काठमाडौँ । एस्टन भिल्ला इङलिश प्रिमियर लिगमा बढुवा भएको छ । प्रिमियर लिगको बढुवाको लागि सोमबार राति भएको च्याम्पियनसिपको प्ले अफ फाइनलमा डर्वी काउन्टीलाई २–१ ले पराजित गर्दै एस्टन भिल्लाले तीन वर्षपछि प्रिमियर लिगमा पुनरागमन गरेको हो ।
एस्टन भिल्ला २०१५-१६ सिजनमा रेलिगेसनमा परेको थियो । त्यतिबेला एस्टन भिल्लाले ३८ खेलमा मात्रै १७ अंक जोडेको थियो ।
भिल्ला अघिल्लो सिजन पनि प्रिमियर लिगको बढुवा नजिक पुगेपनि च्याम्पियनसिपको प्ले अफ फाइनलमा फुलहमसँग पराजित हुदा प्रिमियर लिगमा बढुवाबाट रोकिएको थियो ।
सोमबार राति वेम्वली मैदानमा भएको खेलमा भिल्लाले चेल्सीका पुर्व खेलाडी फ्रान्क लाम्पार्डको प्रशिक्षकत्वमा रहेको डर्वी काउन्टीलाई २–१ ले पराजित गरेको हो । एस्टन भिल्लाको जितमा अनवर इएल घाँजी र जोन मकजिनले गोल गरे भने डर्वी काउन्टीका ज्याक म्यारियोटले एक गोल फर्काएका थिए ।
योसँगै यस सिजनमा प्रिमियर लिगमा बढुवा हुने तीन टिमको टुंगो लागेको छ । यस सिजनमा नर्विच सिटी, शेफिल्ड युनाइटेड र एस्टन भिल्ला प्रिमियर लिगमा बढुवा भएका छन् ।
त्यस्तै कार्डिफ सिटी, फुलह्याम र हडर्सफिल्ड टाउन भने यस सिजनमा रेलिगेसनमा पर्दै प्रिमियर लिगबाट बाहिरिएका छन् ।