काठमाडौँ । विश्वकप क्रिकेटको आज फाइनल खेल हुदै छ । फाइनलमा यस पटक दुवै अहिलेसम्म विश्वकप नजितेका इङल्याण्ड र न्युजील्याण्ड पुगेका छन् । लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका यी दुवै टिमको भिडन्तमा कसले बाजी मार्ने हुन् अब सबै क्रिकेट प्रेमीको ध्यान त्यसतर्फ रहेको छ ।
न्युजील्याण्डको विश्वकपमा सहभागिताको कुरा गर्दा २ पटक सन् १९८३ र १९८७ मा समुह चरण बाटै बाहिरिएको थियो भने २००३ मा सुपर सिक्समा पुगेको थियो । त्यस्तै १९९६ मा क्वाटरफाइनलमा पुगेको थियो । त्यसैगरी १९७५, १९७९, १९९२, १९९९, २००७ र २०११ मा सेमिफाइनलसम्म पुगेर बाहिरिएको थियो । त्यस्तै सन् २०१५ मा फाइनलमा अस्ट्रेलियासँग पराजित भएको न्युजील्याण्ड फेरी यस पटक भारतलाई पराजित गर्दै फाइनल पुगेको छ ।
अहिलेसम्मको विश्वकपको न्युजील्याण्डको उपलब्धिको चर्चा पछि यस विश्वकपमा न्युजील्याण्डको यात्राबारे चर्चा गरौ । लिग चरणका कुल ९ खेल मध्ये ८ खेल खेलेको न्युजील्याण्डको एक खेल भारतविरुद्ध बर्षाले रद्ध भएको थियो ।
न्युजील्याण्डको यस विश्वकपको यात्रा :
१) पहिलो खेल : श्रीलंकामाथि १० विकेटको जित ।
२) दोस्रो खेल : बंगलादेशमाथि २ विकेटको जित ।
३) तेस्रो खेल : अफगानिस्तानमाथि ७ विकेटको जित ।
४) चौथो खेल : भारतविरुद्धको खेल बर्षाले रद्ध ।
५) पाँचौ खेल : दक्षिण अफ्रीकामाथि ४ विकेटको जित ।
६) छैठौ खेल : वेस्टइन्डिजमाथि ५ रनको जित ।
७) सातौ खेल : पाकिस्तानसँग ६ विकेटले पराजित ।
८) आठौ खेल : अस्ट्रेलियासँग ८६ रनले पराजित ।
९) नवौ खेल : इङल्याण्डसँग ११९ रनले पराजित ।
१०) सेमिफाइनल खेल : भारतमाथि १८ रनको जित ।
त्यस्तै इङल्याण्डको विश्वकपको इतिहासको चर्चा गर्दा अहिलेसम्म यो सहित चौथो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि सन् १९७९, सन् १९८७ र सन् १९९२ मा फाइनलमा पुगेर प्परजित भएको इङल्याण्डको यस पटक विश्वकप जित्ने सुनौलो अवसर रहेको छ । त्यस्तै इङल्याण्ड सन् १९७५, सन् १९८३ मा सेमिफाइनलसम्म पुगेर बाहिरिएको थियो ।
त्यस्तै २००७ मा सुपर आठमा पुगेको थियो भने १९९६ र २०११ मा क्वाटरफाइनलमा पुगेको थियो । त्यस्तै १९९९, २००३ र २०१५ मा समुह चरणबाटै बाहिरिएको थियो ।
यस विश्वकपको यात्राको चर्चा गर्दा इङल्याण्ड ९ खेलमा ६ खेलमा जित र ३ खेलमा हार बेहोरेदै १२ अंकसहित तेस्रो हुदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो ।
इङल्याण्डको यस विश्वकपको यात्रा :
१) पहिलो खेल : दक्षिण अफ्रीकाविरुद्ध १०४ रनको जित ।
२) दोस्रो खेल : पाकिस्तानविरुद्ध १४ रनको हार ।
३) तेस्रो खेल : बंगलादेशविरुद्ध १०६ रनको जित ।
४) चौथो खेल : वेस्टइन्डिजविरुद्ध ८ विकेटको जित ।
५) पाँचौ खेल : अफगानिस्तानविरुद्ध १५० रनको जित ।
६) छैठौ खेल : श्रीलंकाविरुद्ध २० रनको हार ।
७) सातौ खेल : अस्ट्रेलियाविरुद्ध ६४ रनको हार ।
८) आठौ खेल : भारतविरुद्ध ३१ रनको जित ।
९) नवौ खेल : न्युजील्याण्डविरुद्ध ११९ रनको जित ।
१०) सेमिफाइनल : अस्ट्रेलियाविरुद्ध ८ विकेटको जित ।
यस विश्वकपमा न्युजील्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक रन बनाएका छन् । विलियम्सनले ९ खेलका ८ इनिंगमा २ शतक र २ अर्धशतकसहित ९१.३३ को औसतले ५४८ रन बनाएका छन्, जसमा उनको उच्च रन वेस्टइन्डिजविरुद्ध १४८ रहेको छ ।
त्यस्तै रोज टेलरले ३३५ रन बनाएका छन् भने जिम्मी निशामले २१३ रन बनाएका छन् । त्यस्तै कोलिन डि ग्रान्डहोमले १७४ र मार्टिन गप्टिलले १६७ रन बनाएका छन् ।
त्यसै गरी लुकी फर्कुसनले ८ खेलमा ४.८७ को इकोनोमीले बलिङ गर्दै कुल १८ विकेट लिएका छन् । त्यस्तै ट्रेन्ट बोल्टले ९ खेलमा ४.६२ को इकोनोमीले कुल १७ विकेट लिएका छन् । त्यस्तै माट हेनरीले १३ र जिम्मी निशामले १२ विकेट लिएका छन् ।
समग्रमा न्युजील्याण्डको अहिलेको टिम सन्तुलित देखिएको छ । सेमिफाइनलमा भारतविरुद्ध न्युजील्याण्डका बलरहरुले गरेको प्रदर्शन यस विश्वकप कै उत्कृष्ट प्रदर्शन भन्न सकिन्छ ।
यस विश्वकपमा न्युजील्याण्डको सबै भन्दा चिन्ताको विषय ओपनिंग जोडी हो । विष्फोटक ब्याट्सम्यानको छबि बनाएका मार्टिन गप्टिल यस विश्वकपमा श्रीलंकाविरुद्धको ७३ रन बाहेक राम्रो प्रदर्शन गर्न सकेका छैनन् । त्यस्तै पछिल्ला तीन खेलमा ओपनिंग गरेका हेनरी निकोल्सले ८, ० र २८ रन बनाएर निराशाजनक प्रदर्शन गरेका छन् । त्यसैले अहिलेसम्म नचलेको ओपनिंग जोडी फाइनलमा पनि नचालेमा न्युजील्याण्ड संकटमा पर्ने अनुमान गर्न सकिन्छ । अन्यथा मिडल अर्डरमा कप्तान विलियम्सन, रोज टेलर, निशाम र ग्रान्डहोमले सम्हालेकै देखिन्छ ।
त्यस्तै इङल्याण्ड टिमको कुरा गर्दा जोय रुटले सर्वाधिक ५४९ रन बनाएका छन् । रुटले २ शतक र ३ अर्धशतकसहित ५४९ रन बनाएका हुन् । त्यस्तै इङल्याण्डका जोनी बैरस्टोवले ४९६ रन बनाएका छन् । बैरस्टोवले पनि २ शतक प्रहार गरेका छन् भने २ अर्धशतक प्रहार गरेका छन् । त्यस्तै जासन रोयले एक शतक र ४ अर्धशतकसहित ४२६ रन बनाएका छन् । यो बाहेक इङल्याण्डका कप्तान इयोन मोर्गन र जस बटलरले पनि एक एक शतक प्रहार गरेका छन् ।
त्यस्तै यस प्रतियोगितामा इङल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले उत्कृष्ट बलिङ गर्दै १९ विकेट लिएका छन् । त्यस्तै मार्क वुडले १७ विकेट लिएका छन् भने क्रिस वोक्सले १३ तथा एदिल राशिदले ११ विकेट लिएका छन् ।
यसरी हेर्दा न्युजील्याण्डभन्दा इङल्याण्डको टिम बढी सन्तुलित र यस विश्वकपमा खेलाडीको निजि प्रदर्शन राम्रो रहेको देख्न सकिन्छ ।
प्रतिष्ठित लर्ड्स मैदानमा हुने विश्वकप फाइनलमा हुने खेलको पिच पुरै हरियो देखिएको छ । फाइनल खेलको प्रेसर र मौसमको अवस्था अनुसार टस जितेर के गर्ने भन्ने निर्णय हुने देखिन्छ ।
यस खेलमा दुवै टिमले पछिल्लो खेलमा नै खेलेका खेलाडी खेल्ने सम्भावना रहेको छ । इङल्याण्डका जोनी बैरस्टोव भारतविरुद्धको सेमिफाइनलमा हल्का घाइते भएपनि थप उपचारका लागि नगएकाले उनी खेल्ने देखिन्छ । त्यस्तै न्युजील्याण्डका ओपनर हेनरी निकोल्स घाइते भएको र उनको खेल्ने अवस्था खेल अघिमात्र थाहा हुने बताइएको छ ।
निष्कर्षमा भन्दा फाइनल खेलको दबाब र विश्वकप जित्ने लक्ष्यका बीच दुवै टिमको सम्भावना बराबरी नै देखिन्छ । तर घरेलु दर्शक र घरेलु मैदानमा खेलिरहेको इङल्याण्डलाई केहि फाइदा भने अवश्य हुने देखिन्छ । लिग चरणमा न्युजील्याण्डलाई ठुलो अन्तरले पराजित गरेको इङल्याण्ड फाइनल खेलमा त्यसको मनोवैज्ञानिक फाइदा लिन सक्ने देखिन्छ ।