्ने गर्छन् ।

अस्पताल, औषधि र आधुनिक प्रविधिको उच्चतम प्रयोग भइराखेको अहिलेको परिवेशमा पनि धामीझाँक्रीमा विश्वास गरेर कैयौँ बिरामी उपचारका लागि पुग्ने गर्दछन् । लिखु तामाकोशी गाउँपालिका–७  निवासी प्रतीक बोहरा व्यावसायिक धामी–झाँक्री हुन । आफ्ना जुजुबाजे, बाजे र बुवा सबैले यही काम गरेका र

आफ्नो शरीरमा पनि सानै उमेरदेखि झाँक्री चढेकाले यही पेसा गर्दै आएको उनि बताउछन् । बोहोरा  आफ्नो गृह वडा, पालिका र जिल्लाका साथै बेलाबेलामा सेवा गर्नाका साथै काठमाडौँको स्वयम्भू कारखाना चोकमा धामी–झाँक्री आश्रममा बसेर सेवा पुर्याउँदै आएका छन् ।

उनि भन्छन, “काम्ने, छोप्ने र एक्कासी बेहोस भएर ढल्ने बिरामी आउनुहुन्छ, उहाँहरूको सेवाभावले उपचार गर्ने हो ।” बोहोराका अनुसार धामी–झाँक्री र माताको नाममा मनपरी शुल्क लिएर सर्वसाधारणलाई ठग्ने प्रचलन गतल हो यस्ता गतिविधि गर्नेलाई राज्यले कानुनी दायरामा ल्याउनुपर्छ ।

यसरी ठगी गर्नेको पहिचान गर्न नेपाल झाँक्री सङ्घले अनुगमन टोली बनाएको पनि उनको भनाइ छ  । परम्परा र संस्कार संरक्षणका लागि यो काम गर्नुपर्नेमा बोहोरा जोड दिन्छन् । उनि धामी, झाँक्री र माताले मनपरी शुल्क लिने गरेको र यसखाले ठगी नियन्त्रणका लागि धामी–झाँक्री सङ्घको अनुगमन टोली बेलाबेलामा आउनुपर्नेमा जोड दिन्छन् ।

“यो व्यवसाय होइन, संस्कारका रूपमा विकास हुनुपर्छ”,बोहरा भन्छन् ।विकृतिका रूपमा फैलिँदै गएको धामी–झाँक्रीको साखमाथि असर पर्ने काम गर्नेहरूलाई नियमनका लागि पनि देशैभरका झाँक्रीलाई एउटै संस्थामा ल्याउनुपर्ने उनको भनाइ छ । पहिले कुन जमिनमा घर बनाउँदा राम्रो हुने, कतापट्टि फर्काउने, मूलढोका कता राख्ने र प्रकृति पूजनको सबै काम र त्यसको शुभसाइत झाँक्रीले नै गर्ने गरेको बोहोरा बताउछन् ।

मानवीय विकाससँगै अस्पतालबाट गरिने उपचारलाई पनि प्राथमिकता  दिनुपर्ने भन्दै उनि सकेसम्म बिरामीको निःशुल्क सेवा गर्न झाँक्रीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिन्छन् ।

अस्पताल धाउँदाधाउँदै निको नभएका बिरामी पनि आफूले तान्त्रिक विधिबाट उपचार गरेर निको पारेको मन्थली नपा वडा नं ७ का तान्त्रिक विशेषज्ञ केदारप्रसाद ढुङ्गेल बताउछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै