• २०८१ बैशाख १५ शनिबार

सन्दीप र सोमपाल भन्छन् – 'अन्य खेलाडीका लागि पनि ढोका खोल्छौ'

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछाने र सोमपाल कामीले ग्लोबल टी-२० क्यानाडामा छनौट भएकोमा खुशी व्यक्त गर्दै भविष्यमा अरु खेलाडीका लागि ढोका खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्यानडामा हुने ग्लोबल टी-२० को दोस्रो सिजनमा गएराती भएको खेलाडी ड्राफ्टमा छनौट भएपछि काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सन्दीप र सोमपालले खुशी व्यक्त गरेका हुन् ।

गत सिजनमा मोन्टरियल टाइगर्सबाट खेलेका सन्दीप यस बर्ष भने टोरोन्टो नेसन्सबाट खेल्ने भएका छन् भने सोमपाल नेपालको तर्फबाट अन्तर्राष्ट्रिय फ्रेंचाईजी लिग खेल्ने दोस्रो खेलाडी बन्दै विन्नीपिग हक्सबाट खेल्दै छन् । 

ग्लोबल टी-२० मा खेल्ने अवसर पाएकोमा सोमपालले आफ्नो क्षमता अनुसार उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यस अवसरले आफ्नो आत्मविश्वास बढेको भन्दै यसको लागि राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीको यस प्रक्रियामा ठुलो हात रहेको बताएका छन् ।

सोमपालले साथीभाई र आफन्तबाट धेरै शुभकामना पाएको बताउदै आफ्ना बुबालाई भने यस लिगको बारेमा आइडिया नभएको बताए । उनले भने, ' बुबाका लागि इन्डियन खेलाडी र आइपिएल नै सबै भन्दा ठुलो लाग्छ । आशा गर्छु भविष्यमा आइपिएल खेलेर बुबालाई खुशी पार्न सकु ।'

त्यस्तै अर्का खेलाडी सन्दीपले आफ्नो लागि भन्दा पनि सोमपालको छनौटमा आफु बढी खुशी भएको बताए । सन्दीपले आफुले खेलेका लिगहरुपछि अन्य नेपाली खेलाडीको लागि पनि ढोका खोल्ने बताउदै आएको र यसको सुरुवात समेत भएको बताए ।

खेलका बारेमा भने आफुले दबाब महसुस नगरेको बताउदै गत बर्ष आफुले विभिन्न लिगमा राम्रो गरेकै कारण नेपालबाट एक खेलाडी थपिएको बताए ।

ग्लोबल टी-२० मा सन्दीपले ६० हजार डलरमा छनौट भएका छन् भने सोमपाल न्युनतम मुल्य ३ हजार डलरमा छनौट भएका हुन् । सन्दीपलाई क्यारेबियन प्रिमियर लिग टिम टिम बार्बाडोसले गत महिना ड्राफ्टबाट ७० हजार डलरमा लिएको थियो ।

सोमपाल छनौट भएको टिम विन्नीपिग हक्समा ड्वेन ब्राभो, जेपी डुमिनि, क्रिस लिन, उमर अकमलजस्ता खेलाडीहरु रहेका छन्  भने त्यस्तै सन्दिपको टिम टोरोन्टो नेसनल्समा भने हालै सन्यास घोषणा गरेका भारतीय स्टार खेलाडी युवराज सिंह मार्की खेलाडीको रुपमा रहेका छन्। यस्तै टिममा केरन पोलार्ड, ब्रेण्डन म्याकलम, चिराग सुरी जस्ता खेलाडी रहेका छन् ।

ग्लोबल टि-२० क्यानडाको दोश्रो सिजन जुलाई २५ देखि १५ सम्म क्यानाडामा आयोजना हुँदैछ । ग्लोबल टि-२० लिग क्यानडा प्रतियोगितामा कुल ८ टिम सहभागी रहेका छन् जसमा मोन्टरियल टाइगर्स, भानकोभर नाइट्स, ब्राम्पटन वुल्भ्स, विनिपिग हक्स, एडमोन्टन रोयल्स, टोरोन्टो नेसनल्स रहेका छन् ।

सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको एशिया स्तरको छनौट खेलको लागि जुलाई २२ देखि २८ सम्म हुने भएकाले सन्दीप र सोमपालले ग्लोबल टी-२० का सुरुवाती खेल भने गुमाउने भएका छन् । लिगको विस्तृत खेल तालिका आइनसकेकोले कति खेल गुमाउने भन्ने बारे अझै तय भएको छैन ।                     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय