चितवन । अविरल वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत तुईन खोलामा ढुंगा खस्नुका साथै सेती दोभान क्षेत्रमा माथिबाट लेदो बगेपछि सडक दुवैतर्फ अवरुद्ध भएको छ ।
पहिरो पन्छाउन आवश्यक उपकरण घटनास्थलमा पुगे पनि निरन्तरको भारी वर्षाका कारण सडक खुलाउने कार्यमा कठिनाइ भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
सडक अवरुद्ध भएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन् । सडक डिभिजनले रोकिएका सवारीसाधनलाई सुरक्षित स्थानतर्फ सार्न तथा चालक र यात्रुलाई सतर्क रहन आग्रह गरेको छ । निरन्तर वर्षा भइरहेकाले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र अत्यावश्यक बाहेकको यात्रा नगर्न पनि सबैमा अनुरोध गरिएको छ ।









