काठमाडौँ l शुक्रबार साँझदेखि काठमाडौँ लगायत देशका कतिपय स्थानमा भएका बम विस्फोट लगायतका हिंसात्मक घटनाहरूप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विवेकशील नेपाली दलले विस्फोटको घटनामा संग्लनहरुको यथाशक्य छिटो पहिचान गरी कानुनी कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ l
ललितपुरको नख्खुस्थित एनसेलको गेटमा भएको विस्फोटमा परि उपचारको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई उचित क्षतिपूर्ति र अन्य घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत विवेकशील नेपाली सरकारसँग आग्रह गरेको छ ।
विवेकशील नेपाली दलले भनेको छ, ‘बम विस्फोटको लागि जिम्मेवार पक्षले एनसेल कम्पनीसँग चन्दा मागेको र समयमा नै चन्दा रकम नपाएको कारण विस्फोट गराएको भन्ने समाचारहरू आएका छन् l यदि यो समाचारमा सत्यता छ भने आफूलाई राजनीतिक शक्ति ठान्ने जो कोहिले जवर्जस्ती चन्दा असुली गर्नु र आफ्नो माग पुरा नभए बम विस्फोट जस्तो हिंसात्मक गतिविधिमा उत्रनु निन्दनीय छ l’
विवेकशीलले आफ्ना मागहरू शान्तिपूर्ण तवरबाट अघि सार्न हामी सम्बन्धित सबैलाई आग्रह गरेको छ l
यस्ता घटनाहरूले त्रासको वातावरण सिर्जना गर्ने र लगानीकर्ताको लगानीको सुरक्षामा समेत शङ्का पैदा गर्ने हुँदा, सरकार र सरोकारवालाहरू अत्यन्तै गम्भीर हुन जरुरी रहेको भन्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउन तथा घटना नदोहोरिने प्रत्याभूति दिलाउन राज्यका सम्बन्धित निकायहरूलाई कार्यकुशलताका साथ कानुनको परिधिभित्र रही परिचालन गर्न पनि आग्रह गरेको छ ।
साथै विवेकशीलले एनसेल कर प्रकरणमा सम्मानित सर्वोच्च अदालतको पछिल्लो फैशलालाई अविलम्ब कार्यान्वयनमा लैजान सरकारसँग जोडदार मागगर्दै कर प्रकरणलाई लम्ब्याउने खेलमा संग्लनहरुको पहिचान गरी तिनीहरूमाथि हदैसम्मको कारबाहीको माग गरेको छ l