• २०८१ बैशाख १७ सोमबार

वैज्ञानिकहरूले पत्ता लगाए आकाशगङ्गाको सही वजन

kharibot

खगोलशास्त्रीहरूले हाम्रो सौर्यमण्डल रहेको तारापुंज आकाशगंगाको अहिलेसम्मकै सबैभन्दा सही वजन पत्ता लगाएका छन् । उनीहरूकाअनुसार आकाशगङ्गामा १.५ खर्ब सूर्यहरू बराबरका पिण्ड रहेका छन् ।

अहिले गरिएको मापनमा आकाशगङ्गामा रहेका सबै तारा, ग्रह, आकाशगङ्गाको बीचमा रहेको भनिएको कालो छिद्र(ब्ल्याक होल) र अन्य धूलो र ग्याँसको अवस्थामा भएका सबै पदार्थ समेटिएको वैज्ञानिकहरूले जनाएका छन् ।

वैज्ञानिकहरूले पछिल्ला केही दशकदेखि आकाश गङ्गाको सही वजन पत्ता लगाउन निरन्तर प्रयास गरिरहेका थिए । उनीहरूले यसअघि गरेको अनुमानअनुसार आकाशगङ्गाको वजन ५०० अर्बदेखि ३ खर्ब सूर्यहरू बराबर रहेको थियो । तर यसपल्ट मापन गरेर निकालिएको तथ्यांकमा भने आकाश गङ्गामा भएका लगभग सबै वस्तुलाई समेटेर अहिलेसम्मकै सही तथ्यांक निकालिएको छ ।

अनुसन्धानको क्रममा विशेष गरी नासाको हब्बल स्पेस टेलिस्कोप र युरोपियन स्पेस एजेन्सीको गाया उपग्रहबाट प्राप्त तथ्यांकहरूको अध्यन गरिएको थियो । गाया उपग्रह र हब्बल स्पेस टेलिस्कोपको सहायताले वैज्ञानिकहरूले गोलाकार थुप्रोको विभिन्न समूहमा आकाश गङ्गाको केन्द्रीय भागको चक्कर लगाउने 'ग्लोबुलर स्टार क्लस्टर्स' को थ्रीडी चालको अध्यन गरेका थिए ।

यी 'ग्लोबुलर स्टार क्लस्टर्स'को चालको विश्लेषण गरेर वैज्ञानिकहरूले यिनले महसुस गर्ने गुरुत्वाकर्षण बलको मापन गरेपछि यस गुरुत्वाकर्षण बल उत्पादन गर्ने पिण्डबारे पनि तथ्यांक निकाल्न सफल भएका थिए । आकाशगङ्गाको वजन पत्ता लगाउनुका साथै वैज्ञानिकहरूले आकाशगङ्गाको अर्धव्यासको पनि मापन गरेका छन् । अध्यनअनुसार आकाशगङ्गाको अर्धव्यास १ लाख २९ हजार प्रकाश वर्ष रहेको छ ।

वैज्ञानिकहरूकाअनुसार आकाशगङ्गा ब्रह्माण्डका अन्य तारापुंजभन्दा केही हलुङ्गो नै रहेको छ । ब्रह्माण्डका सबैभन्दा हलुंगा तारापुंजहरूको वजन १ अर्ब सूर्य बराबर रहेको छ भने सबैभन्दा गह्रौ तारपुंजहरूको वजन ३० खर्ब सूर्य बराबरको छ ।

आकाशगङ्गामा करीब २०० अर्ब ताराहरू रहेका छन् तर उनीहरूको आकाशगङ्गाको पिण्डमा कुल हिस्सा केवल ४ प्रतिशत मात्र रहेको छ । त्यसैगरी आकाशगङ्गाको बीचमा रहेको भनिएको निकै ठूलो ब्ल्याक होलको वजन ४० लाख सूर्य बराबरको छ । तर आकाशगङ्गाको बाँकी हिस्सा भने 'डार्क म्याटर' भनिने अदृश्य वस्तुहरूले ओगटेका छन् । वैज्ञानिकहरूले 'डार्क म्याटर'ले उत्पादन गर्ने गुरुत्वाकर्षण बल बाहेक यी अदृश्य पिण्डहरूको पहिचान गर्न सकेका छैनन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै