• २०८१ बैशाख १७ सोमबार

#MeToo अभियानको पाँच वर्ष पुरा, के के बदलियो ?

kharibot

काठमाडौँ । यौन हिँसा र दुर्व्यबहारविरुद्ध चलेको विश्वव्यापी आन्दोलन #MeToo को पाँच वर्ष पुरा भएको छ । एक ट्वीटबाट सुरु भएको #MeToo अभियान यस समयमा विश्वभरका महिलाहरूले उनीहरूसँग भएका दुर्व्यवहारका अनुभव सार्बजनिक गर्न प्रयोग गरेका थिए ।

यद्यपी #MeToo यौन हिंसा र उत्पीडनको वर्णन गर्ने पहिलो ह्यासट्याग थिएन, र यो भाइरल हुने पहिलो ह्यासट्याग पनि थिएन । अमेरिकाका धेरै भागहरूमा, यसले राष्ट्रिय वा क्षेत्रीय स्तरमा भाइरल भइसकेका अभियानहरूलाई आवाज दिएको थियो ।

धेरैले यो पनि विश्वास गर्छन् कि आन्दोलनले समाजमा र विश्वभरका कार्यस्थलहरूमा महिलाहरूको स्थिति र व्यवहारको बारेमा बहसलाई विस्तार गर्यो । यसले महिलाहरूलाई यौन दुर्व्यवहारको अनुभवहरू सार्वजनिक गर्न प्रोत्साहित गर्यो ।

कसरी सुरु भयो?

#MeToo अभियान सन् २००६ मा अमेरिकी सामाजिक कार्यकर्ता तराना बर्कले महिलाविरुद्ध हुने यौन हिंसा र उत्पीडनको बारेमा सचेतना जगाउन सुरु गरेका थिए । ११ वर्षपछि अमेरिकी अभिनेत्री एलिसा मिलानोले आफ्नो ट्विटमा यसको प्रयोग गर्दा विश्वको ध्यानाकर्षण भएको थियो ।

उनले महिलाहरूलाई यौन उत्पीडनको अनुभव साझा गर्न अपील गरिन्, जसको प्रभाव विश्वभर परेको छ । उनी हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टिनमाथि यौन उत्पीडनको आरोप लगाउने पहिलो अभिनेत्री थिइन् । उनले १५ अक्टोबर, २०१७ मा ट्वीट गरिन्, त्यसपछि #MeToo सोही दिन सोशल मिडियामा दुई लाख भन्दा बढी पटक प्रयोग भयो ।भोलिपल्टसम्म पाँच लाख मानिसले प्रयोग गरिसकेका थिए । #MeToo विश्वका ८५ भन्दा बढी देशहरूमा विभिन्न भाषाहरूमा चलनमा रह्यो । उनको वाइन्स्टिनमाथिको आरोपपछि अन्य अभिनेत्रीहरुले पनि उनीमाथि आरोप लगाए र उनलाई अहिले जेल सजाय भएको छ । 

यो आन्दोलन अमेरिकाबाट सुरु भएको होला तर यसको प्रभाव विश्वभर देखिएको छ ।

#MeToo आन्दोलन र ह्यासट्यागलाई छुट्टाछुट्टै हेर्नु पर्ने विश्लेषकहरु बताउछन् । यसलाई ह्यासट्याग र सार्वजनिक छलफलको रूपमा अलग गर्न सकिन्छ । यो आन्दोलन ह्यासट्याग भाइरल हुनुभन्दा धेरै अघिदेखि चलिरहेको थियो र त्यसपछि पनि यो जारी छ ।

संसारभर #MeToo को प्रभाव

सन् २०१५ मा, ब्राजिलमा महिला अधिकारका लागि काम गर्ने संस्था थिंक ओल्गाका संस्थापक जुलियाना डे फारियाले #MyFirstHarrassment नामक अभियान सुरु गरेकी थिइन् ।

केही दिनभित्रै हजारौं महिलाहरूले आफ्ना अनुभवहरू साझा गरे । यो चाँडै ल्याटिन अमेरिकी देशहरूमा पनि लोकप्रिय भयो ।

पछिल्ला केही वर्षयता विश्वभर यौन उत्पीडनको विरुद्ध आवाज उठाउन धेरै अभियानहरू भएका छन् । चीन, बेलायत र भारतजस्ता देशमा यस विषयमा बहसको अवधि चलेको छ ।

सन् २०१८ मा #MeToo आन्दोलनको प्रभाव चीनमा पनि देखिएको थियो। त्यसपछि जियान्जी धेरै महिला मध्ये एक थिइन् जसले सबैको अगाडि आफ्नो यौन दुर्व्यवहारको बारेमा कुरा गरेकी थिइन् । उनको वास्तविक नाम झोउ जिआओजुआन हो, तर उनी जियान्जी भनेर चिनिन्छन् । ३,००० शब्दको लेखमा जियान्जीले राज्य सञ्चालित समाचार च्यानल सीसीटीभीका प्रस्तोता जु जुनमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । जियान्जीको लेख भाइरल भएको थियो । उनले भनकी थिइन्, जब यो घटना भयो, उनी २१ वर्षीया इन्टर्न थिइन् र सु जुनसँग अन्तर्वार्ता लिने आशामा उनको ड्रेसिङ रुममा गएकी थिइन् ।

तर, गत वर्ष अदालतले पर्याप्त प्रमाण नभएको भन्दै उनको आरोप खारेज गरेको थियो । तर अदालतको फैसलापछि उनले आफ्नो लडाइ जारी राख्ने बताएकी छन् ।

सन् २०१९ मा केप टाउन हुलाक कार्यालयमा १९ वर्षीया विद्यार्थी युइनेन मार्भेटियानाको बलात्कारपछि हत्या भएको थियो । यसपछि दक्षिण अफ्रिकामा #MenAreTrash ह्यासट्यागले महिलाविरुद्ध पुरुषको हिंसाको आलोचना गरेको थियो ।

यो हत्यापछि महिला हिंसाको विषयलाई लिएर देशभर विरोध प्रदर्शन भएको थियो । दक्षिण अफ्रिकी सरकारले महिला विरुद्धको हिंसा राष्ट्रिय समस्या भएको स्वीकार गर्यो । दक्षिण अफ्रिकामा विश्वको औसतभन्दा पाँच गुणा बढी महिलाको हत्या लिङ्गका कारण हुने गरेको छ ।

इरानमा २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा हत्या भएपछि जनताको आक्रोश सडकमा अहिले पनि देखिएको छ । मेहसा अमिनीलाई टाउकोमा हिजाब नलगाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार उनलाई प्रहरी भ्यानमा कुटपिटपछि उनी कोमामा थिइन् । तर, इरानी प्रहरीले उक्त आरोप अस्वीकार गर्दै उनको अचानक हृदयघातका कारण मृत्यु भएको बताएको छ ।

इरानी सामाजिक कार्यकर्ताहरूले हालको विरोध र #MeToo आन्दोलनलाई जोड्छन् । इरानी अभिनेत्री र सामाजिक कार्यकर्ता गोलसाफितेह फराहानले आफ्नो ट्वीटमा भनिन्, "कसरी तपाईं #MeToo आन्दोलनबाट टाढा रहेर पुरुष र महिला बीचको समानताको माग गर्न सक्नुहुन्छ, तपाईं कसरी #MeToo आन्दोलनलाई मद्दत गर्न सक्नुहुन्छ।
यसको धर्म, विचारधारा र हिजाब लगाउने वा नगर्नेसँग कुनै सरोकार छैन । यो महिलाहरूले आफ्नै छनौट गर्ने र आफ्नो शरीरमा अधिकार पाउने कुरा हो।"

ह्यासट्यागभन्दा बाहिरको विरोध

#MeToo आन्दोलनको पाँच वर्ष पछि, विश्लेषकहरूले विश्वास गर्छन् कि यसले महिला उत्पीडनको बिरूद्ध बहसलाई उत्तेजित गरेको छ, अन्य ह्यासट्यागहरू, विरोधहरू र नयाँ केसहरू फैलाएको छ ।

#MeToo ले आम जनतामा प्रभाव पारेको छ । हजारौं महिलाहरूले अहिले सार्वजनिक रूपमा आफ्नो यौन उत्पीडनको अनुभव सुनाइरहेका छन्, मानिसहरूले सुनिरहेका छन् र विश्वास पनि गरिरहेका छन् । विश्व स्तरमा महिलाको सामाजिक व्यवहारको मुद्दाले अन्य केही सामाजिक समस्या पनि उजागर गरेको छ ।

दुर्भाग्यवश, महिलाहरू पहिलो आरोप लगाउने र सार्वजनिक रूपमा पुरुषहरू विरुद्ध बोलेको कारण आलोचना हुने गर्थे । तिनीहरूको आरोप कसैले सुनेन वा विश्वास गरेन ।

#MeToo आन्दोलनले व्यक्तिगत अपराधीहरूको व्यवहारलाई समाजमा मात्र पर्दाफास गरेको छैन, तर केही उद्योगहरूलाई उनीहरूले सञ्चालन गर्ने तरिका र सामाजिक मूल्यहरूमाथि पुनर्विचार गर्न बाध्य तुल्याएको छ ।

अबको आन्दोलन के हुन्छ ?

भाइरल #MeToo आन्दोलनले एउटा महत्त्वपूर्ण मुद्दालाई गति दिएको छ । तर अझै धेरै गर्न आवश्यक छ । एक समय आउनेछ जब हामीलाई थाहा हुन्छ कि हामी यस्तो बिन्दुमा पुगेका छौं जहाँ कुनै यौन उत्पीडन र यौन दुर्व्यवहार छैन, तर हामी यसबाट टाढा रहेको विश्लेषकहरु विश्वास गर्छन् ।

#MeToo आन्दोलनको वास्तविक प्रभाव देखाउन समय लाग्नेछ । यसको लागि कार्यस्थल, विद्यालयदेखि खेल मैदानसम्म सबै ठाउँमा संरचनात्मक परिवर्तन आवश्यक छ । यो काम दशकौंदेखि भइरहेको छ, तर यो सुरुवात मात्र हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै