• २०८१ बैशाख १७ सोमबार

कानुनविपरीत कार्य नगर्न प्रहरीलाई महानिरीक्षक खनालको निर्देशन

kharibot

चितवन / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको सोमबार उद्घाटन गर्दै उनले भने, “कानून विपरीत कुनै पनि कार्य गर्नु हुँदैन ।” 

प्रहरी महानिरीक्षक खनालले सबैले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिदैं महिला र बालबालिकाको विषयलाई गम्भीरतापूर्वक लिएर चाँडो न्याय दिनुपर्ने आवश्यकता औल्याए । 

“इमान्दारी र निष्ठापूर्वक बदमाससँग भिड्नुपर्छ”, उनले भने, “मानवअधिकार संरक्षण गर्नेमा चुक्न हुँदैन ।” 

प्रहरी महानिरीक्षक खनालले प्रहरीले इमान्दारीपूर्वक काम गरे समाजले विश्वास गर्ने बताउँदै नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गरे । 

चितवनका प्रहरी जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कम जनशक्तिमा पनि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै नवनिर्मित ब्यारेक र हिरासतले काम गर्न र बसाइमा सहजीकरण हुने बताए । 

प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले रु तीन करोड ९७ लाख ७५१ को लागतमा ब्यारेक र हिरासत निर्माण गरिएको जानकारी दिए । ब्यारेकमा १५ कोठा रहेका छन् । हिरासतमा ६ वटा कोठा छन् । २०७२ साल फागुन २८ गते सम्झौता गरी निर्माण थालिएको ब्यारेक भवन ११ हजार ३२१ वर्ग फिटमा रहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै