• २०८३ कार्तिक ३० सोमबार

स्पेसएक्सको स्टारसिपको अर्को सफल परिक्षण, चन्द्रमा अभियानका लागि महत्त्वपूर्ण

स्पेसएक्सको स्टारसिपको अर्को सफल परिक्षण, चन्द्रमा अभियानका लागि महत्त्वपूर्ण

काठमाडौं । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल रकेट स्टारसिपलाई अन्तरिक्ष यात्रा पूरा गरेर फर्किने क्रममा प्रक्षेपण टावरमा जडित यान्त्रिक हातको सहायताले हावामै समातेर नयाँ इतिहास रचेको छ ।

शनिबार भएको यो सफल परीक्षणलाई अन्तरिक्ष प्रविधिमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । कम्पनीका प्रमुख एलन मस्क र उनको टोली लामो समयदेखि यस्तो सफलता हासिल गर्ने प्रयासमा थिए । अन्तरिक्ष यात्रा पूरा गरेर फर्किएको स्टारसिपलाई पहिलोपटक यसरी यान्त्रिक हातले समातेको हो ।

तर, रकेटको पहिलो भाग अर्थात् बुस्टर भने सफलतापूर्वक समात्न सकिएन । टेक्सासबाट उडान भरेको बुस्टर मेक्सिकोको खाडीमा खसेर नष्ट भएको थियो । उडानका क्रममा बुस्टरका इन्जिन समयअघि नै बन्द भएपछि मार्गनिर्देशन प्रणालीमा समस्या आएको र समुद्रमै नष्ट गर्नुपरेको स्पेसएक्सले जनाएको छ ।

स्पेसएक्सको प्रक्षेपण केन्द्रबाट उडेको ४०७ फिट अग्लो स्टारसिपले करिब २२ घण्टाको अन्तरिक्ष यात्रा पूरा गरेको थियो । बुस्टरबाट अलग भएपछि अन्तरिक्षमा पुगेको यानले २६ वटा स्टारलिङ्क उपग्रहलाई निर्धारित कक्षमा स्थापित गरेको थियो ।

पृथ्वीबाट करिब १६५ माइलमाथि परिक्रमा गरेको यानले पृथ्वीको १४ पटक चक्कर लगाएर पुनः फर्किएको थियो । यसअघिका परीक्षणको तुलनामा यो ठूलो प्राविधिक उपलब्धि भएको कम्पनीको दाबी छ ।

स्पेसएक्सका अधिकारीहरूले यान्त्रिक हातले स्टारसिपलाई सफलतापूर्वक समात्नुले रकेटलाई पुनः प्रयोग गर्न सकिने प्रविधिको विकासमा महत्त्वपूर्ण सफलता मिलेको बताएका छन् । परीक्षणका क्रममा यानको ताप प्रतिरोधी सुरक्षा प्रणालीसमेत सही अवस्थामा रहेको जनाइएको छ ।

स्टारसिपको सफल परीक्षण अमेरिकी अन्तरिक्ष निकाय नासाको आगामी चन्द्र अभियानका लागि पनि महत्त्वपूर्ण मानिएको छ । नासाले यस परियोजनामा ठूलो लगानी गरेको छ । सन् २०२८ सम्ममा अन्तरिक्ष यात्रीलाई पुनः चन्द्रमाको सतहमा पुर्‍याउने नासाको लक्ष्य छ ।

चन्द्रमामा स्थायी आधार शिविर निर्माण गर्ने योजनामा पनि स्टारसिपको भूमिका महत्त्वपूर्ण रहनेछ । नासाले आगामी आर्टेमिस अभियानअन्तर्गत यही प्रविधिको प्रयोग गर्ने तयारी गरिरहेको छ ।

नासाका प्रमुख जारेड आइज्याकम्यानले स्टारसिपको सफल अवतरणप्रति खुसी व्यक्त गर्दै यसलाई चन्द्रमाको यात्रालाई नजिक पुर्‍याउने जादुमय उपलब्धिको संज्ञा दिएका छन् ।

स्पेसएक्सका इन्जिनियरहरूका अनुसार आगामी केही महिनाभित्र फ्लोरिडास्थित केनेडी अन्तरिक्ष केन्द्रबाट पनि स्टारसिपको उडान सुरु गर्ने तयारी भइरहेको छ । उक्त केन्द्र नासाको आगामी आर्टेमिस अभियानको प्रमुख प्रक्षेपण केन्द्र बन्नेछ ।

आर्टेमिस–३ अभियानअन्तर्गत अन्तरिक्ष यात्रीले पृथ्वीको कक्षमा रहेर चन्द्रमामा अवतरण गर्ने यानको अभ्यास गर्ने योजना छ । नासाले सन् २०२८ सम्ममा मानवलाई पुनः चन्द्रमाको सतहमा अवतरण गराउने लक्ष्य राखेको छ ।

स्पेसएक्सका संस्थापक एलन मस्कले भने भविष्यमा मंगल ग्रहमा मानव बस्ती स्थापना गर्ने लक्ष्यसहित स्टारसिप विकास गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै