• २०८१ बैशाख १६ आइतबार

वेस्टइन्डिजका ब्राभो र पोलार्ड विश्वकपको वैकल्पिक सुचिमा 

kharibot

काठमाडौँ । वेस्टइन्डिज क्रिकेट बोर्डले दुई चर्चित खेलाडीलाई विश्वकप क्रिकेटको वैकल्पिक खेलाडीको सुचिमा राखेको छ ।

गत बर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका ड्वाने ब्राभो र अर्का खेलाडी केरोन पोलार्डलाई विश्वकपको वैकल्पिक खेलाडीको सुचिमा राखेको हो ।

ब्रभोले क्रिकेट बोर्डसँगको विवादपछि सन्यासको घोषणा गरेका थिए । ब्राभोले सन् २०१४ अक्टोबरपछि वेस्टइन्डिजका लागि एकदिवसीय खेल खेलेका छैनन् । उनले वेस्टइन्डिजका लागि आखिरी खेल सन् २०१६ को सेप्टेम्बरमा पाकिस्तानविरुद्ध टी-२० खेल खेलेका थिए । 

त्यस्तै अर्को तर्फ पोलार्डले पनि लामो समय देखि वेस्टइन्डिजका लागि खेल खेलेका छैनन् । उनले आफ्नो अन्तिम खेल २०१८ नोभेम्बरमा भारतविरुद्ध खेलेका थिए ।

वेस्टइन्डिज क्रिकेट बोर्डले ब्राभो र पोलार्ड बाहेक सुनिल एम्ब्रिज, जोन क्याम्पबेल, जोनाथन कार्टर, रोस्टन चेज, शेन डावरिक, किमो पाउल, खेरि पियर र रेमन रिफरलाई वैकल्पिक खेलाडीको सुचिमा राखेको छ ।

विश्वकपका लागि वेस्टइन्डिजले छानेका १५ सदस्यीय खेलाडीमा आन्द्रे रसेलले पुनरागमन गरेका छन् । आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि वेस्टइन्डिजले अलराउन्डर आन्द्रे रसेललाई टिममा बोलाएको छ । अन्तिम पटक २०१८ जुलाईमा रसेलले वेस्टइन्डिजका लागि एकदिवसीय खेल खेलेका थिए भने अब विश्वकप खेल्ने टीममा उनलाई बोलाइएको छ । रसेलसँगै तिब्रगतिका बलर शेलडन कोटरेल र शननोनलाई समेत टिममा राखिएको छ ।

वेस्टइन्डिजको विश्वकप खेल्ने टिम : जसन होल्डर (कप्तान) क्रिस गेल, आन्द्रे रसेल, शेलडन कोटरेल, शननोन गाब्रियल, केमर रोच, निकोलस पुरन, एशले नर्स, फाबियन एलेन, शिमरोन हेटमेयर, शाइ होप, ओशाने थोमस, कार्लोस ब्राथवेट, डारेन ब्राभो, एभिन लेविस रहेका छन् ।

विश्वकपमा वेस्टइन्डिजले आफ्नो पहिलो खेल मे ३१ मा पाकिस्तानविरुद्ध खेल्दै छ । वेस्टइन्डिजले यसअघि सन् १९७५ र १९७९ मा विश्वकपको उपाधि जितेको थियो भने सन् १९८३ मा फाइनलमा पराजित भएको थियो । त्यसपछि भने वेस्टइन्डिज विश्वकपको फाइनलमा पुग्न सकेको छैन ।                                  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै