काठमाडौँ । पिएसजीका ब्राजिलियन स्टार खेलाडी नेइमारको च्याम्पियन्स लिगको प्रतिबन्ध घटेको छ ।
गत सिजनको खेलमा खेल अधिकारीलाई सामाजिक संजालमा आलोचना गरेका कारण तीन खेलको प्रतिबन्ध लागेका नेइमारलाई कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्सले एक खेलको प्रतिबन्ध घटाएर २ बनाएको छ ।
गत मार्चमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा इन्जुरिका कारण बेन्चमा रहेका नेइमारले खेल अफिसियलले पक्षपात गरेको भन्दै सामाजिक संजालमा आलोचाना गरेका थिए ।
अन्तिम १६ को सो खेलमा युनाइटेडले पिएसजीलाई पराजित गर्दै च्याम्पियन्स लिगबाट बाहिर पठाइदिएको थियो ।
नेइमार प्रतिबन्धका कारण बुधबार राति हुने रियल म्याड्रिडविरुद्धको समुह चरणको पहिलो खेल र आगामी अक्टोबर २ मा हुने गालाटासारेविरुद्धको दोस्रो खेल गुमाउने छन् ।
नेइमार च्याम्पियन्स लिगमा अब अक्टोबर २३ मा समुह चरणको तेस्रो खेल क्लब ब्रुग्गेविरुद्ध मात्र खेल्न पाउने छन् ।
कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्सले एक विज्ञप्ति जारी गर्दै पिएसजीले गरेको अपिल अनुसार सुनुवाई हुदा २ खेलमा मात्र प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिएको छ ।
यसै सिजनमा पिएसजी छोड्ने रस्साकस्सीका बीच पिएसजीमै बसेका नेईमारले लिग वानमा यस सिजनमा आफ्नो पहिलो खेल खेल्दै गत शनिबार स्ट्रासबर्गविरुद्ध निर्णायक गोल गरेर पिएसजीलाई जिताएका थिए ।