• २०८१ बैशाख १५ शनिबार

नेपाली क्रिकेटले युएईमा इतिहास बनायो, यी हुन् हाइलाइटस

kharibot

काठमाडौँ । नेपालले युएई टुरलाई ऐतिहासिक बनाउदै टुंगाएको छ । एकदिवसीय र टी-२० सिरिज दुवैमा २-१ को जित हासिल गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सुखद र रोमान्चक सुरुवात भएको छ ।

आइतबार खेलिएको अन्तिम टी-२० खेल बर्षाले प्रभावित बने पनि नेपालले जित हासिल गर्दै सिरिजमा कब्जा मात्र गरेर आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज पनि जित्यो । राष्ट्रिय क्रिकेट संघ आइसीसीको निलम्बनमा रहेको, देशमा क्रिकेटका संरचना नभएको र सरकारी पक्षबाट खुलेर क्रिकेटलाई सपोर्ट नगरेको अहिलेको अवस्थामा नेपाली क्रिकेटले निकालेको यो नतिजाले दिर्घकालसम्म ठुलो अर्थ राख्ने छ । यसका लागि नेपाली राष्ट्रिय टिमका कप्तान परास खड्कासहित सम्पूर्ण राष्ट्रिय टिमका सदस्य, कोच र टिमका अन्य सदस्य बधाईका पात्र छन् । 

यस रिपोर्टमा हामीले युएई टुरका केहि हाइलाइटस प्रस्तुत गर्दै छौ ।

एकदिवसीय खेलको प्रमुख हाइलाइट कप्तान पारसको शतक रह्यो, त्यस्तै रोहित पौडेलको अर्धशतक, सोमपाल कामीको ५ विकेट, कप्तान पारसले पाएको प्लेयर अफ द सिरिज आदी रहे ।

त्यस्तै टी-२० सिरिजमा दिपेन्द्र सिंह ऐरीको दोस्रो टी-२० खेलको ४७ रनको पारी, सन्दीप जोराको पहिलो खेलको अर्धशतक र अविनाश बोहोराको डेभ्यु सिरिजमै प्लेयर अफ द सिरिज, टी-२० सिरिजका हाइलाइटस रहे ।  

कप्तान पारस खड्काको शतक : 

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले युएईविरुद्ध तेस्रो एकदिवसीय खेलमा शतक बनाएका छन् । पारसले नेपालबाट पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय शतक बनाएका हुन् ।
पारसले ११५ रन बनाउने क्रममा १५ चौका र एक छक्का प्रहार गरेका थिए । यो नेपालका तर्फबाट कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा बनाएको पहिलो शतक हो । 

युएईले दिएको २५५ रनको लक्ष्य पछाउने क्रममा कप्तान पारसले आफ्नो शतक पुरा गरेका हुन् । यसअघि गत अगस्टमा भएको नेदरल्याण्डससँगको दोस्रो खेलमा पारसले ५१ रन बनाएका थिए ।

यसअघि नेपालबाट सोमपाल कामी, सुबास खकुरेल, ज्ञान्नेद्र मल्ल, र रोहित पौडेलले एक एक अर्धशतक बनाएका छन् ।  

प्लेयर अफ द सिरिज पारस :

युएईविरुद्धको एकदिवसीय सिरिजमा कप्तान पारस खड्का प्लेयर अफ द सिरिज बनेका छन् । पारस तेस्रो एकदिवसीय खेलमा प्लेयर अफ द म्याच पनि बनेका थिए ।

क्यारियर कै उत्कृष्ट ब्याटिंग गर्दै शतक बनाएका पारसले नेपाललाई युएईविरुद्धको सिरिज जिताउनुका साथै नयाँ इतिहास समेत बनाएको छ । नेपालले अहिलेसम्म खेलेका दुई सिरिजमा नेपाल अपराजित रहेको छ । पहिलो सिरिज नेदरल्याण्डससँग १-१ को बराबरीमा रहेको थियो ।

नेपालले अहिलेसम्म खेलेका कुल ६ खेलमा तीन खेलमा जित र तीन खेलमा हार बेहोरेको छ ।

पारसलाई तेस्रो एकदिवसीय खेलमा बनाएको ११५ रन र २ विकेटका लागि म्यान अफ द म्याचको पुरस्कार दिइयो । 

यस्तै पारसले सिरिजमा उत्कृष्ट खेलाडीको अवार्ड समेत जिते । पारसले ३ खेलको ३ पारीमा कुल १५६ रन बनाए । जसमा पहिलो खेलमा २०, दोस्रो खेलमा २१ र तेस्रो खेलमा ११५ रन रहेका छन् । यस्तै ३ खेलमा पारसले किफायती बलिंग गर्दै ४ विकेट समेत लिए ।

अविनाश बोहोरा टी-२० सिरिजका प्लेयर अफ द सिरिज 

काठमाडौँ । युवा खेलाडी अविनाश बोहोरा टी-२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् । अविनाशले ३ खेल खेल्दै कुल ६ विकेट लिएका थिए । 

अविनाशले ३ खेलमा कुल १० ओभर बलिङ गर्दै ७२ रन दिएर ६ विकेट लिएका हुन् । उनी टी-२० सिरिजमा धेरै विकेट लिने खेलाडी हुन् । युएईका कप्तान मोहमद नाभीदले सिरिजमा ५ विकेट लिए भने युएईकै सुल्तान अहमद र नेपालका सन्दीप लामिछानेले पनि ५-५ विकेट लिए ।

रोहितको विश्व रेकर्ड :

युएईसँगको दोस्रो एकदिवसीय खेलमा युवा खेलाडी रोहित पौडेलले अर्धशतक बनाएर नयाँ विश्व रेकर्ड बनाए । रोहितले आफ्नो पहिलो एकदिवसीय अर्धशतक बनाउदै विश्वमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने नयाँ रेकर्ड बनाए । रोहितले १६ बर्ष १४६ दिनमा अन्तर्राष्ट्रिय एकदिवसीय अर्धशतक बनाएका हुन् ।

रोहितले यस्तो रेकर्ड बनाउदै भारतका सचिन तेन्दुलकर  र पाकिस्तानका शाहिद अफ्रिदीको रेकर्डलाई समेत तोडेका छन् । सचिनले टेस्ट क्रिकेटमा १६ बर्ष २१३ दिनको दिन पाकिस्तानविरुद्ध अर्धशतक बनाएका थिए । त्यस्तै अफ्रिदीले १६ बर्ष २१७ दिनको दिन श्रीलंकाविरुद्ध ३७ बलमा शतक बनाएका थिए । 

टेस्ट र एकदिवसीय खेलमा सबै भन्दा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड भने दक्षिण अफ्रिकी महिला क्रिकेटर जोह्मारी लोंगटेनबर्गको नाममा छ । उनले १४ बर्षको उमेरमा अर्धशतक बनाएकी थिइन् । तर पुरुष खेलाडीमा भने अन्तर्राष्ट्रिय अर्धशतक बनाउने रेकर्ड रोहितकै नाममा भएको छ ।

रोहितले १५ बर्ष ३३५ दिनमा अन्तर्राष्ट्रिय एकदिवसीय डेभ्यु गर्दै सबै भन्दा कम उमेरमा डेभ्यु गर्ने चौथो खेलाडी बनेका थिए । 

यस खेलमा छैठौ नम्बरमा ब्याटिंग गर्न आएका रोहितले ५६ बलमा ५५ रनको पारी खेलेर रोहितले आफ्नो तेस्रो एकदिवसीय खेलमा पहिलो अर्धशतक बनाएका हुन् । 

नेपालका तर्फबाट अहिलेसम्म सोमपाल कामी, कप्तान पारस खड्का, सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलमा अर्धशतक बनाएका छन् ।

सोमपालको ५ विकेट :

युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा सोमपाल कामीले ५ विकेट लिदै एकदिवसीय खेलमा नेपालको तर्फबाट ५ विकेट लिने पहिलो खेलाडी बने । सोमपालले सो खेलमा ६.३ ओभर बलिङ गर्दै ३३ रन दिएर ५ विकेट लिएका थिए । सोमपाल नेपालका लागि पहिलो एकदिवसीय विकेट लिने खेलाडी समेत हुन् । उनले गत अगस्टमा नेदरल्याण्डसविरुद्धको एकदिवसीय खेलमा नेपालका लागि पहिलो विकेट लिएका थिए । सोमपालले नेपालबाट अहिलेसम्म ६ एकदिवसीय खेल खेल्दै कुल १३ विकेट लिएका छन् ।

सन्दीप जोराको विश्व रेकर्ड :

नेपाली युवा खेलाडी सन्दीप जोराले आफ्नो डेभ्यु अन्तर्राष्ट्रिय टी-२० खेलमा प्रहार गरेको अर्धशतकले विश्व रेकर्ड बनेको छ । 

जोराले १७ बर्ष १०३ दिनमा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु गर्दै अर्धशतक बनाएका हुन् । आइसीसीका अनुसार जोरा अहिलेसम्म कै कम उमेरमा टी-२० मा अर्धशतक बनाउने खेलाडी बनेका छन् ।

युएईविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा जोराले युएईले दिएको १५४ रनको लक्ष्य पछाउने क्रममा आफ्नो अर्धशतक पुरा गरेका हुन् । सन्दीपले ४२ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । यस खेलमा सन्दीप ५३ रनमा अविजित भएका छन् ।

१७ बर्षिय जोराले युएईविरुद्धको अन्तिम एकदिवसीय खेलमा अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा डेभ्यु गरेका थिए । उनले सो खेलमा १९ रन बनाएर आउट भएका थिए । 

जोराले विश्व रेकर्डसहितको पारी खेलेपनि नेपालले यो खेल २१ रनले गुमाएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै