• २०८१ बैशाख १७ सोमबार

निर्माण व्यवसायी महासङ्घद्वारा उपकरणमा आगजनी गर्नेलाई कारवाहीको माग

kharibot

फाइल तस्वीर

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले भौतिक पूर्वाधार निर्माणमा सक्रिय निर्माण व्यवसायीलाई अज्ञात समूहबाट निरन्तर हतोत्साहित गर्ने गरी भइरहेका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

मङ्गलबार राति १०:१५ बजे रोल्पा प्यूठान जोड्ने घोडाखोलाको पुल निर्माण आयोजना किनारामा पार्किङ गरी राखिएका स्क्याभेटरहरुमा आगजनी गरिएको महासङ्घले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ । जलजला/आँशु/जय माँ निर्माण सेवाका सञ्चालक तथा महासङ्घका कार्यसमिति सदस्य बालाजु श्रेष्ठको स्क्याभेटरहरुमा अज्ञात समूहबाट आगजनी गरिएको महासङ्घले जनाएको छ । आगजनीबाट चार वटा स्क्याभेटर जलेर नष्ट भएको र बाँकी एउटामा आंशिक क्षति पुगेको महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रा १ क ३६७ नं को स्क्याभेटरमा आगजनी गरिँदा करोडौंको क्षति भएको महासङ्घले जनाएको छ । ती स्क्याभेटर कल्याणकोट—कालाकाटे गढ्वा सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका थिए । उक्त सडक खण्डको निर्माण बज्रगुरु कान्छाराम कन्स्ट्रक्सन जेभीले गरिरहेको छ । 

  निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटक–पटक प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुखसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदा समेत अज्ञात समूहको हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय भएको महासङ्घको भनाइ छ ।

यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण ठप्प पारी महासङ्घ सशक्त आन्दोलनमा जान बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । दोषीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीलाई क्षतिपूर्ति दिन महासङ्घले जोडदार माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासङ्घले पुनः सरोकार भएका सबैको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै