मुम्बई। बलिवुडमा नोभेम्बर ८ मा रिलिज भएको फिल्म ठग्स अफ हिंदोस्तानले रिलिज दिनमा नै कैयौ रेकर्ड तोडेको छ। आमिर खान, अमिताभ बच्चन, फातिमा सना शेख र कटरीना कैफ स्टारर फिल्म हिन्दी, तामिल र तलेगु गरि तीन भाषामा रिलिज भएको यस फिल्मले पहिलो दिन ५२.२५ करोड भारतीय रुपैयाको व्यापार गरेको छ।
ठग्स अफ हिंदोस्तानलाई भारतमा तीन भाषामा गरि ७ हजार स्क्रिनमा रिलिज गरिएको छ,जुन अहिलेसम्म भारतमा रिलिज गरिएको कुनै पनि फिल्मको धेरै स्क्रिनमा गरिएको रिलिज हो। यस बाहुबलीलाई ६५ सय स्क्रिनमा रिलिज गरिएको थियो।
त्यस्तै ठग्स अफ हिंदोस्तान एकै दिनमा धेरै कलेक्सन गर्ने फिल्म बनेको छ। फिल्म विश्लेषकले राम्रो रिभ्यु नदिएका भएपनि फिल्मले पहिलो दिन ५२ करोड २५ लाख कलेक्सन गरेको फिल्म विश्लेषक तरण आदर्शले बताएका छन्।
साथै फिल्म यस बर्ष एक दिनमा धेरै कलेक्सनको रेकर्ड पनि बनाएको छ। यसअघि फिल्म संजुले ३४.७५ करोड व्यापार गरेको थियो। त्यसै गरि दिपावलीमा रिलिज गरिएको फिल्मले पनि धेरै व्यापार गर्ने रेकर्ड बनाएको छ। यस अघि दिपावलीमा रिलिज गरिएको फिल्म ह्यापी न्युइयरले पहिलो दिन ४४.९७ करोड व्यपार गरेको थियो।
ठग्स अफ हिंदोस्तान यश राज ब्यानरमा बनेको अहिलेसम्मको ठुलो बजेटको फिल्म भएको बताइएको छ। फिल्ममा २४० करोड लगानी लागेको मिडिया रिपोर्टमा बताइएको छ। साथै यस फिल्मले अभिनेता आमिर खानको धुम ३ को रेकर्ड तोड्दै धेरै व्यापार गरेको छ। धुम ३ ले पहिलो दिन ३६.२२ करोड व्यापार गरेको थियो।