• २०८१ बैशाख २६ बुधबार

मलेसिया १०० रनमा अलआउट, सन्दीपले लिए ५ विकेट 

kharibot

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगिताअन्तर्गत अहिले नेपाल र मलेसियाबीच खेल भइरहेको छ। 

जारी खेलमा मलेसियाले नेपाललाई १०१ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले राम्रो सुरुवात गरेपनि सन्दीप लामिछानेले उत्कृष्ट बलिङका अगाडी मलेसियाको टिम धरासायी भएको थियो। मलेसियाले १९.३ ओभरमा १०० रन बनाउदा अल आउट भएको थियो। 

सन्दीपले आफ्नो ४ ओभरको स्पेलमा २० रन दिएर ५ विकेट लिएका थिए। सन्दीपले प्रतियोगिताको पहिलो खेलमा म्यानमारविरुद्ध २ ओभरमा ३ रन दिएर ४ विकेट लिएका थिए। अहिलेसम्म २ खेलमा सन्दीपले कुल ९ विकेट लिएका छन्। 

त्यस्तै नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने कप्तान पारस खड्काले एक विकेट लिएका थिए।  त्यस्तै एक विकेट नेपालले रन आउटको रुपमा पाएको थियो । 

मलेसियाका लागि ओपनर शफिक शरिफले सर्वाधिक ४९ रन बनाए भने शयेद अजिजले १३ रन बनाएका थिए। मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए। 

नेपालले केहीबेरमै ब्याटिंग सुरु गर्दै छ। 

प्रतियोगितामा दोस्रो खेल खेलिरहेको नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो।   

यही असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भुटान, चीन, म्यानमा र थाइल्याण्ड सहभागी हुनेछन् । राउण्ड रोविनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् । 

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएइ, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएइ, कतार र कुवेतसँगै पूर्वक्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । 

यस खेलमा नेपाली खेलाडीमा कप्तान पारस खड्का, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी रहेका छन्।

नेपालले अब २१ गते थाइल्याण्डसँग, २३ गते भुटानसँग, २४ गते चीनसँग र २६ गते सिङ्गापुरसँग खेल्ने छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै