• २०८१ बैशाख १७ सोमबार

नेपाल-भारत ऊर्जासचिव बैठक : प्रसारण लाइनमा सहमति हुने

kharibot

काठमाडौं । जलविद्युत् विकास र बिजुली निर्यातका लागि मार्गप्रशस्त गर्ने पूर्वाधार मानिएको नेपाल–भारत दोस्रो सीमापार अन्तर्देशीय प्रसारण लाइन (४०० केभी) निर्माणको टुंगो लगाउने गरी नेपालले प्रस्ताव गरेको छ ।

नेपालको प्रस्तावमा सोमबार भारतको बैङलोरमा ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी)मा छलफल भएको छ । सहसचिव तहमा भएको छलफललाई मंगलबार सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएसटी)ले टुंग्याउने कार्यक्रम रहेको बताइएको छ ।

सचिवस्तरीय बैठकमा नेपालले उक्त प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण ढाँचा टुंगो लगाई दुवै पक्षको हितमा निर्माण हुने गरी प्रस्ताव गरेको हो । यसअघि नेपालले आआफ्ना सरकारी पक्षबाट लगानी गरी निर्माण गर्ने प्रस्ताव गरेकोमा भारतले अस्वीकार गर्दै आएको थियो ।

प्रस्तावमा उक्त प्रसारण लाइन अलग्गै व्यापारिक कम्पनी गठन गरी निर्माण गर्ने, कम्पनीमा नेपालको आधा र भारतको आधा सेयर रहने उल्लेख छ । ढल्केवर–मुजफ्फपुरमा नेपालको सेयर १० प्रतिशत मात्र छ । कम्पनीले कमाएको नाफामा नेपालको थोरै हिस्सा आउने भएकाले नेपालले अस्वीकार गरेको थियो । 

यसैगरी नेपालले गोरखपुरमा छुट्टै सबस्टेसन नबनाई त्यहींको विद्यमान संरचनामै प्रसारण लाइन चार्ज (जोड्ने) प्रस्ताव गरेको छ । यसअघि गोरखपुरमा छुट्टै सबस्टेसन बनाउनुपर्ने भारतको प्रस्ताव थियो । गोरखपुरमा नयाँ सबस्टेसन बनाउन नपर्ने मामिलामा भारतसित गत माघमा पोखरामा भएको ऊर्जासचिवस्तरीय बैठकमा सहमति भइसकेको छ । यसको लागत करिब १ अर्ब २८ करोड रहेको बताइएको छ ।

कम्पनीको वित्तीय संरचनामा पनि नेपालले छुट्टै प्रस्ताव गरेको छ। कम्पनीले २० प्रतिशत स्वपुँजी (इक्विटी) र ८० प्रतिशत ऋण प्रस्ताव गरेको छ । सेयरमा सम्बन्धित देशले अनुदान दिने नेपालको प्रस्ताव छ । सेयरका लागि सरकारी अनुदान प्राप्त भए ब्याज तिर्न नपरी उक्त प्रसारण लाइनको लागत कम पर्न जान्छ ।

ऋणको हकमा नेपालले भारतीय बैंकबाहेक अन्य बहुपक्षीय दातृ निकाय (एसियाली विकास बैंक, विश्व बैंकलगायत)बाट पनि सुविधाजनक ऋण लिन पाउने नेपालको प्रस्ताव छ । यस्तो ऋण एकदेखि दुई प्रतिशत वार्षिक ब्याजमा पाइन्छ भने भारतीय बैंकसित लिँदा ११ प्रतिशत पर्न आउँछ।

नेपालले उक्त प्रसारण लाइनको क्यासिटी (क्षमता) सात वर्षका लागि बुक गर्नुपर्नेछ। यो प्रसारण लाइन उपयोग गर्ने गरी नेपालबाट उत्पादन हुन लागेका आयोजनाको सूची भारत सरकारलाई बुझाइसकिएको छ ।

यो प्रसारण लाइनले दुई हजार मेगावाटसम्म बिजुली बोक्छ । यो संरचना निर्माण भएपछि यसबाट बिजुलीको कारोबार भएन भने त्यसको भाडा कम्पनी (नेपाल र भारत मिलेर बन्ने) तिर्नुपर्ने हुन्छ । 

नेपाल र भारतबीच यो प्रसारण लाइन निर्माणसम्बन्धी सहमति नभएसम्म अमेरिकी सरकारले दिन लागेको ५० अर्ब रुपैयाँ अनुदान रहेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयनमा आउन यो प्रसारण लाइनसम्बन्धी भारतसित सहमति हुनुपर्ने सर्त रहेको छ । 

एमसीसीले चार सय केभी क्षमताको तीन सय १८ किलोमिटर लामो प्रसारण लाइन, तीनवटा उच्च क्षमतायुक्त सबस्टेसन निर्माण र तीन सय किलोमिटर रणनीतिक सडक मर्मत गर्ने प्रस्ताव अगाडी सारेको छ । यसबाट दुई करोड ३५ लाख जनतालाई विद्युत् सुविधा उपलब्ध हुने, ९० लाख जनसंख्यालाई सडकबाट लाभान्वित हुने र ऊर्जा खपत प्रतिव्यक्ति पाँच सय युनिट पुग्ने लक्ष्य छ ।

बैठकमा नेपालले उठाउँदै आएको इनर्जी बैकिङ, पुँजी बजारमा सेयरको खरिदबिक्रीजस्तै विद्युत्को अनलाइन कारोबार, विद्यमान अन्य १३२ केभी प्रसारण लाइनका क्षमता विस्तार, टनकपुरमा थप क्षमताको ट्रान्सफर्मर जडानलगायत एजेन्डा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै