• २०८१ बैशाख २० बिहीबार

तालिबानी सरकारको नेतृत्व कसले गर्ला ? को हुन् बरादर र हिब्तुल्लाह ?

kharibot

काठमाडौँ । अफगानिस्तानमा तालिबानले कब्जा गरेको छ । प्रान्तहरु कब्जा गरेपछि राजधानी काबुल भने शान्तिपूर्ण रुपमा कब्जा गरेको तालिबानले अब आफ्नो सरकारको घोषणा गर्ने तयारी गरेको छ ।

अफगानी राष्टपति अशरफ घानीले आइतबार देश छोडदै आफुले रक्तपात हुनबाट काबुललाई बचाउन देश छोड्ने कठोर निर्णय लिनुपरेको बताएका छन् ।

अब तालिबानको नियन्त्रणमा अफगानिस्तान पुगेपछि अब कसले नेतृत्व गर्छ भन्ने कौतुहलता रहेको छ । अहिले तालिबानका दुई नेता मध्ये एक अफगानिस्तानको राष्ट्रपति बन्ने बताइएको छ ।  जसमा मुल्ला अब्दुल गनी बरादर र हिब्तुल्लाह अखुन्दजादा रहेका छन् ।

मुल्ला अब्दुल गनी बरादर

बरादर सन् १९९४ मा तालिबान गठन गरेका चार जनामध्ये एक संस्थापक नेता हुन् । सन् २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमाथि आक्रमण हुदा बरादरले नेटो सैन्यविरुद्ध लड्ने समुहको नेतृत्व गरेका थिए ।

सन् २०१० को फ्रेबुअरीमा अमेरिका र पाकिस्तानले गरेका संयुक्त अभियानमा उनी पाकिस्तानको कराँचीमा पक्राउ परेका थिए । उनको बारेमा सन् २०१२ सम्म खासै जानकारी बाहिर आएको थिएन ।

तर, जब जब तालिबान र अफगानिस्तानको सरकारबीच शान्ति वार्ताको विषय उठ्थ्यो, तालिबानले बरादरको रिहाइलाई प्रमुखताका साथ उठाउने गर्दथे ।

उनी सेप्टेम्बर २०१३ मा पाकिस्तानबाट रिहा भएका थिए । तर, त्यसपछि उनी कता गए भन्ने स्पष्ट जानकारी अहिलेसम्म बाहिर आएको थिएन । उनी तालिबानका नेता मुल्ला मोहम्मद उमरका सबैभन्दा विश्वासिला पात्र मानिन्थे । 

सन् २०१८ मा जब कतारमा अमेरिकासँग तालिबानले वार्ता गर्ने निश्चित भयो, त्यसपछि तालिबानले कतारमा कार्यालय नै खोलेर बरादरलाई राजनीतिक प्रमुख बनाएको थियो । बरादरले जहिले पनि अमेरिकासँग वार्ताको विषयलाई समर्थन गरेका थिए । १९९४ मा तालिबानको गठनपछि उनको भूमिका एक कमान्डर र रणनीतिकारको रुपमा रहेको थियो । 

काबुल क्षेत्रमा सक्रिय रहेका बरादरसँग तालिबानका महत्वपूर्ण निर्णयहरुमा सल्लाह लिन्थ्यो भने उनले तालिबानका लागि आर्थिक जोहो गर्न पनि ठुलो भूमिका खेलेको बताइन्छ । अफगानिस्तानमा तालिबानको सत्ता हटाउँदा उनी त्यहाँका उपरक्षा मन्त्री पनि थिए ।

इन्टरपोलका अनुसार उनको जन्म उरुजगान प्रान्तमा १९६८ मा भएको उल्लेख छ । 

हिब्तुल्लाह अखुन्दजादा

त्यस्तै अहिले अफगानिस्तानको नेतृत्व गर्न सक्ने सम्भावना भएका अर्का तालिबान नेता हिब्तुल्लाह अखुन्दजादाको नाम अगाडी आएको छ । उनलाई इस्लाम धर्मको विद्वान र तालिबान संघर्षलाई सफल बनाउने नेताको रुपमा चित्रित गरिएको छ ।

कन्धारबाट तालिबानमा जोडिएका हिब्तुल्लाह १९८० को दशकमा अफगानिस्तानमा सोभियत संघविरुद्धको विद्रोहमा समेत एक कमान्डरको रुपमा भूमिका निभाएका नेता हुन् ।

तर उनलाई अहिले पनि सैन्यभन्दा धार्मिक विद्वानका रुपमा लिने गरिएको छ ।

हिब्तुल्लाह तालिबान पुर्व प्रमुख अख्तर मोहम्मद मन्सूरका डेपुटी रहेको बताइन्छ । २०१६ को मे मा मन्सुरको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु पछि उनी तालिबानको नेता बनेका थिए । उनलाई मन्सूरले नै  आफुपछिको तालिबान नेता घोषणा गरेको बताइन्छ । करिब ६० बर्षका हिब्तुल्लाहले आफ्नो अधिकांश समय अफगानिस्तानमा नै बिताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै