• २०८१ बैशाख १७ सोमबार

युट्युबमा छाउन थाले तीज गीत

kharibot

गण्डकी । मलमासले धकेलिएर तीज असोजमा पुगेको छ ।

युट्युबमा छाइरहेका तीज गीतले भने तीज पर्व दैलोमा आएको आभाष दिलाउँछ । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज गीतले युट्युबमा प्रवेश पाएको भने गत असारदेखि नै हो ।

अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । अधिक गीतमा प्रेम र सौन्दर्यको चर्चा छ ।

कतै श्रीमान–श्रीमती त कहीँ प्रेमी-प्रेमिकाबीचको मायावी संवाद गीतमा सुन्न पाइन्छ । यस्तै एउटा गीतमा श्रीमान र श्रीमतिको संवाद समावेश छ । 

    श्रीमान भन्छन्–
    ‘चौधरी हैन, अम्बानी हैन
    तैपनि मनमा पिर चिन्ता छैन
    हे नाच्ने हो गाउने हो
    कमाउने नि हो, रमाउने नि हो...’

    श्रीमती जवाफ फर्काउँछिन्–
    ‘थिएन हिजो लाइएन राम्रो 
    आज त छुट्टै इज्जत छ     हाम्रो
    हे नाच्ने गाउने हो
    कमाउने नि हो, रमाउने नि     हो...’

गत असार २७ मा सार्वजनिक गायक खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीद्वारा स्वरबद्ध तीज गीत ‘कमाउने नि हो, रमाउने नि हो’ले हालसम्म युट्युवमा ६९ लाख बढी ‘भ्युज’ पाएको छ ।

‘शुभारम्भ डिजिटल म्युजिक’ युट्युव च्यानलबाट सार्वजनिक उक्त गीतमाथि दुई हजार पाँच सय बढीले टिप्पणी गरेका छन् । नेत्र अर्यालको शब्द रहेको उक्त गीतमा गायक सेञ्चुरीले नै सङ्गीत  दिएका छन । गीतको ‘म्युजिक भिडियो’मा कलाकार प्रकाश सपुत र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ ।

गीत चर्चित गायक÷सर्जक पशुपति शर्माको गीत ‘झुक्याउन पाइँदैन’को म्युजिक भिडियो एकै दिनमा एक लाख ५० हजारभन्दा बढी पटक हेरिएको छ । बिहीबार सार्वजनिक उक्त गीतमा गायक शर्मा र गायिका निशा केसीको स्वर छ । शब्द र सङ्गीत शर्मा आफैँले दिनुभएको छ । गीतको अभियन र नृत्यमा शर्मालाई कलाकार अञ्जली अधिकारीले साथ दिएका छन्  ।

     गीतमा प्रेमी गुनासो गर्छन्–
    ‘मुटु माग्यो मुटु दिएँ
    कलेजी माग्यो कलेजी दिएँ 
    हे तर खुसी हुँदिनौँ कि     माया अन्तै छ र 
    चाहिँदैन मलाई नक्कली माया चाहिँदैन
    हो भने हो भन नत्र झक्काउन पाइँदैन...’ 

    प्रेमिकाले भन्छिन्–
    ‘बाबाआमा टाढा भए 
    जेजे भन्यौँ त्यैत्यै सहेँ
    हे तर खुसी हुँदैनौँ कि माया     अन्तै छ र  
    चाहिँदैन मलाई नक्कली     मायाँ चाहिँदैन 
    हो भने हो भन नत्र     झक्काउन पाइँदैन...’

    मन छुने भाका, शब्द र सुरिलो गायकीले तीज गीतलाई सरल र श्रतिमय बनाएको पाइन्छ । लोकगायक विष्णु खत्रीले पनि बिहीबार नै तीज गीत सार्वजनिक गर्नुभएको छ । उहाँको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीत ‘तीज आयो’ले हालसम्म ६५ हजार बढी ‘भ्युज’ बटुलेको छ । खत्रीको गीतमा पनि श्रीमान–श्रीमतीबीचको गन्थन छ । 

    श्रीमती–
    ‘असाध्यै राम्री देखिन्छेस् 
    भन्छन् साडीमा मलाई त
    निस्कन मन लाग्दैन कतै
    साडी नै नलाई त 
    तीज आयो तीज
    यसपालि मलाई फूलबुट्टे 
    साडी किन्दिउन है प्लिज...’

    श्रीमान् –
    ‘पहिरनले पनि नारीलाई 
    झनै सुन्दर बनाउँछ
    तिमीले लाउने लुगाले 
    मेरो स्तर जनाउँछ 
    तीज आयो तीज
    कुन चाहिँ साडी किन्दिउँ त 
    तिम्लाई हङकङ कि जापनिज...’

यी त प्रतिनिधि तीज गीत हुन् । तीज पर्व नजिकिँदै जाँदा दैनिकजसो युट्युबाट तीज गीत सार्वजनिक भइरहेका छन् । तीजको याम सुरु भएपछि कलाकारले अरू विधाका गीतलाई थाती राख्छन् ।

तीज गीतले सधैँ चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ । 

पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ ।

पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे ।

खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।

अहिलेका तीज गीतमा भने मायाप्रेमको मुद्दा बढी मुखरित भएको पाइन्छ । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाई समेत तीज गीतमा उठान गरिएको पाइन्छ ।

तीज गीतमा पनि पुरुष कलाकारकै वर्चस्व देखिन थालेको छ । तीज गीतको सौन्दर्य नासिँदै गएकामा कला मर्मज्ञ पनि चिन्तित छन् । 

कलाकार भने आधुनिक समाज विकाससँगै मानवीय अभिरुचि र प्रविधिमा आएको फड्कोलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको टिप्पणी गर्छन् ।

क्यासेट र सिडीको जमना गएपछि कलाकार अहिले युट्युबकै भरमा छन् । ‘भ्युज’, ‘लाइक’ र ‘कमेन्ट’का आधारमा सर्जक÷कलाकारलाई युट्युबले पैसा दिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय