• २०८१ बैशाख २४ सोमबार

ब्रेक्जिट सम्झौताबाट बेलायतको भविष्य सुनिश्चित हुने : थेरेसा मे

kharibot

बेल्जियम । युरोपेली युनियनमा आबद्ध २७ देशका नेताहरु ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गर्न ब्रसेल्समा आइतबार भेला हुँदैछन् । बेलायती प्रधानमन्त्री थेरिसा मेले यो सम्झौताबाट बेलायतको “सुन्दर भविष्य” हुने दाबी गरेकी छन् ।

ब्रसेल्समा आयोजना हुने विशेष सम्मेलनमा युनियनमा आबद्ध २७ मुलुकका नेताहरुले बेलायती प्रस्तावका सम्बन्धमा हस्ताक्षर गर्नेछन् । उक्त हस्ताक्षरलगत्तै बेलायती प्रधानमन्त्री पनि उक्त सम्मेलनमा सहभागी हुनेछिन् ।

विगत १७ महिनादेखिको घनीभूत छलफल पश्चात तयार यस सम्झौताले वित्तीय विषयहरु, नागरिकको अधिकार, उत्तरी आयरल्यान्ड र सङ्क्रमणकालीन व्यवस्थालाई समेटेको छ । साथै, सम्झौताले युरोपको भावी सुरक्षा र व्यापारिक सम्बन्धका बारेमा पनि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।

तैपनि, यो अन्तिम चरण भने होइन । बेलायती संसद “हाउस अफ कमन्स”ले आगामी मार्च २९, २०१९ अघि उक्त सम्झौतालाई अनुमोदन गर्नुपर्नेछ । धेरै सांसदले ब्रेक्जिट सम्झौतालाई स्वीकार गर्न नसकिने चेतावनी दिइरहेका छन् ।

बेलायती बहिर्गमनको विपक्षमा रहेका युरोपेली युनियनका परिषद् अध्यक्ष डोनाल्ड टस्कले सम्मेलनको पूर्वसन्ध्यामा एक वक्तव्य दिँदै बेलायतको बहिर्गमन (ब्रेक्जिट) योजनाबाट कोही पनि खुशी नरहेको बताएका छन् । उनले भने, “जोखिम र नोक्सानीलाई न्यूनीकरण गर्ने शर्तहरु राख्न सबैको सहमति छ । त्यसैले युरोपेली नेताहरुले यो सम्झौतामा हस्ताक्षर गरे हुन्छ ।”

प्रधानमन्त्री मेको कन्जरभेटिभ पार्टी र त्यसको समर्थक नर्दन आइरिस पार्टीले सम्झौताप्रति समर्थन नगर्ने जनाएका छन् । आइतबार प्रधानमन्त्रीले देशलाई सम्बोधन गरी जारी गरेको खुला पत्रमा सन् २०१६ को जनमतसङ्ग्रहले युरोपेली युनियनबाट बेलायतको बहिर्गमनलाई स्वीकृति दिइसकेको बताउँदै प्रस्तावित ब्रेक्जिट सम्झौता मुलुकको सुन्दर भविष्यका लागि भएको बताइन् ।

ब्रेक्जिटको निर्णयप्रति बेलायती जनमत निकै विभाजित छ, तर प्रधानमन्त्रीले बहिर्गमनको प्रयासले अन्तिम रुप लिइसकेको र यसबाट बेलायतलाई फाइदा नै पुग्ने बताइन् ।

जिब्राल्टरको तनाब

शिखर सम्मेलन शुरु हुनुअघि नै टस्क र युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करसँग अन्तिम कुराकानी गर्न बेलायती प्रधानमन्त्री ब्रसेल्स पुग्नुभएको छ । तर बेलायत निकट जिब्राल्टरमाथि स्पेनले आपत्ति जनाएपछि सम्मेलन नै बिथोलिने खतरा बढेको थियो ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनको सीमामा रहेको जिब्राल्टरका बारेमा युरोपेली युनियनमा मतदान गर्ने विशिष्ट अधिकार पाउनुपर्ने अडान राखेका थिए ।

बेलायतले जिब्राल्टरका बारेमा ब्रेक्जिट पछि म्याड्रिडसँग कुराकानी गर्ने बचनबद्धता प्रकट गरेपछि विवाद साम्य भएको थियो । सान्चेजले जिब्राल्टरमाथि दुवै मुलुकको सार्वभौमसत्ता कायम रहने गरी छलफल अगाडि बढेको जिकिर गरेका थिए । तर सान्चेजको यस्तै प्रस्तावमाथि सन् २००२ मा जिब्राल्टरमा भएको जनमतसङ्ग्रहले अस्वीकार गरेको थियो ।

स्पेनी प्रधानमन्त्रीको दाबीप्रति बेलायती प्रधानमन्त्रीले तत्कालै अर्को प्रतिक्रिया दिएका छन्, “जिब्राल्टरको सार्वभौमसत्ताका सम्बन्धमा बेलायतको अडान यथावत छ र त्यसमा कुनै परिवर्तन हुने छैन ।”

कानुनी रुपमा स्पेनको अस्वीकृतिले पनि बहिर्गमनलाई कुनै असर पार्ने छैन ।

माछा मार्ने अधिकार

बेलायती सांसदहरुले बेलायती उत्तरी आयरल्यान्ड र आयरल्यान्डबीच खुला सीमा यथावत राख्ने ब्रेक्जिट योजनाप्रति चासो व्यक्त गरेका छन् । यो व्यवस्थाले वर्षौंसम्म आयरल्यान्डमा युरोपेली युनियनका नियमहरु लागू हुनेछन् ।

तर युरोपेली युनियनमा माछा मार्ने अधिकार तथा वाणिज्य नियमहरुका बारेमा गहिरो चासो छ । युनियनको बजार पहुँचका लागि बेलायतले यी विषयमा स्पष्ट गर्नु जरुरी छ ।

एक कुटनीतिक स्रोतले आइतबार हुने २७ नेताको विशेष सम्मेलनमा यही विषयलाई सबैभन्दा प्रमुखताका साथ उठाइने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै