• २०८१ बैशाख १७ सोमबार

गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा : शंकर पोखरेल

kharibot

काठमाडौं। नेकपा एमालेमा महासचिव शंकर पोखरेलले  सरकारले नागरिकमा निराशा बढाउने काम गरेको बताएका छन् । 

शुक्रबार नेकपा एमाले म्याग्दीको जिल्ला अधिवेशन  उद्घाटन गर्दै पोखरेलले अहिलेको सङ्कटको कारण नै गठबन्धन सरकार भएको बताए । 

गठबन्धनले मुलुकका कुनै पनि समस्या समाधान गर्न सक्दैन भनेर एमालेले पहिला नै भनेको कुरा प्रमाणित भएको उनले बताए । ‘आज गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा पुगेको छ’, उनले भने । 

देशको स्वाधीनता, स्वाभिमान र रक्षको मामलामा इतिहासकै नालायक र कमजोर सरकारको रूपमा अहिलेको सरकार रहेको पोखरेलले बताए ।

‘कुनै एउटामा होइन, हरेक मामिलामा यो सरकार असक्षम र असफल साबित भएको छ’, उनले भने । सरकारको विकास निर्माणको काममा कुनै तत्परता नदेखिएको भन्दै उनले आलोचना गरे । 

उल्टो एमालेको पालामा सुरु भएको राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजनाको वर्तमान सरकारले बजेट कटौतीको काम गरेको उनले बताए ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन अनेक क्षेत्रका बजेट गठबन्धन सरकारले कटौली गरेको पोखरेलले बताए । गठबन्धन सरकार जनताको सरकार नभएर भ्रष्ट, दलाल र तस्करहरूको सरकार भएको उनले बताए ।

केही दुई नम्बरी काम गर्ने व्यक्तिहरू सरकारको नजिक पुगेर मालामाल भएका उनको टिप्पणी छ । सरकारले अवैध अर्थतन्त्रको विकास गरेर देशमा व्यवसायको वातावरण बिगारेको उनको भनाइ छ । 

सरकारको तर्फबाट भएका सबै कमजोरी लुकाउन त्यसमा एमालेलाई जोड्ने प्रयत्न पटक पटक गरिएका भए पनि त्यो असम्भव भएको उनले बताए ।

एमाले सरकारमा नै नभएको बेलमा पनि एमाले माथि प्रहारको निशाना सोझ्याउने काम भएको भन्दै पोखरेलले आपत्ति जनाए । 

याे सरकार माथि अब जबरजस्त दबाब सिर्जना गर्न आवश्यक रहेको उनले बताए । मुलुकलाई रसातलमा पुर्‍याउने गठबन्धनका विरुद्ध आँधीबेहरी ल्याउने पर्नेमा उनले जोड दिए । 

केपी ओली नेतृत्वको सरकारले हरेक मामिलामा अग्रगामी भूमिका निर्वाह गरेको उनले दाबी छ । विकास र समृद्धिको काम केपी ओलीको पालामा अग्रगामी हिसाबले अघि बढेको उनले बताए ।

एमाले सरकारको पालमा कयौँ राष्ट्रिय गौरवका आयोजना अघि बढेका उनले सुनाए । अन्तराष्ट्रिय फोरममा समेत नेपालको प्रधानमन्त्रीले के बोल्छ भनेर सुन्ने वातावरण एमालेको पालामा बनेको उनले प्रष्ट पारे । 

नेकपा एमाले सरकारमा नहुँदा मुलुक कमजोर हुँदो रहेछ भन्ने कुरा प्रमाणित भएको उनले बताए। मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको लागि वर्तमान सरकार अभिशाप साबित भएको उनले टिप्पणी गरे। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै