काठमाडौँ । युभेन्टसले इटालियन सिरी ए को उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्टसले यस सिजनको सिरी ए को उपाधि जितेको हो ।
युभेन्टसको जितमा एलेक्स सान्ड्रोले एक गोल गरे भने फियोरेन्टिनाका पेज्जेलाले एक गोल आत्मघाती गोल गरेका थिए । क्रिस्टियानो रोनाल्डोले हानेको बल पेज्जेलाको खुट्टामा लागेर गोल पोस्टमा छिरेपछि सो गोल आत्मघाती गोल भएको थियो । त्यस्तै फियोरेन्टिनाका लागि एक गोल निकोला मिलेनकोभिकले गरेका थिए ।
युभेन्टसले यो जितसहित ३३ खेलमा ८७ अंक हासिल गरेर यस सिजनको उपाधि ५ खेल अगाडी नै जितेको हो । दोस्रो स्थानमा रहेको नापोली ३२ खेलमा ६७ अंक मात्र रहेकाले युभेन्टसले ५ खेल अगाडी नै उपाधि जितेको हो ।
गएको साता अयाक्ससँग पराजित भएर च्याम्पियन्स लिगबाट बाहिरिएको युभेन्टसले लगातार आठौ पटक सिरी ए को उपाधि जितेको छ । युभेन्टसले सन् २०११-१२ सिजनदेखि सिरी ए को उपाधि लगातार जित्दै आएको छ । युभेन्टस २१ पटक उपविजेता बनेको छ ।
युरोपका ५ उत्कृष्ट लिगमा युभेन्टसले लगातार ८ पटक लिग उपाधि जितेर नयाँ रेकर्ड बनाएको छ । फ्रेन्च क्लब लियोनले लगातार ७ पटक लिगको उपाधि जितेर दोस्रो स्थानमा रहेको छ ।
यो सिरी ए को ८७औ सिजन हो भने सिरी ए को इतिहासमा युभेनता ले अहिलेसम्म ३५औ पटक सिरी ए को उपाधि जितेको छ ।
त्यस्तै एसी मिलान १८ पटक उपाधि जितेको छ भने १५ पटक उपविजेता बनेको छ । त्यसैगरि इन्टर मिलानले पनि १८ पटक सिरी ए को उपाधि जितेको छ भने १४ पटक उपविजेता बनेको छ ।