काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्तीय रामायणले नेपाली भाषा, लिपि, धर्म, कर्तव्य, निष्ठा र सेवाभावजस्ता विषयलाई जनजीवनसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाली भाषा र साहित्यको विकासमा भानुभक्तको योगदान ऐतिहासिक रहेको उल्लेख गरेका हुन् ।
राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्दै तनहुँको चुँदी रम्घामा पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा वि.सं. १८७१ असार २९ गते जन्मिएका भानुभक्तले नेपाली साहित्यलाई नयाँ उचाइ दिएको बताएका छन् ।
उनले घाँसीबाट प्रेरणा लिएर समाजका लागि योगदान गर्ने अठोट गरेका भानुभक्तले संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई सरल, शिष्ट र रोचक शैलीमा नेपाली भाषामा अनुवाद गरेको स्मरण गरेका छन् । उक्त कृतिले हिमाल, पहाड र तराईका नेपालीबीच जनचेतना अभिवृद्धि गर्न तथा भावनात्मक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रपति पौडेलको भनाइ छ ।
राष्ट्रपति पौडेलले भानुभक्त आचार्य नेपाली साहित्यको प्रारम्भिक कालका प्रतिनिधि कविका रूपमा स्थापित रहेको उल्लेख गर्दै नेपाली भाषालाई जनताको भाषा बनाउन, साहित्यलाई सबैको पहुँचमा पुर्याउन र नेपाली भाषा, साहित्य तथा संस्कृतिको विकासमा भानुभक्तले अतुलनीय योगदान दिएको बताएका छन् ।
विश्वभर रहेका नेपाली भाषीबीच भाषिक एकता कायम गर्न भानुभक्तले पुर्याएको योगदानलाई स्मरण गर्दै राष्ट्रपति पौडेलले उनको जन्मस्थललाई साहित्यिक, ऐतिहासिक र सांस्कृतिक स्थलका रूपमा विकास गर्नु नै सच्चा सम्मान हुने बताएका छन् । उनले भानु जयन्तीले सबै भाषाभाषी समुदायलाई आ–आफ्ना भाषाको संरक्षण र संवर्द्धनका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।









