• २०८१ बैशाख १५ शनिबार

पिपिएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै, यस्तो छ फाइनलसम्मको यात्रा 

kharibot

काठमाडौँ। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को अब फाइनल खेल मंगलबार हुदै छ। प्रतियोगिताको फाइनलमा पोखरा पल्टन र चितवन राइनोजले उपाधिका लागि आज खेल्दै छन्। बिहान ११ बजेदेखि हुने यस फाइनल खेलका लागि दुवै टिमले आफ्नो सशक्त दाबेदारी पेश गरेका छन्। 

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राइनोज र राष्ट्रिय टिमका अनुभवी ब्याट्सम्यान शरद भेसवाकारले नेतृत्व गरेको पोखरा पल्टनबीचको यो भिडन्तलाई पारस भर्सेज शरदबीचको खेलको रुपमा पनि लिइएको छ।   

सुरुका २ खेलमा पराजति भएर प्रतियोगितामा उत्कृष्ट कमब्याक गर्दै चितवन राइनोजले फाइनलसम्मको यात्रा तय गरेको छ भने पोखरा पल्टनले पनि ५ मा ३ खेलमा जित हासिल गर्दै रनरेटको आधारमा शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो। 

चितवन र पोखराको फाइनल यात्रा :

प्रतियोगितामा सुरुवातको कुरा गर्दा पोखरा पल्टनले पहिलो खेलमा सन्दीप लामिछानेले नेतृत्व गरेको विराटनगर टाईटन्सलाई ५८ रनले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो। तर दोस्रो खेलमा पोखरा पल्टन बुटवल ब्लाष्टर्ससँग ३३ रनले पराजित भएको थियो। पोखरा पल्टनले तेस्रो खेलमा चितवन राइनोजविरुद्ध ५ विकेटको जित निकाल्दै कमब्याक गरेको थियो। त्यस्तै चौथो खेलमा धनगढी ब्लुजसँग २ विकेटले पराजित भएको पोखरा पल्टनले पाचौ खेलमा काठमाडौँ रोयल्सलाई ४ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। 

त्यस्तै चितवन राइनोजको फाइनल यात्रा भने पोखरा पल्टनको भन्दा अलि फरक गरेको छ। चितवनले सुरुका दुई खेलमा हार बेहोर्दै प्रतियोगितामा खराब सुरुवात गरेको थियो। चितवन राइनोजले पहिलो खेलमा बुटवल ब्लाष्टर्ससँग ७० रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा पोखरा पल्टनसँग ५ विकेटको हार बेहोरेको थियो। सुरुका २ खेलमा हार बेहोरेको चितवन राइनोजले तेस्रो खेलमा धनगढी ब्लुजलाई १२६ रनले पराजित गर्दै उत्कृष्ट कमब्याक गरेको थियो। त्यस्तै चितवन राइनोजले आफ्नो चौथो खेलमा काठमाडौँ रोयल्सलाई १३ रनले पराजित गर्दै प्रतियोगित मा फर्किएको थियो। समुह चरणको अन्तिम खेलमा चितवनले विराटनगर टाईटन्सलाई ४ विकेटले पराजित गर्दै अंक तालिकामा दोस्रो हुदै इलिमिनेटर खेल्न छनौट भएको थियो। चितवन राइनोजले इलिमिनेटरमा काठमाडौँ रोयल्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ। 

अहिलेसम्म खेलाडीको प्रदर्शन :

पोखरा पल्टनका खेलाडीको प्रदर्शनको कुरा गर्दा भारतीय खेलाडी रवि इन्दर सिंहले पोखराका लागि ५ खेलमा सर्वाधिक १७० रन बनाएका छन्। त्यस्तै असिफ सेखले ५ खेलमा १११ रन बनाउदै पोखराका लागि दोस्रो धेरै रन बनाएका छन्। पोखरा पल्टनको ब्याटिंग लाइनअप राम्रो भएपनि कप्तान शरद भेसवाकरले ५ खेलमा केवल ७७ रन बनाएका छन् भने रोहित पौडेलले ५ खेलमा ६७ रन मात्र बनाएका छन्। 

त्यस्तै बलिङतर्फ ललित राजबंशीले ५ खेलमा  विकेट लिदै पोखराका लागि धेरै विकेट लिने खेलाडी बनेका छन्। त्यस्तै युएइका बलर मोहमद नावेद र स्पिनर बिक्रम भुसालले ५ खेलमा ६-६ विकेट लिएका छन्। 

त्यस्तै चितवन राइनोजका खेलाडीको कुरा गर्दा भारतीय खेलाडी सन्नी पटेलले चितवनका लागि ६ खेलमा सर्वाधिक १५१ रन बनाएका छन्। त्यस्तै नेपाली युवा खेलाडी हरिशंकर शाहले चितवनका लागि ६ खेलमा २ अर्धशतकसहित १४३ रन बनाएका छन् भने अर्का भारतीय खेलाडी स्मित पटेलले चितवनका लागि ६ खेलमा ११७ रन बनाएका छन्। त्यस्तै कप्तान पारस खड्काले ६ खेलमा ९६ रन बनाएका छन्। 

त्यसैगरि चितवनका बलरको कुरा गर्दा करन केसीले प्रतियोगितामा नै अहिलेसम्म धरै विकेट लिएका छन्। करनले ६ खेलमा ११ विकेट लिएका छन्। त्यस्तै चितवनका सन्नी पटेलले ९ विकेट लिएका छन् भने स्मित पटेलले ७ र कप्तान पारसले ५ विकेट लिएका छन्। 

फाइनल प्रिभ्यु :

खेलाडीको प्रदर्शन र कप्तानको प्रोफाइल हेर्दा चितवन राइनोजलाई पिपिएलको बलियो दाबेदार मान्न सकिन्छ। खेलमा तथा प्रतियोगिता कमब्याक गर्ने कलाले माहिर रहेका कप्तान पारस खड्काले फेरी एक पटक आफ्नो त्यो कलालाई पिपिएलमा दोहोराएका छन्। करन केसीको धारिलो बलिङ र सन्नी पटेलको अलराउन्ड प्रदर्शन चितवनको मुख्य हतियार देखिएको छ। 

त्यस्तै सन्तुलित प्रदर्शन गर्दै आफुलाई फाइनलमा पुर्याएको पोखराका लागि युवा खेलाडी प्रदर्शनमा नै धेरै भरपर्नु पर्ने देखिएको छ। आसिफ सेख, रोहित पौडेल, रसिद खानको प्रदर्शनले नै उपाधि जित्ने नजित्ने देखिएको छ।  कप्तान शरद भेसवाकरले कप्तानी राम्रै गरेको भएपनि उनले रन बनाउनु आवश्यक रहेको छ।  

पिपिएललाई दर्शकको साथ

मैदानको उत्तरमा आँखै अगाडि टाँसिन आइपुग्ने माछापुछ्रे र अन्नपूर्ण हिमशृङ्खला । खुलेको मौसममा क्रिकेटको महाकुम्भ, जहाँ खेलाडी हिमालतिर फर्केर चौका र छक्का बर्साउँछन् । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टार खेलाडीले छक्का र चौका हानेको हेर्न रङ्गशालामा जम्मा भएका दर्शकको बाक्लो उपस्थिति । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिता शुरुआत गर्दै गर्दा आयोजकलाई चिन्ता थियो, दर्शकको उपस्थिति नभएर प्रतियोगिता निरश हुने पो हो की ? चिन्ता पनि किन नहोस्, क्रिकेट प्रतियोगिता कहिल्यै नभएको अनि फुटबल सर्वाधिक रुचाइएको ठाउँ हो पोखरा । 

यही कात्तिक ९ गतेदेखि पहिलोपटक पोखरामा क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ, आज प्रतियोगिताको अन्तिम खेल हुँदैछ । रमणीय माछापुछ्रेको फेदीमा पहिलोपटक प्रतियोगिता आयोजना गरिरहँदा आयोजकको चिन्ता र चासो भने प्रतियोगिता सञ्चालनसँगै हराएको छ । खेलको पहिलो दिनदेखि नै लगातार अस्थायी प्याराफिट दर्शकले खचाखच भरिएको छ । 

बालकदेखि वृद्धसम्मलाई प्रतियोगिताले लोभ्याएको छ । के बालक, के महिला, के वृद्ध सबै उमेर समूहका दर्शक क्रिकेट हेर्न रङ्गशाला पुगिरहेका छन् । दर्शकको चर्को हुटिङ र मनपरेको समूहको समर्थनले प्रतियोगितामा रौनक थपेको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । 

शुरुआतदेखि नै दर्शकको उपस्थितिले आयोजकको चिन्ता हराएको उनी बताउछन् । “पोखरा भन्नेबित्तिकै फुटबल आउँछ, यहाँ फुटबल लोकप्रिय छ, तर क्रिकेटलाई जसरी दर्शकले माया गरेर आउनुभएको छ, यसले आयोजकलाई हौसला मिलेको छ”, प्रबन्ध निर्देशक लामाले भने । 

“खेलका लागि यहाँको वातावरण राम्रो भए पनि प्रतियोगिता रोचक बनाउन दर्शक पनि चाहिन्छ, भरिभराउ दर्शकभएपछि खेलाडीको खेल्ने जाँगर पनि बढ्छ”, उनको भनाई छ । 

नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा दशर्कले प्याराफिटबाट देउसी भाका हालेर टिमलाई समर्थन गर्दा रङ्गशाला पुग्ने जो कोहीलाई पनि आनन्दित बनाउने गरेको छ । 

राष्ट्रिय क्रिकेट टिम तथा चितवन राइनोजका कप्तान पारस खड्का भरिभराउ दर्शकको माझ खेल्दा जोश बढेर आउने गरेको बताउछन् । “खेलाडीका लागि दर्शक नै सबैथोक हो, दर्शकले नै खेलाडीमा जोश जाँगर भर्ने हो, पोखरेलीले खेल हेरेर उत्साह थपिदिनुभएको छ”, कप्तान खड्काले भने । 

पहिलो दिनदेखि नै दर्शकको साथले प्रतियोगिता रोमाञ्चक बनेको उनको अनुभूति छ । 

पोखरा–१४ का १४ वर्षीय सोनु खत्री पहिलो दिनदेखि नै रङ्गशालामा उपस्थित भएर म्याच हेरेको बताउछन् । टेलिभिजनमा क्रिकेट हेर्ने गरेका उनी पहिलोपटक प्रत्यक्षरुपमा खेल हेर्दा रमाइलो लागेको अनुभूति व्यक्त गरे । 

“क्रिकेट मलाई मन पर्ने खेल हो, आइपिएल लगायतका टुर्नामेन्ट टेलिभिजनमा छुटाउन्नथे, अहिले रङ्गशालामै आएर हेर्दा टेलिभिजनमा हेर्दाभन्दा रमाइलो भएको छ”, उनले भने । 

खत्रीले दर्शकलाई खेल हेर्न राम्रो सुविधा नभएकोप्रति चिन्ता व्यक्त गरे । अस्थायी प्याराफिटमा बसेर खेल हेर्दा असुविधा भएको र शौचालयको प्रबन्ध नभएकाले सरकारले क्रिकेट विकासका लागि आधुनिक रङ्गशाला निर्माण गर्नुपर्नेमा उनको जोड छ । 

प्रतियोगिताले क्रिकेटप्रतिको माहोल बढाएको र पोखरालाई खेलकूद शहरका रुपमा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा चिनाएकाले क्रिकेट रङ्गशाला बनाउन ढिलाइ गर्न नहुने उनको तर्कछ । 

पोखरा रामबजारका ५२ वर्षीय कमलसिंह गुरुङ पनि प्रतियोगिताको नियमित दर्शक हुन् । नेपाल विश्वकप क्रिकेट टि २० प्रतियोगितामा प्रवेश गरेपछि नेपाली क्रिकेटलाई फलो गर्न लागेको गुरुङले सुनाए । 

पिपिएलले गर्दा नेपाली र विदेशी स्टार खेलाडीको खेल हेर्ने अवसर मिलेको उनले बताए । अहिलेको प्रतियोगिताले क्रिकेट खेल विकासमा सहयोग पुगेको उनको ठम्याइ छ । 

“कतिपय अभिभावक अहिले बच्चासहित खेल हेर्न आउनुभएको छ, पक्कै पनि त्यसले गर्दा बच्चामा पनि क्रिकेट खेलप्रति रुचि अवश्य बढ्नेछ, उनले भने, “अभिभावकलाई पनि आफ्नो बच्चालाई यस खेलका लागि अगाडि बढाउन प्रोत्साहन मिल्नेछ ।” 

प्रतियोगितामा हरेक दिन भेटिने पोखरा रामबजारका ७२ वर्षीय वीरबहादुर गुरुङले खेलले क्रिकेटप्रति चासो बढाएको बताउछन् । नेपालीको पहिलो रोजाइको खेल फुटबल भए पनि प्रतियोगिताले क्रिकेटप्रति चासो बढाएको उनको भनाइ छ । 

खेलले यहाँको पर्यटन प्रवद्र्धनमा पनि सहयोग मिलेको उनले बताए । फुटबल जसरी नेपालीले सहजै बुझ्छन्, क्रिकेट बुझ्न समय लाग्ने बताउँदै उनले प्रतियोगिताले क्रिकेट बुझ्न र यसप्रति चासो बढाउन मद्दत पुगेको धारणा व्यक्त गरे । 

क्रिकेट मैदान अन्यत्रकोभन्दा राम्रो बनेकाले यसलाई बिग्रन नदिइ संरक्षण गर्नुपर्ने खाँचो अर्का दर्शक सुजन बस्नेतले औँल्याए । प्रतियोगिताले खेलप्रति किशोरको आकर्षण बढाएकाले यसपछि थुप्रै किशोर बल र ब्याट लिएर निस्कने उनको अनुमान छ । 

पोखरा– ३३ का बृहस्पतिमोहन आचार्य खेलको नयाँ ब्राण्ड क्रिकेटले सबैको मन तानेको र प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउछन् । प्रतियोगिताले क्रिकेटको माहोलका साथै खेलाडीको क्षमता विकास र जीवनयापनमा पनि सहयोग पुग्ने भएकाले खेल भइरहनुपर्ने उनको भनाइ छ । 

सरकारले व्यवस्थित क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ गर्न नहुने उनको भनाइ छ । पर्यटनको राजधानी पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला निर्माण भए क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न वातावरण बन्ने भएकाले प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा बृहस्पतिमोहन आचार्यले बताए । 

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एक दिवसीय मान्यता प्राप्त गरेकाले यसबीचमा खेलको स्तर बढाउन घरेलु प्रतियोगिताले फाइदा पुग्ने विश्वास दर्शकको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै