• २०८१ बैशाख १७ सोमबार

अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज भारतको कब्जामा

kharibot

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा जित हासिल गरेको छ । आज सम्पन्न तेस्रो एकदिवसीय खेलमा ७ विकेटले जित हासिल गर्दै तीन खेलको सिरिजमा २-१ ले जित हासिल गरेको हो ।

अस्ट्रेलियाले दिएको २३१ रनको लक्ष्य पछाएको भारतले ४९.२ ओभरमा ३ विकेट गुमाउदै सो लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि महेन्द्र सिंह धोनीले सर्वाधिक ८७ रन नटआउट बनाए भने केदार जादभले ६१ रन नटआउट बनाएका थिए । त्यस्तै कप्तान विराट कोहली ४६ रन बनाएर आउट भएका थिए भने शिखर धवनले २३ तथा रोहित शर्माले ९ रन बनाएर आउट भएका थिए ।

अस्ट्रेलियाका बलर पिटर सिडल, रिचार्डसन र मार्कोस स्टोइनिशले एक एक विकेट लिएका थिए ।  

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४८.४ ओभरमा २३० रन बनाएर अल आउट भएको थियो ।

अस्ट्रेलियाका लागि पेटर ह्यान्ड्सकबले सर्वाधिक ५८ रन बनाएका थिए भने शन मार्शले ३९, उसमान ख्वाजाले ३४ रनको योगदान दिएका थिए । त्यस्तै ग्लेन म्याक्स वेलले २६ तथा रिचार्डसनले १६ रन बनाएका थिए ।

अस्ट्रेलियालाई २३० रनमा समेट्न भारतका बलर युजवेन्द्र चहलले ६ विकेट लिएका थिए । १० ओभरमा ४२ रन दिएर चहलले ६ विकेट लिएका थिए । चहलले मेलवर्न मैदानमा यसअघि भारतीय बलर अजित अग्रकरले लिएको ६ विकेटको रेकर्डलाई बराबरी गरेका छन् ।

त्यस्तै भुवानेश्वोर कुमार र मोहमद सामीले २-२ विकेट लिएका थिए ।

तीन खेलको सिरिजमा भारतले २-१ ले सिरिज आफ्नो कब्जामा पारेको छ । भारतले यसअघि अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिज जितेको थियो भने टी-२० सिरिज १-१ ले बराबरी भएको थियो ।  

खेलको प्लेयर अफ द म्याच ६ विकेट लिएका भारतका युजवेन्द्र चहल बनेका छन् भने भारतका महेन्द्र सिंह धोनी प्लेयर अफ द सिरिज बनेका छन् । धोनीले तीनै खेलमा अर्धशतक बनाएका थिए । धोनीले पहिलो खेलमा ५१, दोस्रो खेलमा ५५ र तेस्रो खेलमा ८७ रन बनाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै