काठमाडौँ । नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो सिजनको उपाधि चितवन राइनोजले जितेको छ । चितवनले फाइनल खेलमा विराटनगर टाइटान्सलाई ३२ रनले पराजित गरेको छ ।
चितवनले दिएको २०३ रनको लक्ष्य पछाएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउदै १७० रन बनाएको थियो ।
विराटनगरका लागि मुहमद जैद आलमले सर्वाधिक ५७ रन बनाए भने पुनित मेहराले ३२, कप्तान प्रदीप सिंह ऐरीले ३६ रन बनाए । त्यस्तै नोमान खानले १८, सुनिल धमलाले ४ र लोकेस बमले एक रन बनाएका थिए ।
त्यस्तै चितवनका बलर करण केसीले ३ विकेट लिए भने सन्नी पटेलले २ विकेट र रोहन मुस्तफाले एक विकेट लिएका थिए ।
यस अघि फाइनल खेलमा चितवनले टस हारेर पहिला ब्याटिंग गरेर २० ओभरमा ५ विकेट गुमाउदै २०२ रन बनाएको थियो ।
चितवनका लागि रोहन मुस्तफा र अनिलकुमार शाहले अर्धशतकीय पारी खेलेका थिए । दुवै ५०-५० रन बनाएर आउट भएका थिए । तेस्रो विकेटका लागि रोहन र अनिलबीच ९५ रनको साझेदारी भएको थियो ।
त्यस्तै कप्तान पारस खड्काले २५ रन बनाए भने बाबर ह्यात ५ रन बनाएर आउट भएका थिए । त्यस्तै आरिफ सेखले ११ बलमा १९ रन बनाए भने सन्नी पटेल ८ बलमा १६ रन बनाएका थिए । त्यस्तै करण केसीले आक्रामक ब्याटिंग गर्दै ८ बलमा २६ रन बनाएर चितवनको रन दुई सय कटाएका थिए ।
विराटनगरका बलर पुनित मेहरा र मुहमद जैद आलमले २-२ विकेट लिए भने किशोर महतोले एक विकेट लिएका थिए ।