• २०८१ बैशाख २० बिहीबार

परीक्षामा रंगेहात पक्राउ पर्दा...

kharibot

जिन्दगी के हो, परीक्षा या नतिजा ? परीक्षा केका लागि जिन्दगीका लागि या नतिजाका लागि ? नतिजा के का लागि जिन्दगीमा पास हुन या जागिरमा पास हुन ? यहि प्रश्नको खोजिमा रुमल्लिएकी मैले स्कुल भर्ति भएदेखि आजको दिनसम्म करिब ५५ ओटा परीक्षा दिईसकेछु । (यसमा नतिजा प्रकाशित नहुने परीक्षा उल्लेख गरिएको छैन ।)

मैले एक कक्षा पढिन । एक्कैचोटी कक्षा दुईबाट पढाई सुरु भयो । कारण बडो रोचक छ । दुई दशक अगाडीतिर हाम्रो गाउँमा छोरालाई बोर्डिङ स्कुल र छोरीलाई सरकारी स्कुल पढाउने चलन थियो फलस्वरुप मेरो भाइ जो म भन्दा करिब दुई बर्षले कान्छो छ, उ बोर्डिङ भर्ना भयो । 

भइदियो के भने, भाइ बोर्डिङ स्कुल जानै मानेन । दिनदिनै रोएर कोलाहल मच्चाउन थालेपछि उसको ठाउँ मैले पाएँ । बाआमाले पैसा खेर जान दिनुभन्दा कान्छी छोरी बोर्डिङ पढ्छे भन्ने सोचेर मलाई भाइको ठाउँमा बोर्डिङ पठाउनुभयो । त्यतिखेर म ६ बर्षको थिएँ । 

त्यो समयमा सरकारी स्कुलमा ६ बर्ष नपुगेसम्म भर्ना लिईँदैनथ्यो । यदि शिक्षकका छोराछोरी भए उनीहरुले भने चान्स पाउँथे ।

म भने पढाइको मामिलामा उम्रिदैको तिनपात थिएँ अरे । जे जस्तो भएपनि स्कुल जान पाए निकै खुशी हुने । त्यो समयका कुरा खासै याद नभएपनि, गोलो गोलो अन्डा बनाउँदा पहिलोपल्ट भनेजस्तै गोलो हुँदा खुशी भएको क्षण अहिले पनि सपना जसरी याद आउँछ । 

६ बर्ष नपुग्दै खाली खुट्टा दिदीहरुको पछि लागेर स्कुल जान्थें अरे तर शिक्षक मेरो पाइला स्कुलमा परेको निको मान्दैनथे अरे । बहिनी लिएर आउने भए तँ पनि स्कुल नआइज भन्ने धम्की पाएपछि मलाई छक्काएर स्कुल जान्थे अरे, जुन कुरा अचेल पनि भेट हुँदा मेरा दिदीहरु सुनाउँछन् ।

खैर, भाइले बोर्डिङ स्कुललाई नो भनेपछि म भने खुशी खुशी भाइको ठाउँमा पढ्न जानथालें । नर्सरीमा भर्ना भएकोमध्ये उमेरमा सबैभन्दा ठुली म थिएँ, अरु सबै सानासाना भाईबहिनाहरु । एकजना केटो नाम गोपाल जस्तो लाग्छ, उ भने म भन्दा निकै ठुलो उमेरको थियो ।

बोर्डिङका हेडसर थिए, भक्त सर । उनको थर के थियो याद छैन तर हामी सबै उनलाई भक्ते सर भनेर पुकाथ्र्यों । समय क्रमसँगै अन्य शिक्षकको नाम भुलेपनि म भक्त सरलाई कहिल्यै भुल्दिन, किनभने उनी मेरो जिन्दगीका पहिला गुरु हुन्, जसले ए बी सी डी लेख्न सिकाए, घिन नमानेर मेरो सिगान पुछे र मलाई धेरै माया गरे । गाउँघरमा छिमेकीले खासै मन नपराउने भएकाले पनि होला, भक्त सरको माया मलाई बडो खास लाग्थ्यो । 

भक्त सर भुटानी शरणार्थी थिए, पछि माओबादीले बोर्डिङ स्कुल बन्द गराएपछि उनी कता गए थाहा भएन । सुने अनुसार उनलाई फेरी भुटान सरकारले नै फिर्ता बोलाए रे । जे होस्, आज पनि भक्त सरको याद उत्तिनै छ ।

बोर्डिङ स्कुलमा मैले हरेक हप्ता क्लास टेष्टको नाममा परीक्षा दिएँ, तिन तिन महिनामा त्रैमासिक परीक्षा दिएँ र अन्तिम परीक्षामा दोस्रो भएर नर्सरीबाट एलकेजी पुगें । एलकेजीमा पुग्दा मलाई छात्राबृत्ति दिने कुरो थियो तर बिडम्बना एक बर्षको पढाइमै बोर्डिङ स्कुल बन्द भयो । बोर्डिङ स्कुलको बन्दसँगै, हरेक दिन आमाको हातबाट बनेको टिफिन, प्रेस गरेर रेडि भएको ड्रेस, पालिस लगाएर राखिएको जुत्ता र सेतो मोजा पनि बन्द भए ।

म सरकारी स्कुलमा कक्षा दुईमा भर्ना भएँ । 

म सँगै भर्ना हुन गाउँकै एकजना माओवादी नेताको छोरी पनि आईन् । उनी कुनै शहरमा भएको बोर्डिङ स्कुल पढेर सरकारी स्कुलको कक्षा दुईमा भर्ना हुन त्यहाँ पुगेकी थिईन् । 
श्री जनज्योती प्राथमिक बिद्यालयका प्रमुख रामप्रसाद बुर्लाकोटीले हामी दुईबीच परीक्षा गराए । परीक्षामा उनी पास भईन् म फेल । 

हामी दुईलाई एक, दुई भन्न र लेख्न लगाईएको थियो साथै नेपालीका केहि अक्षर पढ्न पनि । उनले सुरुमै एक दुई र क ख नआउने तर वान् टु र ए बी सी डी खर्ररै आउने बताएपछि उनको परीक्षा त्यहि अनुसर लिइयो । म भने ओभरकन्फिडेन्ट थिएँ, त्यसैले ए बी सी डी र वान् टु, थ्रि, फोर मात्रै हैन, क ख र एक दुई पनि आउँछ भनेर फूर्ति मारें । 

उनले आउनेजति भनिन् र पास भईन् । मैले पनि क ख त खर्ररै लेखपढ गरें तर एक दुईमा फ्लप खाएँ । अठ्ठाइस पछिको उनान्तीस, अठ्तिस पछिको उनान्चालिस जस्तो अंकमा म अल्झन्थें । यहि अंकको अल्झनमा माथ खाएँ र फेल भएँ ।

मलाई एक दुई र क ख आमाले घरमा हरेक दिन बेलुका खाना खानुअघि सिकाएकी थिईन् । ‘उनान्सय, सय, अब माम खान गए’ भनेपछि मात्रै आमाले मलाई भान्सामा जान दिन्थिन् ।

मेरा बाबु पुलिसका हवल्दार, रिटाएर भएर गाउँमा थिए । उनले मेरी छोरी कुनै हालतमा फेल हुनै सक्दिन भनेर तहल्का मच्चाउन थालेपछि फेरी दोहोर्याएर मेरो परीक्षा लिईयो । दोस्रो पालोमा मैले सबै मिलाएँ र सरकारी स्कुलको दुई कक्षामा भर्ना हुन सफल भएँ । 

सरकारी स्कुलको दुई कक्षाबाट सुरु भएको मेरो पढाई र परीक्षा हालसम्म पनि सरकारीमै जारी छ । केहि दिन अघिमात्रै नेपाल सरकारद्वारा मान्यता प्राप्त र सरकारकै मातहतमा रहेको त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्गत मानविकी संकायमा रहेर पत्रकारिता तथा आम संञ्चार बिषयको स्नाकोत्तर तह अन्तिम सेमेष्टरको परिक्षा दिएर सकें । 

हालसम्मको जिन्दगीमा शैक्षिक परीक्षा मात्रै यति धेरै दिईएछ कि, हिसावै नगरौं । कतिपल्ट सफलताले चुम्यो कतिपल्ट असफलताले यसको पनि कुरा नगरौं ।
यतिधेरै परीक्षा दिईसकेपछि भने स्नाकोत्तर तहमा दिईएको चारओटा परीक्षामा मैले निकै अनौठो महशुस गरें । 

यो परीक्षामा मलाई ‘परीक्षाको डर’ ले डराउन सकेन । मेरा केहि साथीहरु भने रातभर नसुतेर आँखा वरपर डार्क सर्कल बोकेर परीक्षा दिन आएका थिए, उनीहरुको नजरमा कस्ता प्रश्न आउने हुन्, पढेकोवाला आउला कि नपढेकोवाला भन्नेजस्ता डर देखिन्थे । परीक्षा सकिएपछि पास भईएला या फेल भन्नेजस्ता डर पनि केहिको नजरमा देखिन्थ्यो तर मेरो मन भने ढुक्क थियो । 

न त परीक्षाको प्रश्न देखेर डर लाग्यो न त नतिजाको बारेमा सोचेर नैे । 

उल्टै परीक्षा हलमा उत्तर लेखिरहँदा दिक्क लागेर आयो । मनमा ‘परीक्षा भएर मात्रै हो, नत्र त तीन घन्टा मरेपनि एकठाउँमा टिकेर बस्दिनथे’ भन्नेजस्तो फिलिङ्सले बारम्बार घोचिरह¥यो । धेरै पटकसम्म जिन्दगीको महत्वपूर्ण तिन घन्टा फोकटमा खेर फलेको जस्तो भान भईरह¥यो । मनमा यति समयसम्म त दुईओटा साउथ इन्डियन मुभीको डब भर्सन सकिन्थ्यो, घिसेपिटेको सिन र एकदमै ढिलो चल्ने कथाबस्तु भएको हिन्दी सिरियलको समेत ट्विस्ट आईसक्थ्यो भन्नेजस्तो अनुभुतीले बारम्बार झक्झकाईरहर्यो ।

यी चारओटै परीक्षामा मैले एउटै ढाँचा अपनाएँ । मनमा जे जे आउँछ, त्यहि कापीमा ओकल्ने, एक घन्टा पन्ध्र मिनेट गएपछि शौचालय जाने । टियुको शौचालय, परिक्षा हलभन्दा जान पाँच र आउन पाँच मनेट लाग्नेखालको हुन्छ । करिब पन्ध्र मिनेट त त्यतै बित्थ्यो । 

चौथों सेमेष्टरको तेस्रो बिषयको दिन (मिडिया इस्यु) त झनै एक गार्डले शौचालयमै रंगेहात पक्राउ गरे । अन्य बिषयको दिन मोवाइल फोन ब्यागमा राख्न लगाइन्थ्यो भने त्यो दिन गोजीमै राख्न दिईयो । शौचालय गएको समयमा गोजीको मोबाइललाई इग्नोर गर्न सकिएन र प्रश्नपत्रमामा भएको प्रश्नको उत्तर गुगलमा खोज्न थालें । 

आँखाको समस्याले गर्दा अलिक उज्यालो ठाउँ खोज्दै जाँदा शौचालयको ढोकामा पुगें र ध्यानले मोबाइलमा टाइप गर्न थालें । मेरो ध्यान भंग हुँदा, त्यस्तै ४५ नाघेका बुढाले जोर जोरले मैतिर हेरेर चिच्याईरहेका रहेछन् । मोबाइल फेरी गोजीमा राखें र ती बुढा भएठाउँ पुगें । 

उनले धम्कीको स्वरमा अब जिन्दगी सखाप भयो भन्नेखालको सन्देश दिए, तर अँह, डर फिटिक्कै लागेन । उल्टै उनलाई जवाफ फर्काएँ, तपाईहरुले नै साइलेन्समा राखेर गोजीमा हाल भन्नुभएको त हो नी ! ती बुढाले परीक्षाहलको कोठा नम्बर सोधे, मैले लेखिरहेको सिटसम्मै पुर्याइदिएँ । लागेको थियो, यी बुढाले अब कापी खोसिदिनेछन्, या चिटिङ लेखिदिनेछन् । तर त्यस्तो केहि भएन, अगाडीको युवती गार्डलाई मोबाइल राखिदिन भने, उनले ती बुढा बाहिर निस्कने बित्तिकै पुनः उत्तापट्टिको गोजीमा राख्ने उपाय सहित फिर्ता दिईन् । 

पहिले परीक्षा भन्ने शब्द सुन्ने बित्तकै भयंकर डर लाग्थ्यो । एसएलसीको समयमा त झनै रातभर निन्द्र लाग्दैनथ्यो । पहिले डर लाग्थ्यो, तनाव हुन्थ्यो, अहिले डर लागेन, तनाव जारी छ । परीक्षादेखि डराउनेलाई इक्जाम फोविया नामक रोग भनिदों रहेछ, कतै नडराउने पनि कुनै रोग त हैन ? यो सम्झेर पो डर लाग्न थालेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै