बलिउड सुपरस्टार अमिताभ बच्चनले किसानहरुको ५ लाख अमेरिकी डलरबराबरको ऋण आफूले तिरिदिएको बताएका छन् । मंगलबार आफ्नो ब्लग लेख्दै उनले १३ सय ९८ जना किसानको झण्डै ६ करोड नेपाली रुपैयाँबराबरको ऋण तिरेको बताएका हुन् ।
यसलाई उनले आफ्नो कर्तव्य पूरा गरेको समेत बताएका छन् । भारतमा दशौँ हजार किसानहरु ऋणमा परेका छन् । दशकौँदेखि किसानहरु खडेरी, अपर्याप्त सिँचाइलगायतले उत्पादनमा ह्रास आउँदा ऋणमा परेका छन् ।
भारतमा कतिपय किसानहरु त ऋण तिर्न नसकी आत्महत्याको बाटोसम्म रोज्ने गर्छन् । सन् १९९५ देखि यता करिब ३ लाख किसानले आत्महत्या गरिसकेका छन् ।
७६ वर्षका बच्चन भारतकै सुपरस्टार तथा सुप्रसिद्ध अभिनेता समेत हुन् । उनका अनुसार सरकारी बैंकबाट पैसा लिएर तिर्न नसकेका किसानको ऋण उनले तिरेका हुन् ।
यसअघि पनि बच्चनले मुम्बईका ३ सय ५० किसानको ऋण तिरिदिएका थिए । हलिउडका केही चलचित्रमा समेत अभिनय गरिसकेका बच्चनले बलिउडमा १ सय ९० वटा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।
उनी चर्चित श्रृंखला कौन बनेगा करोडपतिका कार्यक्रम सञ्चालक समेत हुन् ।