• २०८३ जेठ ११ सोमबार

अहङ्कार

अहङ्कार

अहङ्कार आफूलाई सर्वेसर्वा सम्झने क्रिया, भाव वा गुण हो । अभिमान हो । घमन्ड हो । सेखी हो । मपाईँत्वको भाव हो । रिस र क्रोध पनि हो । वा अहङ्कार भनेको अरु भन्दा आफू श्रेष्ठ हुँ भन्ने उच्च गर्वको भाव हो । अहङ्कार नै मानिसलाई जीवित पार्ने तत्व पनि हो । स्वचेतना या सचेत दिमागी क्रिया पनि हो ।

अहङ्कार (ego) भनेको नकारात्मक एटिट्युडको एक तत्व हो । इगोले आफ्नो मात्र आत्म सम्मान, सुखसुबिधा, प्रगीतमा हामीलाई केन्द्रित राख्छ । इगो अनावश्यक रुपमा धेरै भए, हामीले आफ्नो कमजोरी महसुस गर्न सक्दैनौं ।

एकट टल्स भन्छ्न्,'अहङ्कार बारम्बार दोहोरिरहने बिचारको रुप र अभ्यस्त मानसिक संबेदनातमक ढाँचाहरुको एकीकरण हो जुन म र आफूको अर्थमा प्रयुक्त गरिन्छ।'

महात्मा गान्धी भन्छन्,'जुन तिमी गर्छौँ, त्यो अर्को पनी गर्न सक्छ, यो कुरा स्वीकार गर्दैनौँ भने तिमी अंहङ्कारी हुन्छौ ।'

घमण्ड मानिसको एक शत्रु हो जसले प्रतिभालाई खान्छ । खुशीलाई खान्छ । रस्टिइरिक भन्छ्न्, 'इगो तिम्रो आत्माको खराव शत्रु हो ।' त्यस्तै प्रेमचन्द भन्छ्न, 'घमण्डले मानिसहरु रिसले फूल्न सक्छ्न् तर फल्न सक्दैनन् ।' हो, अहङ्कारले कहिल्यै राम्रो फल दिन सक्दैन । फल दियो भन्ने भ्रम चाहिँ हुन्छ । तर त्यो क्षणिक हुन्छ । त्यसैले मानिस अल्मलिन्छ । माफ गर्नुहोला । नेपालीमा टुक्का छ नी मुतको न्यानो जस्तै भन्ने ।

अहङ्कारले प्रेम छोप्छ । बास्तबमा रजनिस ओशोले भनेजस्तै `अहङ्कार प्रेमको अनुपस्थितिको परिणाम हो।´ अझ उनी थप्छन् `प्रेम खुशी हो यसले केही दिन सक्षम हुन्छ । अहङ्कार खुशी भयो भने केही लिन सक्षम हुन्छ ।´  अहङ्कारलाई अस्वीकार त गर्न सकिन्न कतिपय जन्मजात रुपमै यो आउँछ । कतिपय मानवीय बिशेषता बनेर आउँछ । त्यसैले यसलाई दवाउने, त्याग्ने भन्दा पनि रुपान्तरण गर्ने हो भने उत्तम हुनसक्छ ।

म म हुँ कि मेरो इगो मात्र हो भन्ने प्रश्न गर्नुपर्छ । दइले लापोर्ट भन्छ्न, 'इगोले आत्मा ज्ञानलाई रोक्छ् ।' इगो मास्टर जस्तो लाग्छ तर सिग्मण्ड फ्राइडले भनेजस्तै `इगो उसको आफ्नै घरको मास्टर होइन।´ जति इगो बड्छ त्यति नै कान सानो हुन्छ र हृदयको आवाज सुनिदैन् । वास्तवमा इगोले निर्णय गर्छ, दण्ड गर्छ र पश्चाताप गर्छ तर प्रेमले त्याग गर्छ, शान्ति दिन्छ र आनन्द दिन्छ ।

अहंकारले हाम्रो व्यक्तित्वलाई कमजोर बनाइदिन्छ । त्यसैले हामीमा नकारात्मक भावना हावी हुन्छ र हामीले अरूप्रति गर्ने इर्ष्याले आफैलाई क्षति पुर्याउँछ ।

हाम्रा साधनाशास्त्रहरूले अहङ्कारलाई मानव जीवनको अत्यन्त ठूलो दुःखदायी दुर्गुण एवं आसुरी शक्तिको रूपमा सङ्केत गरेका छन् । जहाँ अहङ्कार हुन्छ, त्यहाँ देवत्व हुँदैन, प्रेम भाव हुँदैन । जहाँ अहङ्कार हुँदैन त्यहाँ प्रेम हुन्छ । अविवेक र अज्ञानताबाटै अहङ्कारको जन्म हुन्छ ।

मनोचिकित्सक डा. शरदमान ताम्राकार भन्छन्, 'जब मानिसले इमान्दारिता साथ आफ्नो मूल्यांकन गर्न सक्दैन तब उसभित्र स्वयं आफैलाई सर्वश्रेष्ठ मान्ने स्वभाव बढ्दै जान्छ र त्यसैले उसलाई अहंकारी बनाइदिन्छ । बाल्यकालमा जसलाई आमाबुवाको माया प्राप्त हुँदैन उनीहरूमा अहंकारको भावना उत्पन्न हुँदै जान्छ । अथवा आमाबुवाको व्यवहारमा अहंकार झल्कन्छ भने तिनका सन्तान पनि कालान्तरमा घमण्डी हुँदै जान्छन् ।'

अहङ्कारीको लक्षण के हो ?

जब अहङ्कार्लले छोप्छ, मान्छे आवरणमा बाच्छ ।आफूलाई देख्दैन् । आफ्नो दुर्गुणहरु देख्दैन् । गुणै गुण मात्र देख्छ । ठूलो मान्छे ठान्छ । आफ्नो व्याख्या गर्छ । मपाइत्वबाद हावी हुन्छ । आड्म्बरी र ढोगी हुन्छ । तर उसलाई थाहा हुदैन् ।

विडम्बना यो छ कि अहङ्कारको रोगीले आफुलाई रोगी मान्दैन । यसले कहिलेपनी तपाईं गलत हुनुहुन्छ भनेर महशुस गर्न दिदैन् । हाम्रो शास्त्रले अहङ्कारको लक्षण पनि बताएको छ । यसको लक्षणको आधारमा हामीले आत्मनिरीक्षण गर्नुपर्छ तथा अहङ्कारको रोगबाट जोगिने चेष्टा गर्नुपर्छ । र त्यसको लागि अहङ्कारीको लक्षणको आधारमा पहिचान गर्नुपर्छ ।

अहङ्कारीको लक्षणहरु:

१) पुण्य–प्रदर्शन प्रेमी: अहङ्कारी व्यक्तिले राम्रो कार्य पनि गर्छ तर त्यसको पछाडि उसको उद्देश्य केवल प्रदर्शन गर्नुमात्र हुन्छ । ब्यक्ति  काम गरेको देखाउने मानसिकताबाट ग्रस्त हुन्छ। म यस्तो गर्छु, उस्तो गर्न सक्छु भनेर अंहमको प्रर्द्शन गर्ने हुन्छ । मैले यति उदार गरे।यति होम गरे।यति धर्म गरे भनेर आफुलाई अब्बल देखाउन खोज्छ ।

२) सर्वश्रेष्ठको भ्रम: अहङ्कारी ब्यक्ति आफूलाई जुन कुनै क्षेत्रमा पनि सबैभन्दा श्रेष्ठ मान्छ र अन्य व्यक्तिको राम्रा गुण उसलाई हीन लाग्न थाल्छ । केही कदाचित अरुले जीते भने कुनै न कुनै बिङ्गो लगाउँछ र धाधली भो भन्छ । यस्ता मानिसले सर्वश्रेष्ठताको घमण्ड पालेर बसेका हुन्छ्न् त्यो सजिलै झल्किन्छ ।

३) प्रशंसाको भोक: अहंकारी ब्यक्तिलाई प्रशंसाको भोक यति लाग्छ कि उसको पेट कहिल्यै भरिदैन् । ऊ स्वयं पनि आफ्नो प्रशंसा गरेर थाक्दैन एवं अरूबाट पनि हरदम आफ्नो प्रशंसा मात्र सुन्न चाहन्छ । आसेपासे थुप्रो हुन् । आफ्नो प्रशंसा गरून् भन्ने चाहना तिब्र हुन्छ । अनि प्रशंसा सुनेर मख्ख पर्छ ।

४) क्रोधी : अहंकारी ब्यक्तिले आफ्नो अंहममाथि सानो प्रहार पनि सहन गर्न नसक्ने हुन्छ। कसैले उसको कुरा काट्यो अथवा सुझाव दियो भने पनि ऊ रिसले आगो भइहाल्छ । त्यस्तो ब्यक्ति थोरैपनि चोट र पिर खप्न सक्दैन, आक्रोशित हुन पुग्छ ।

५) चाकडी र चाप्लुसी रुचाउने: अंहकारी ब्यक्ति  अन्यबाट चरण स्पर्श गराउन, फूलमाला लगाउन, फोटो खिचाउन, हरदम आफ्नो काम र कुरा मिडिया एवं अन्य माध्यमद्वारा प्रचार- प्रसार गराउन चाहन्छ । यस्तो ब्यक्ति आफ्नो कामको लागि चरम चाकडी र चाप्लुसी गर्ने प्रकृतिको हुन्छ ।

६) नामको लागि दान दिने: एउटा अंहकारी ब्यक्तिले दान- सहयोग दिंदा पनि त्यस्तो ठाउँ मात्र खोज्छ जहाँ  उसको नाम प्रचार हुन्छ र  नाम लेखिन्छ। उसको सबैभन्दा प्रिय उसको नाम हुन्छ । प्रायः नामको लागि मात्र काम गर्छ। जहिलेपनी त्यस्तो मान्छे नेम र फेमको पछाडी दगुरेको हुन्छ ।

७) इर्ष्यालु : अहङ्कारी व्यक्ति अति नै ईष्र्यालु हुन्छ । अन्य व्यक्तिले राम्रो कार्य गरेको देख्दा - सुन्दा उसलाई मन पर्दैन । अर्काले राम्रो खादा, राम्रो लगाउँदा, राम्रोसँग प्रगती गर्दा जलन हुन्छ र त्यसको बाटोमा तगारो हाल्न समेत उद्यत हुन्छ । किनकी उसलाई डर रहन्छ कतै त्यो आफूभन्दा अगाडि त पुग्दैन भन्ने ?

अहङ्कारको परिणाम के हुन्छ ?

अहङ्कारको परिणाम भयानक हुन्छ। प्रेमचन्दले भनेकै छ्न् `घमण्डी मानिस प्रायः सन्काहा हुन्छ्न् यसको कारण उसको जीवनमा विष बनाउँछ्न्।´  तपाइँ आफै भन्नुहोस शरीर भरी बीस भएपछी । मस्तिष्क ले कसरी काम गर्छ र दुर्घटना नहोस् । महर्षी दयानन्द भन्छ्न्, 'जो मान्छे अहङ्कार गर्छ उसको एकदिन नास हुन्छ।' त्यतिमात्र होइन इमर्सन भन्छ्न्,'गर्वले देवदूतको पनि नष्ट गरिदिन्छ।' यसको मतलव अहङ्कारले कसैलाई पनि छोड्दैन् ।

अहङ्कारले क्षणिक लाभ बाहेक अरु केही हेर्दैन्। बुद्द भन्छ्न्, 'अभिमानको अपेक्षा नम्रता भन्दा वढी लाभ हुन्छ ।' शंकराचार्य भन्छ्न, 'शरीर, धन र भाग्यमा अभिमान गर्नु हुदैन् ।' शेक्सपियर पनि भन्छ्न –'अभिमानी ब्यक्तिले स्वयंलाई खान्छ ।'

जो घमण्ड गर्छ्न उनिहरु आफ्नै घमण्डको कारण झर्छ्न् । यो नै हारको द्वार हो । अहंले मानिसलाई झगडालु, जिद्दी, स्वार्थी एवं आत्मकेन्द्रित बनाइदिन्छ । इच्छाको वरिपरि घुम्ने हुन्छ्न परिणाममा आफ्ना इच्छा पूरा नहुँदा कयौं पटक यस्ता अहंकारी मानिसहरू डिप्रेसनको सिकार भएको पाइन्छ। यसबाट डरलाग्दा घटना समेत घटेका उदाहरणहरु छ्न् ।

हाम्रो अहङ्कार नै भगवानको शरणागति पर्न बाधक हुन्छ । मनुष्यको गहिरोभन्दा गहिरो र पहिलो बिमारी अहङ्कार हो । जहाँ अहङ्कार छ, त्यहाँ दया झुटो हुन्छ । जहाँ अहङ्कार छ,त्यहा प्रेम फैलिदैन् । जहाँ अहङ्कार छ, त्यहाँ अहिंसा झुटो हुन्छ । जहा अहङ्कार छ, त्यहाँ शान्ति झुटो हुन्छ । जहाँ अहङ्कार छ, त्यहाँ कल्याण, मङ्गल र लोकहितको कुरा झुटो हुन्छ । त्यहाँ सम्पूर्ण कुरा अहङ्कारको आभूषण हुन्छ ।त्यहाँ अहङ्कारको आवरण हुन्छ ।

श्री स्वस्थानी मा चन्द्रवतिले अहङ्कारले श्री स्वस्थानी प्रमेश्वरीको वर्तको प्रसाद थुतेर थुकेर कुल्चिदा दु:ख पाएर कुन्जी हुनुपरेको प्रसङ्ग उल्लेख छ । यसले अहङ्कारको परिणामको संकेत गरेको छ ।

अहङ्कारले देवतालाई समेत राक्षस बनाइदिन्छ भने यसको विपरीत सरलता र सज्जनताले मानिस उच्च र सर्वपूज्य बन्दछ । अत्यन्त बलवान् तथा पराक्रमी शुम्भनिशुम्भादि दैत्यको विनाश अहङ्कारकै कारण भएको पौराणिक कथा प्रसङ्गमा पाइन्छ । जो व्यक्ति धन, मान, बल, पराक्रम, पद, प्रतिष्ठायुक्त भए पनि यदि ऊ अहङ्काररूपी आसुरी प्रवृत्तिबाट पीडित छ भने उसको विनाश अवश्याभावी हुन्छ। एउटा प्रसङ्ग हेरौँ ।

एक धनान्य बाबुले भरखरै एउटा कार खरिद गरेर ल्याएर घर अगाडि राख्छ।आफ्नै सानो छोरा नजिकै खेल्दै हुन्छ।बाबु कारलाई हेर्दै हुन्छ । मख्ख हुन्छ ।ठिक त्यहिबेला छोराले सानो काटिले कारमा कोर्दै गरेको देख्छ र  रिसको झोकमा छोरालाई धकेल्न पुग्छ। छोरोको टाउको कारमै ठोकिएर बेहोस हुन्छ । हस्पिटलमा तुरुन्त पुर्‍याउँछ तर कोमामा पुगेको छोरालाई डाक्टरले बचाउँन सक्दैनन्।बाबू बिलाप गर्दै घर आउँछ र कारमा हेर्छ त्यहाँ लेखिएको हुन्छ `आई लभ यू बाबा´ ! त्यो देखेर रुन्छ । यसरी बाबुले आफ्नो तिब्र क्रोध र आवेगले प्यारो छोरा गुमाउन पुग्छ ।

त्यस्तै पूजाकोठामा बालेको बत्तीले सधै आफ्नो उज्यालोको प्रसंशा गर्थ्यो। र छेउमै बालेको अगरवत्तीलाई आफ्नो प्रसंशा गर्दै भन्थ्यो, 'मैले गर्दा त तिमी देखिएका छौ। अदृश्य भगवानलाई समेत मैले दृश्यवान बनाएको छु । अन्धकारलाई नष्ट गरेको छु ।' भन्दै अगरबत्तीलाई हरेक हिसावमा कमजोर देखाउँथ्यो।अगरबत्ती यो सब सुनिरहन्थ्यो । मुस्कुराइरहन्थ्यो । कुनैदिन मैनबत्ती र अगरबत्तीलाई पूजाकोठा बाहिर लगेर बालेर पूजा गरियो । त्यहिसमय हावाको एक झोक्का आयो र मैनबत्तीलाई निभायो । त्यही बेला अगरबत्तिले नम्र हुदै मुख खोलेर भन्यो, 'हावाको सानो झोक्काले तिमीलाई सिध्याइदियो तर म त्यहि हावाको माध्यमबाट चारैतिर मीठो सुगन्ध लिएर टाढा टाढा सम्म फैलिएर सुगन्ध छरे ।' यो भोगेर र सुनेर मैनबत्तीले आफ्नो अहंकार प्रति ज्यादै लाज लाग्यो ।

अहङ्कारको सधै खराबै खराब परिणाम हुन्छ भन्ने पनि हुदैन् । ऋषिहरुले उपनिषदमा 'अहम् ब्रह्मास्मी' भन्ने कुरा घोषणा गर्छ्न् । श्री कृष्ण पनि त्यसै भन्छ्न् । म नै इश्वर हुँ । म नै सारा जगत हुँ । ग्रह, तारा, नक्षत्र, सारा मानिस मेरै बिस्तार हुन् भन्ने भाव । अहमलाई स्वीकार गर्नु र आफूमा ब्रह्माण्ड लिन गराउने भावबाट शून्यतामा पुग्नु । यो एउटा मुक्तीको तरिका हो । अर्को तरिका ; अहङ्कारलाई अस्विकार गर्नु, नकार्नु र मुक्तिको लागि तयार रहनु । प्रायः जसो धर्महरुले मुक्तिको लागि यहि अहमको नकारको वा दमनको बाटो अवलम्बन गरेका छ्न् ।

अहङ्कार कम गर्न के गर्ने ?

सबै कुराको सन्तुलन आवश्यक हुन्छ । त्यो पनि प्राकृतिक रुपमै । अहङ्कारको पनि मात्रा ठिक हुनु पर्छ । यसलाई नियन्त्रण गर्ने संयन्त्र पनि आफैसगँ हुनुपर्छ । अहङ्कारमात्र होइन हरेक मानवीय दुर्गुणहरु काम, क्रोध, लोभ, मोह (अज्ञान), मद(घमण्ड ), मत्सर(रिस), आलस्य, हिंसा, चोरी, चिन्ता, व्यग्रता, आसक्ति, असहिष्णुआदिलाई सन्तुलित र नियंत्रित अवस्थामा राख्नुपर्छ । अन्यथा यी मध्ये कुनै न कुनैले मानव जीवन समाप्त पर्छ ।

हरक्षण आफ्नो प्रशंसा सुन्न रुचाउनु तथा आफ्नो गल्तीका लागि माफी माग्न नरुचाउनु राम्रो संकेत होइन । त्यसैले अहमबाट जोगिन इमान्दारिताका साथ आफ्नो मनलाई नियालेर हेर्नुपर्छ र आफूभित्रको अहंकारलाई सचेत ढंगले नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ ।
अरुको नजरबाट आफूलाई हेर्ने,रचनात्मक कार्यमा सकृय हुने,टिमवर्कमा बिश्वास गर्ने र आत्माबिश्वासको बिकास गर्नुपर्छ ।

अगस्टाइनले `अहङ्कारले देवता दानव बन्छ्न् र नम्रताले मानव देवता बन्छ´ भनेका छ्न् ।

त्यसैले विनम्र भाव राखी प्रस्तुत हुनुपर्छ। आत्मविश्वास बढाउने प्रयास गरौं जसले अहंकार घटाउन मद्दत गर्छ ।

जहिलेपनी जो आफूभन्दा सबल र शक्तिशाली छन् उनीहरूबाट प्रभावित एवं उत्प्रेरित भएर अघि बढ्दै जानुपर्छ । हामीले कहिलेपनी अरुको अहित हुने काम गर्नु हुदैन् । यसले पनि व्यक्तिको अहंलाई सन्तुष्टिमा परिवर्तित गरिदिन्छ। नयाँ मानिससँग मित्रता विकसित गर्ने बानी बसालौं । रचनात्मक कार्यमा ब्यस्त हौँ।सबैको भलो चिताऊँ। यसले आफूभित्र कहीँ–कतै लुकेर रहेको अहंकारको भावना क्रमश: कम गर्दै लान्छ ।

रामातीर्थले भनेजस्तै `अहङ्कारपूर्ण जीवन छोडिदिनु नै त्याग हो र त्यही सौर्न्दर्य हो।´ इगोको त्याग गर्नु नै इगोबाट बच्नु हो । महात्मा गान्धिले भनेका छ्न्, 'जब इगो मर्छ आत्मा व्यूझिन्छ।' हामीले त्यही गर्नुपर्छ जसले आत्मालाई पोषण दिन्छ इगोलाई होइन जसले तपाईलाई खुशी मिल्छ । हाम्रो ठूलो गल्ती भनेको इगो लिएर सोच्ने हो तर हामीले जहिलेपनी हृदयबाट सोच्नु पर्छ नकि इगोबाट होइन ।

नियमित रूपमा योग, ध्यान एवं व्यायाम गर्नुपर्छ। धार्मिक पुस्तक अध्ययन गर्नुपर्छ । यसले अहंकारलाई टाढा राख्न सहज बनाउँछ । सभ्य शिष्ट नम्र र  बिनयी हुने आचरणको बिकास गर्नुपर्छ। आचरण, शुद्द र सफा व्हाइट पेपर जस्तो हुनुपर्छ।भगवानको सदा सर्वधा साधनामा लिन हुने,ध्यान गर्ने, गर्ने श्रद्धा भक्ती र प्रथाना गर्ने,अहङ्कार नास गर्न भजन कृतनमा लिन हुने, अहङ्कारको त्याग गर्ने गर्नुपर्छ। हामी कुनैपनि काम गर्दा, कुनैपनि व्यवहार गर्दा, कुनैपनि कुरा बोल्दा, त्यसले अरुलाई असर गर्छ वा गर्दैन भन्ने कुरामा हेक्का राख्नुपर्छ । चित्त दुख्छ कि दुख्दैन, आफूलाई भन्दा के हुन्थो भनेर सोचेर हेर्नुपर्छ ।

आफ्नो बोली-व्यवहार सुपाच्य र सुमधुर बनाउनका लागि हाम्रो मनस्थिती परिवर्तन हुनुपर्छ । अरुले केही भन्छ कि भन्ने भयले वा अरुले तारिफ गर्छन् कि भन्ने मोहले होइन, मानविय गुणले युक्त भएर व्यवहार गर्नुपर्छ । यस्तो व्यवहार, जसले अरुलाई कुनै हानी-नोक्सानी नहोस् । दु:ख नहोस्। यस्तो व्यवहार जसले अरुको चित्त नदुखोस् । यस्तो व्यवहार, जसले अरुलाई बोझ नबोकायोस् । अहंकारले होइन प्रेम र विवेकले काम गर्नुपर्छ ।

यसका लागि सकारात्मक सोंच, चिन्तनको आवश्यक हुन्छ । अरुले के गर्छन् भन्ने होइन, आफुले के गर्नुपर्छ भन्ने मानसिकता हुनुपर्छ । तब मात्र सभ्यता झल्कन्छ । अहङ्कारबाट मुक्त हुन धारणा परिवर्तन, सत्यको चिन्तन र प्रयोग यी तीन कुरा गर्नु पर्छ ।

सधै सभ्य, शिष्ट, नम्र र बिनयी हुने आचरणको बिकास गर्नुपर्छ। आचरण, शुद्द र सफा व्हाइट पेपर जस्तो हुनुपर्छ। अहङ्कार हटाउन भगवानको सदा सर्वधा साधनामा लिन हुने,ध्यान गर्ने, श्रद्धा भक्ती र प्रथाना गर्ने, अहङ्कार नास गर्न भजन कृतनमा लिन हुने र अहङ्कारको त्याग गर्ने गर्नुपर्छ । क्रिया र प्रतिक्रिया बराबर हुने हुदा कहिलेकाही क्रियालाई रोक्दा प्रतिक्रिया भयानक हुन सक्छ । उपर्युक्त उपाय गाह्रो लाग्छ भने अहङ्कारलाई स्विकार्दै त्यसलाई रुपान्तरण गर्दै लैजानु पर्छ । अह्ङ्कारलाई बिस्तारै प्रेम, करुणा र दयाँमा परिवर्तन गर्ने कला सिक्नु पर्छ । र अभ्यास गर्दै जानुपर्छ । अभ्यासले एकदिन पूर्ण बनाउँछ ।

निष्कर्ष

सत्यमार्ग, भावना, विचार र कर्मबाटै सबैको जय विजय प्राप्त हुने भएकोले नै उपनिषद्मा सत्यमेव जयते भनिएको हो । हामीले त्यही अनुसार गर्नुपर्छ जुन बर्षौको साधनापछि प्राप्त भएको छ । सच्चा बिजयी हुन अहङ्कारको त्याग गर्नुपर्छ । यहाँ कम अंहम- अघिक उत्कृष्टता,कम कुरा-अधिक काम, कम असभ्य-अधिक विनम्र, कम डर- बढी जीत हुने हुन्छ । अहङ्कारबाट बच्न बिनयी हुने, हृदयबाट ठुलो सोच्ने, मनलाई नियालेर हेर्ने र अंहम भावको नियन्त्रण गर्नुको कुनै बिकल्प हुदैन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै