• २०८१ बैशाख १६ आइतबार

दक्षिण एसियाली कराते: पहिलो दिन नेपाललाई १२ स्वर्ण

kharibot

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्प्यिनसिपको पहिलो दिन शनिबार १२ स्वर्ण जितेको छ । छिमेकी भारतले भने १५ स्वर्णमाथि कब्जा जमायो । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान १–१ स्वर्ण हात पारे ।

नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको क्याडेट महिला एकल कातामा प्रजिस्मा श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाइन् । प्रजिस्माको स्वर्ण प्रतियोगिताकै पहिलो स्वर्ण पनि हो । प्रजिस्माले फाइनलमा बंगलादेशकी मारिमास्वे नाइलाइ पराजित गरेकी हुन् । 

उक्त स्पर्धाको पुरुषमा नेपालका रेहान जावेदले बंगलादेशका उथेयनलाई हराउदै शीर्ष स्थान हात पारे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको यु–२१ पुरुष एकल कातामा भारतका प्रसदा जाग्रुट मन्जोरी पहिलो र श्रीलंकाका एडवार्ड ब्रियोन दोश्रो भए । 

सो स्पर्धाको महिलामा भारतकी सुरोमती सिन्हाले नेपालकी गीता पौडेललाई पाखा लगाउदै पहिलो बनिन् ।

यु–२१ को महिला ६१ केजीमुनि भारतकी प्रशान्त सान्खे भारगवीले नेपालकी उर्साला पहरीलाई पाखा लगाउदै स्वर्ण जितिन् । महिला ६८ केजीमुनि नेपालकी आशिका राईले भारतकी पर्विन साइरालाई निराश पार्दै स्वर्ण चुमिन् । त्यसैगरी, महिला ६८ केजीमाथि भारतकी दीक्षा पहिलो भइन् । दीक्षाले फाइनलमा नेपालकी दिया थापाको चुनौती पन्छाइन् ।

क्याडेटको पुरुष ७० केजीमुनि भारतका अर्विन्द कार्तिक रेड्डीले नेपालका नेहाल मण्डलमाथि जित रच्दै पहिलो भए । पुरुष ७० केजीमुनि भारतका प्रतापसिंह वीरले फाइनलमा नेपालका निगम तिम्सिनालाई पाखा लगाउदै शीर्ष स्थानमा रहे । 

त्यस्तै, महिला ४२ केजीमुनि श्रीलंकाकी करुणारत्नेले भारतकी रिचालाई पन्छ्याउदै पहिलो भइन् । महिला ४७ केजीमुनि नेपालकी पोर्सिया चौधरीले बाजी मारिन् । पोर्सियाले फाइनलमा भारतकी मोहन जनाइमाथि जित दर्ता   गरिन् । महिला ५४ केजीमुनि भारतकी रुसा टम्बटले नेपालकी आयुशा प्रधानलाई पराजित गर्दै शीर्ष स्थानमा रहिन् । 

महिला ६१ केजीमुनि भारतकी पूजा सोनीले नेपालकी एलिना थिङलाई हराउदै स्वर्ण हात पारिन् । महिला ६१ केजीमाथि भारतकी खुशी कुमारी पहिलो भइन् ।

क्याडेटको पुरुष ४५ केजीमुनि बंगलादेशका मार्मा पहिलो बने । फाइनलमा नेपालका छत्र थापा ‘मेडिकल डिस्क्वालिफाइ’ भएका थिए । पुरुष ५२ केजीमुनि नेपालका ऋतिक लामाले बंगलादेशका सौकत अली सैद मोहम्मदमाथि जित निकाल्दै शीर्ष स्थान कब्जा गरे । 

पुरुष ५७ केजीमुनि फाइनलमा नेपालका आकाश सैजुवालले भारतका जियान चौधरी विरुद्ध जित आत्मासात् गर्दै पहिलो भए । पुरुष ६३ केजीमुनि भारतका गगनदीप माथुरले नेपालका साहिल राईलाई पराजित गरी स्वर्ण जिते ।

यु–२१ महिला ४० केजीमुनि भारतकी तृप्टि पाल पहिलो भइन् । तृप्टिले फाइनलमा नेपालकी निक्क्षा थापा मगरलाई हराइन् । महिला ४५ केजीमुनि नेपालकी पार्वती गुरुङ च्याम्पियन बनिन् । पार्वतीले फाइनलमा बंगलादेशकी अर्पा सलिहाको चुनौती समाप्त पारिन् । 

महिला ५० केजीमुनि नेपालकी पुष्पका लामाले स्वर्ण चुमिन् । पुष्पकाले फाइनलमा भारतकी ज्योतिलाई निराश पारिन् । महिला ५५ केजीमुनि नेपालकी सोनु श्रेष्ठले स्वर्ण जित्दा भारतकी दीपिकाले रजतमा चित्त बुझाइन् । 

पुरुष ८४ केजीमुनि भारतका सोखर दोस सुमनले नेपालका सुरेश जप्रेललाई पराजित गर्दै स्वर्ण हात पारे । पुरुष ८४ केजीमाथि भारतका हर्ष गुलियाले नेपालका आशिष श्रेष्ठलाई हराउदै पहिलो बने । 

७५ केजीमुनि भारतका वइभव वालियाले नेपालका निशान राणालाई पाखा लगाउदै पहिलो भए । ६० केजीमुनि नेपालका दर्जी भण्डारीले श्रीलंकाका आरके मदुरंगालाई पन्छ्याउदै पहिलो भए ।

यु–२१ कै पुरुष ५० केजीमुनि नेपालका अञ्जन मगरले श्रीलंकाका मधुसन, ५५ केजीमा नेपालका मार्सल गर्बुजाले पाकिस्तानका उस्मान सफिक तथा ६७ केजीमा भारतका पाला डोडुमले नेपालका अनिल बलरामलाई पराजित गरी स्वर्ण हात पारे ।

प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तानबाट  १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी छन् । आइतबार सम्पन्न हुने प्रतियोगितामा ६२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै