• २०८१ बैशाख १७ सोमबार

किन डुब्छन् भारतीय क्रिकेट टिमलाई प्रायोजक गर्ने कम्पनी ?

kharibot

काठमाडौँ । भारतीय आयकर विभागले भारतीय क्रिकेट टोलीको प्रायोजक कम्पनी ‘ड्रिम ११’ लाई करिब १७ हजार करोड भारु कर जम्मा गर्न सूचना दिएको छ । ‘ड्रीम ११’ ले यति ठूलो रकम करको माग गर्दै मुम्बई उच्च अदालतमा यो सूचनालाई चुनौती दिएको छ ।

करको सूचना पाएपछि ‘ड्रिम ११’ को शेयर मूल्य ओरालो लागेको थियो । भारत सरकारले अनलाइन जुवा र क्यासिनो आदिमा २८ प्रतिशत कर लगाएको छ । ‘ड्रिम ११’ का एसोसिएट कम्पनीले जुवा खेल्ने सेवा सञ्चालन गर्दै आएकाले ती कम्पनीले आफ्नो कुल आम्दानीमा २८ प्रतिशत कर तिर्नुपर्ने आयकर अधिकारीहरुको भनाइ छ ।

‘ड्रिम ११’ कम्पनीले भर्खरै नयाँ लोगोसहित भारतीय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको थियो । 'ड्रीम ११' मा करको सूचना आएपछि धेरै प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा कमेन्ट गर्दै भारतीय क्रिकेट टोलीलाई प्रायोजन गर्ने कम्पनी समस्यामा परेको यो पहिलो पटक नभएको टिप्पणी गरिरहेका छन् ।

पछिल्ला पन्ध्र वर्षमा धेरै पटक भारतीय क्रिकेट टोलीलाई प्रायोजन गरेपछि कम्पनीहरूले खराब समय गुज्रिएका छन् । लामो समय क्रिकेट टिमलाई प्रायोजन गर्ने कम्पनी ‘सहारा इन्डिया’ अहिले दिवालिया भएको छ । कम्पनीको वास्तविक तथ्याङ्क लुकाएर उपभोक्ता ठगी गरेको अभियोगमा यसका मालिक जेलमा बस्नुपरेको थियो ।

त्यस्तै ‘स्टार स्पोर्ट्स’ च्यानलले पनि लामो समयदेखि भारतीय क्रिकेट टोलीलाई प्रायोजन गर्दै आएको छ । स्टार स्पोर्ट्स ले त्यतिबेलाको क्रिकेट इतिहासकै सबैभन्दा ठूलो बोली लगाएर क्रिकेट खेल प्रसारणको सबैभन्दा ठूलो अधिकार प्राप्त गरेको थियो । तर पछि स्टार स्पोर्ट्सलाई यसमा ठुलो घाटा भयो ।

चिनियाँ मोबाइल कम्पनी ‘ओप्पो’ले पनि केही समय भारतीय क्रिकेट टोलीलाई प्रायोजन गरेको थियो, तर चीनसँग भारतको सम्बन्ध बिग्रिएपछि भारतमा चिनियाँ सामानको बहिष्कार सुरु भयो, जसका कारण यो कम्पनी पनि नाजुक अवस्थामा छ ।

यही अवधिमा अर्को कम्पनी ‘बाइजु’ले ठूलो उत्साहका साथ क्रिकेट प्रायोजनको क्षेत्रमा प्रवेश गरेको थियो । सुरुमा यो कम्पनी निकै तीव्र गतिमा बढिरहेको थियो र बलिउड अभिनेता शाहरुख खान यसको ब्रान्ड एम्बेसडर थिए । पछि यो कम्पनीले आफ्नो वास्तविक मूल्यभन्दा धेरै गुणा बढी सम्पत्ति देखाएको खुलासा भयो । यो कम्पनी पनि अहिले अप्ठ्यारो परिस्थितिको शिकार भएको छ । र अब क्रिकेट टिमको नयाँ प्रायोजक कम्पनी ‘ड्रिम ११’ ले हजारौं करोड रुपैयाँको करको सूचना पाएको छ । यसपछि यसको शेयर पनि ओरालो लागेको छ ।

भारतमा क्रिकेट निकै लोकप्रिय छ र राष्ट्रिय टोलीका क्रिकेटरहरू सर्वसाधारणका लागि नायकको हैसियतमा छन् । भारतका ठूला कम्पनीहरूले क्रिकेटमा विज्ञापनका लागि र खेलाडीलाई आफ्नो ब्रान्ड एम्बेसडर बनाउन ठूलो रकम तिर्न तयार देखिन्छन् । बजार विश्लेषकहरुले भने शुरुमा कम्पनिहरुले ठुलो रकम खर्च गर्ने र पछि त्यो बजार मूल्यभन्दा बढी पैसा खर्च गरे विषय म्याच नहुँदा दिवालिया हुने गरेको बताउदै आएका छन् ।

क्रिकेटसँग जोडिएपछि कम्पनी तुरुन्तै लाइमलाइटमा पुग्ने र यसले बजारबाट पैसा उठाउन पनि सजिलो हुने, तर केही समयपछि क्रिकेटर र क्रिकेटमा खर्च भएको पैसा कम्पनिको बजार मूल्य अनुरूप नहुदा कम्पनिहरु अप्ठ्यारोमा पर्ने देखिएको छ । तर केहि विश्लेषकले भने कम्पनीहरू डुब्नुको क्रिकेट र क्रिकेटरसँग कुनै सरोकार नभएको बताउदै आन्तरिक कारणले कम्पनीहरु डुबिरहेको बताउछन् ।

(बिबिसी हिन्दीबाट भावानुवादित) 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय