• २०८१ बैशाख १६ आइतबार

एसिड सँगको लडाइँ

kharibot

सुरक्षा बर्तौला

सबैभन्दा कडा एसिड, ३० रुपैयाँको एक बोत्तल बोकेर कोहि आउँछ, एउटी केटीलाई पच्छ्याउँदै । पुरा तयारीका साथ पछि लागेको हुन्छ उ । केटीको अनुहार नै निशाना बनाएर फ्याँकिदिन्छ त्यो कडा एसिड....

छ्याप्प ! र फरार हुन्छ अपराधी ।

एउटा सस्तो र सजिलै उपलब्ध तरल केमिकलको एक छ्याप्पले कसैको पहिचान लिएर जान्छ । जीवनभरि नमेटिने छाप छोडेर जान्छ ।

१५ वर्षको कलिलो उमेर, चंचल मनभरि सजाएका अनेक सपना, उनको अनुहारभरि पोखिएको एसिड जस्तै छताछुल्ल हुन्छन् । एसिडको असह्य जलन उनको चित्कारमा रुमलिन्छ ।

फ्याँक्नेले त बस् फ्याँकेको हुन्छ छ्याप्प....तर जसलाई फ्याँकेको हुन्छ उसको जीवन केहि पलको लागि ढक्क रोकिन्छ । एसिडले जलाएर कोठाका विस्तारामा थन्किएको शरीरलाई निक्कै साहस चाहिन्छ फेरी उसैगरी यो दुनियाको सामना गर्न ।

उसले फ्याँकेको एसिडले दिएको जलन, भताभुङ्ग पारिदिएको सपना प्रती १ थोपा पनि पश्चाताप देखिदैन उस्को अनुहारमा, आफ्नो जिन्दगी उहि रफ्तारमा जिउँछ अपराधी !

यो हदसम्मको क्रूरता आफुमा कसरी हावी हुन दिन्छ मान्छे? आफू जस्तै अर्को मान्छेलाई त्यति सम्मको पिडामा जलाएर कुन खुशी मिल्छ, कसैलाई? यो राक्षसपन कसरी पलाउँछ ?

जसले भोगेको हुन्छ उसलाई नै थाहा हुन्छ, त्यो जलन के हो ! त्यो पिडा के हो ! त्यो साहस के हो ! हो उही सहासिली लक्ष्मी अग्रवालले एसिडसँग लडेको कथा हो, सिनेमा छपाक ।

लक्ष्मी अग्रवालको प्रतिनिधि पात्र हुन्छिन् नायिका दिपिका पादुकोण, उनको नाम मालती हुन्छ सिनेमामा। छपाक हेर्दै गर्दा जो कोहिले पनि एसिडको जलन महशुस गर्न सक्छ भने स्वयं आफै त्यो स्थितीबाट गुज्रिएका मनहरु भक्कानिनु स्वभाविक हो ।

भारतको एक सामान्य परिवारकी छोरी हुन्छिन् मालती। एसिड आक्रमणपछि लामो समय अस्पतालको बसाइबाट घर फर्किएपछि उनी आफुलाई लाचार सम्झंछीन्। सपनाको फराकिलो आकाशमा उड्ने उनको चाहना बन्द कोठाभित्रै हराउँछ कतै ।

उनलाई साथ र हौसलाको खाँचो पर्छ, त्यो पाँउछीन् र फेरी उठ्छिन् मालती। उनी लड्छिन् हरेक परिस्थिति सँग। उनी आफु र आफु जस्तै एसिड आक्रमणबाट पिडितहरुको न्यायको लागि लड्छीन्। खुलेआम एसिड बिक्रि गर्न रोक लागाउन लड्छीन्। उनलाइ साथ् दिने पत्रकार, वकिल, अभियन्ता र उसको परिवार सबैको सहयोग ले सार्थकता पाउँछ। उनको संघर्षले नयाँ इतिहाँस बनाउँछ, देशको कानुन संसोधनमा ।

समाजले एउटा दायरा बनाएको छ, महिलालाई सिमित राख्ने। कुनै पुरुषको सोचाइको चौघेरा भित्र बाँधिएर उनीहरुकै सोच बमोजिम कटपुतली भएर बाँच्ने महिलाले देखावटी जीवन बाच्न पाउँछन्। पुरुष सोचइको चौघेर नाघेर उठ्न खोज्ने हर-एक महिला र उसका सपनामाथि एसिड फ्याँकिन्छ। फरक मात्र एति हो कि, कुनै एसिड केमिकल हुन्छन् त कुनै एसिड घुलेको व्यवहार। मैले देखेको परिवेश, मेरा वरपरका साथी, दिदी,भाउजु, काकी, माइजु, ठुलिआमा र हजुरआमा सम्मले भोगेको भोगाई हो यो ।

छिमेकी राष्ट्र नेपाल र भारतका धेरै कुराहरु उस्तै छन्। अपराध, कानुन र कार्यान्वयनको मुद्दामा पनि धेरै कुरा मिल्दा जुल्दा नै छन्। पछिल्लो समय नेपालमा पनि एसिड आक्रमणका निकै दर्दनाक घटनाहरु थुप्रै छोरीहरुले समाना गर्नु परेको छ ।

छ वर्षअघि बिन्दवासिनी कंसाकार, ५ वर्ष अघि संगीता मगर र सिमा बस्नेत, केहि समय अघि जेनी खड्का, बसन्ती परियार, सम्झना दास र सुस्मिता दास दिदीबहिनी र अहिले मुस्कान खातुन। सबैले आफ्नो पक्षको लडाइँ लडेकै छन् र लडेका थिए ।

लक्ष्मी अग्रवालले जस्तै नेपालकी संगीता मगरले पनि न्यायको लागि लडाइँ लडेकी छिन्। नेपालमा अहिले एसिड आक्रमण गर्ने लाई कसुरको प्रकृति हेरी अनुहार कुरूप परेमा पाँचदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैँयादेखि पाँच लाख रुपैँयासम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरूप परेमा वा शारिरमा पिडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्मको कैद र पचास हजार रुपैँयादेखि तीन लाख रुपैँयासम्म जरिवाना हुनेछ। यो कानुनको व्यवस्था संगीता को संघर्षले नै भएको हो ।

सन् २००५ मा १५ वर्षको उमेरमा एसिड आक्रमणमा परेकी लक्ष्मी अहिले अभियन्ता बनेकी छिन्। जिन्दगीदेखि हार मानेका थुप्रैका लागि प्रेरणाकी स्रोत बनेकी छिन्। कुनै एउटा नमिठो घटनामा अल्झेर आफ्नो जीवन पछि पर्न दिनु हुँदैन भन्ने ज्ञान आफुसँगै अरुलाई पनि बुझाएकी छिन् ।

उनी भन्ने गर्छिन् कि ''उसले एसिड मेरो अनुहार मा फ्याँकेको हो, मेरो सपनामा हैन।'' कसैले फ्याँकेको एसिडले भलै अनुहार बदल्न सक्ला तर सपना बदल्न सकदैन भनेर उनि हौसला दिने गर्छिन्। उनी भन्छिन् एसिड मानिसको दिमागमा छ र सबै भन्दा पहिले दिमागको एसिड बाहिर निकाल्न जरुरी छ ।

''कति राम्रो हुन्थ्यो यदि एसिड बिक्री नै हुँदैन थियो भने! बिक्री हुदैन थियो त कोहि माथि फ्याँकिदैन थियो।'' सिनेमामा मालतीको यहि विचारले नै एसिड आक्रमण विरुद्ध लड्ने सक्ति अझै थप्छ उनमा ।

जसले भोगेको हुन्छ उसलाई नै थाहा हुन्छ, त्यो जलन के हो! त्यो पिडा के हो! हरेक पीडित यहि चाहन्छन् कि एसिडको खुल्ला व्यापार बन्द गर्नुपर्छ। सिनेमामा मालती यहि कुराको माग गर्छिन्। वास्तविक जीवनमा भरतकी लक्ष्मी अग्रवाल, नेपालकी संगिता मगर, मुस्कान खातुन सबै यहि चाहन्छन् ।

दु:खको कुरा के भने, एसिड बिक्न रोकिएको छैन अझै, कति मालतीले एसिडको जलन सहनु पर्ने हो निश्चित छैन। त्यसै त ढिलो देशको कानुन, कानुन बन्न नै धेरै समय लाग्छ, कार्यान्वयन त्यस्तै ढिलो।कति धेरै समयको संघर्ष पश्चात बनेको कानुन व्यवहारमा लागू भएको देखिदैन। एसिड आक्रमण बन्द भएको छैन अझै, न नेपालमा न त भारत मा नै ।

एसिडको खुलेआम व्यापार रोक्नु पर्छ, सरकारले बलियो कानुन बनाउन र कार्यन्वयन गराउन सक्नु पर्छ। अपराधीले जन्मकैद सजाय पाउनु पर्छ। अनि सिनेमाकी मालतीको जस्तै साहस हरेक एसिड आक्रमणबाट अगाडी बढेका लक्ष्मीहरुमा भरिनुपर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै