पोखरा । पोखरा महानगरपालिकाले समावेशी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित वडा नम्बर १७ महतगौँडास्थित जानकी माध्यमिक विद्यालयमा अटिजम प्रभावित बालबालिकाका लागि स्रोत कक्षा सञ्चालनमा ल्याएको छ।
महानगर प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्त रूपमा स्रोत कक्षाको शुभारम्भ गरेका हुन् । हाल उक्त कक्षामा ४० जना विद्यार्थी अध्ययनरत छन् । महानगरपालिकाले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्दै कार्यक्रमलाई थप विस्तार गर्ने जनाएको छ ।
शुभारम्भ कार्यक्रममा प्रमुख आचार्यले शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार भएकाले कुनै पनि बालबालिका शैक्षिक अवसरबाट वञ्चित हुन नहुने बताए । फरक क्षमता भएका बालबालिकालाई गुणस्तरीय र पहुँचयुक्त शिक्षा उपलब्ध गराउन महानगर प्रतिबद्ध रहेको उनको भनाइ थियो।
उपप्रमुख गुरुङले समावेशी शिक्षा महानगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै अटिजम प्रभावित बालबालिकासहित सबै प्रकारका अपाङ्गता भएका विद्यार्थीका लागि आवश्यक सहयोग र अवसर सुनिश्चित गरिने बताएकी थिइन् ।
पोखरा महानगरपालिकाले यसअघि श्रवण अपाङ्गता भएका विद्यार्थीका लागि सृजना बहिरा माध्यमिक विद्यालय र दृष्टिविहीन विद्यार्थीका लागि अमरसिंह माध्यमिक विद्यालयमा पनि स्रोत कक्षा सञ्चालन गर्दै आएको छ ।









