• २०८१ बैशाख १७ सोमबार

‘सेल्फी किङ’ को अफिसियल टिजर सार्वजनिक

kharibot

काठमाडौँ । विशाल सापकोटा निर्देशित फिल्म ‘सेल्फी किङ’ को अफिसियल टिजर सार्वजनिक भएको छ । केही दिन अगाडि सार्वजनिक गरिएको फस्टलुक पोस्टरले सकारात्मक प्रतिक्रिया बटुलेपछि निर्माण टिमले फिल्मको टिजर रिलिज गरेको हो ।

टिजरमा सफलताको उत्कर्षमा रहँदा एउटा कलाकारको रवाफ र आउटडेटेड भइसकेपछिको अवस्थालाई देखाइएको छ । कुल १ मिनेट २ सेकेण्ड लम्बाईको टिजरभरी अभिनेता विपिन कार्की मात्र देखिएका छन् । उनी फिल्ममा हाँस्यकलाकारको भूमिकामा छन् ।

टिजरमा उनले बोलेको एउटा घतलाग्दो संवाद छ, ‘यो मुला स्टारडम, सेलिब्रेटी, पपुलारिटी भन्ने कुरा छ नी मूतको न्यानो मात्रै हो । एकछिन तातो हुन्छ, मज्जा आउँछ । एकछिनमा जब चिसो हुन्छ नी अनि गनाउन थाल्छ, घिन लाग्न थाल्छ ।’

‘सेल्फी किङ’ को नामले परिचित एक हाँस्यकलाकारले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा फिल्ममा देखाउन खोजिएको छ । 

आउँदो माघ २४ मा प्रदर्शनमा आउने यस फिल्ममा निर्देशक विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ ।

ड्रामेडी जनरामा निर्माण भएको फिल्ममा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ । गत वर्षको व्यवसायिक र समीक्षात्मक रुपमा सफल फिल्म ‘प्रसाद’ का निर्देशक दिनेश राउतले यही फिल्मका निर्माता सुवास थापासँग मिलेर यो फिल्मको निर्माण गरेका हुन् । 

फिल्ममा अभिनेत्री केकी अधिकारीले एक गीतमा ठुम्का लगाएकी छन् । ‘सेल्फी किङ’ मा विपिन र लक्ष्मी श्रीमान्-श्रीमतीको भूमिकामा छन् । अभिनेत्री भुवनले विपिनको आमाको भूमिका निभाएकी छन् । फिल्मका सह-निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै