• २०८१ बैशाख २५ मंगलबार

‘गलबन्दी' को विवाद संसदमा

kharibot

काठमाडौँ । अहिलेको चर्चित लोकदोहोरी गीत ‘गलबन्दी' को विवाद संसदमा पुगेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले गलबन्दी गीतको बचाउ गर्दै यस विषयलाई संसदमा प्रवेश गराएका छन् ।

गायक प्रकाश सपुत र शान्तिश्री परियारले गाएको सो गीत वरिष्ठ गायक शम्भु राईले आफ्नो एल्बम देउसी भैलोको ‘आउ नाचौं साथी हो..’ बोलको गीतसँग मिलेको दाबी गर्दै आएका छन् । राईको दाबी पछि अहिले 'गलबन्दी' को पक्ष र विपक्षमा सामाजिक संजालदेखि मिडिया समेत विभाजित भएका छन् ।

युट्युबमा रिलिज भएको एक महिनामा युट्युबमा डेढ करोडभन्दा बढीले हेरेको यो गीतको लय गायक राईको गीतको लयसँग नमिलेको सांसद विश्वकर्माको दाबी छ । लोकभाकाको नक्कल वा चोरी नहुने उनले दाबी गरेका छन् ।

सांसद विश्वकर्माले ‘गलबन्दी’को लय विवादको निहुँ कतिपयले सामाजिक सञ्जालमा जातीय विभेद हुनेखालका धारणा राखेको भन्दै उनीहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

विश्वकर्माले संसदमा के भने ?

'विगत केही दिनदेखि के बालक, के तरुण, के यवा, के वृद्धा सबैको मुखमा हरपल गुनगुनाइरहने धुन बनेको छ– गलबन्दी च्यातियो तिमीले तानेर.. । नेपाली सांगीतिक इतिहासमा यति छोटो समयमा डेढ करोड दर्शक बनाउनु चानचुने कुरा होइन ।

संसारभरि नेपाली मनले मात्रै होइन विदेशी मनले पनि यही धुन गुनगुनाइरहेका छन् । यसमा नेपालको मौलिक संस्कृतिलाई समृद्ध बनाउने कलाकार प्रकाश सपुत र शान्तिश्री परियारलाई हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछु । सरकारको सम्बन्धित निकायले उनीहरूलाई उच्च सम्मान गर्नुपर्नेमा सत्तारुढ दलकै भातृसंस्थामा आवद्ध कलाकार शम्भु राईले मेरो लय नक्कल गरेको भनी मुद्दा हालेछन् ।

हामीले ख्याल गर्नुपर्ने कुरा के भने लोकभाका भनेकै पूर्वजहरूले गाउँदै उनीहरूका अनुयायीले पछ्याउँदै पुस्तौंपुस्तासम्म जीवित राख्नु हो । एक दिन, एक पटक, एक कलाकारले कुनै एक समयमा गाएको, गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन । गाउँघर, रोदीघर, रत्यौली वा मेलापातमा जाँदा स्वतःस्फूर्त रुपमा गाउने भाका नै लोकभाका हो । यो भाका न नक्कल हुन्छ, न चोरी गरिन्छ ।

यद्यपि प्रकाश सपुतले गाएको उक्त भाका कसैसँग मेल खाँदैन । शम्भु राईसँग मेल खाने त कुरै भएन । तर, विडम्बना एक सामान्य कलाकारले अति मन छुने स्वर, शैली र छायांकनसमेत गरी प्रस्तुत गरेको गीतमा एक फरक भूगोल, फरक परिवेश, फरक शैली र फरक कालखण्डमा उस्तैउस्तै गीत मैले पनि गाएको थिएँ । नक्कल भयो भनी मुद्दा हाल्न पुग्नु एक प्रतिष्ठित कलाकारका लागि लज्जाको विषय बन्नु पर्ने हो ।

तर, उल्टै शम्भु राई र उनका मतियारहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावका दृष्टिले अति नीच गालीगलौज गर्ने र उनलाई हतोत्साही बनाउन निरन्तर लागि परेको देखिन्छ । त्यतिमात्रै होइन, संविधान, कानून र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरूमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानून, जातीय छुवाछुट तथा कसूर सजायँ ऐन र संविधानको धारा २४ अन्तर्गत उनीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दछु ।' 

भिडियो :

‘गलबन्दी’ विरुद्ध शम्भु राईले हाले प्रतिलिपी अधिकार मुद्धा 

अहिलेको चर्चित गीत ‘गलबन्दी’ विरुद्ध प्रतिलिपी अधिकार रजिष्ट्रार कार्यालयमा मुद्धा दायर भएको छ ।

गीतका सर्जक शम्भु राईले आफ्नो गीतको कपी गरेर 'गलबन्दी' का गायक तथा सर्जक प्रकाश सपुतले बजारमा ल्याएको भन्दै क्षतिपूर्ति माग दावी गर्दै मुद्धा दायर गरेका हुन् ।

शम्भु राईले सहमति गरौ भनेर दोश्रो पक्षसँग कुराकानी गरेपनि सहमति हुन नसकेपछि मुद्धा दायर गरेको बताएका छन् ।

गायक राईले आफ्नो गीत ‘आऊ नाचौं साथी हो’को कपी गरेर प्रकाश सपुतले गलबन्दी गीत सार्वजनिक गरेको भन्दै मुद्धा दायर गरेका हुन् ।

यस गीतको विषयमा विवाद भएपछि गायक प्रकाशले शम्भु राईलाई सम्बोधन गर्दै 'एक अनुजको पत्र अग्रजलाई' शिर्षकमा एक खुला पत्र समेत लेखेका थिए ।
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै