• २०८१ बैशाख १७ सोमबार

म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिगमा प्रतिबन्ध लाग्ने सम्भावना बढ्यो !

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई युइएफए च्याम्पियन्स लिगमा एक बर्षको प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ ।

युरोपको फुटबल महासंघ युइएफएले सिटीले उलंघन गरेको फाइनान्सियल फेयरप्ले सम्बन्धि विषयलाई क्लब फाइनान्सियल कन्ट्रोल बडीको न्यायिक च्याम्बरलाई पठाएपछि अब सिटीलाई एक सिजनको च्याम्पियन्स लिगमा प्रतिबन्ध लाग्ने सम्भावना बढेको हो ।

युइएएले सिटीले खेलाडी स्पोन्सर सम्झौतामा नियम विपरित सम्झौता गरेको र खेलाडी ट्रान्सफरमा सो रकम नियमविपरित खर्च गरेको आरोपका विषयमा गत मार्च ७ देखि छानबिन गरिरहेको थियो । 

सिटीको एक लगानीकर्ता आबु धाबी युनाइटेड ग्रुपलाई इथियाड एयरलाइन्सले स्पोन्सर बापतको ५९.५ मिलियन पाउण्ड रकम सिधै भुक्तानी गरेको देखिएको थियो जबकी यो रकम ८ मिलियन पाउण्डमात्र हुनुपर्ने थियो ।

फुटबल बजारको इन्फ्लेसनलाई कन्ट्रोल गर्न युइएफ़एले बनाएको नियम विपरित सिटीको लगानीकर्ता कम्पनीले भुक्तानी बुझेको देखाएर प्रभावित पारेको खुलासा भएको छ ।

त्यस्तै सिटीले छानबिनकर्तालाई ३०.७४ मिलियन पाउण्डको हिसाब समेत लुकाएको खुलासा भएको थियो ।

यस सम्बन्धि न्युयोर्क टाइम्सका अनुसार फाइनान्सियल नियम तोडेको आरोपमा छानबिन गरिरहेको कमिटीले सिटीलाई च्याम्पियन्स लिगबाट एक बर्ष प्रतिबन्ध लगाउने सिफारिश गर्न लागेको मिडिया रिपोर्ट सार्वजनिक गरेको थियो ।

बेल्जियमका पुर्वप्रधानमन्त्री प्रमुख रहेको युइएफएको स्वतन्त्र फाइनान्सियल कन्ट्रोल बोर्डले युइएफएको न्यायिक च्याम्बरलाई सिटीले फाइनान्सियल फेयरप्लेको उलंघन गरेको भन्दै च्याम्पियन्स लिगमा एक बर्षे प्रतिबन्ध लगाउने गरि सिफारिस गरेको हो ।

गत बर्ष जर्मनी पत्रिका डेर स्पाइगेलमा स्पोन्सरसम्बन्धि मल्टी मिलियन डलर सम्झौतामा सिटीले युइएफएको फाइनान्सियल नियम उलंघन गरेको रिपोर्ट सार्वजनिक भएको थियो । यस अघि यस्तै आरोपमा सन् २०१४ मा सिटीलाई ४९ मिलियन पाउण्ड जरिवाना समेत गरिएको थियो ।

यसै बीच सिटीले एक विज्ञप्ति प्रकाशित गर्दै क्लबले युइएफएको स्वतन्त्र फाइनान्सियल कन्ट्रोल बोर्डको सिफारिश प्रति निराश भएको बताएको छ । सिटीले यस छानबिनमा सकरात्मक निर्णय आउने आशा व्यक्त गर्दै आफुले कुनै नियम उलंघन नगरेको जनाएको छ ।

युइएफएले यस प्रकरणमा अन्तिम निर्णय नभएसम्म कुनै प्रतिक्रिया नदिने बताएको छ । यस प्रकरणको अन्तिम निर्णय एक साताभित्र आउने बताइएको छ ।

युइएफएले सीटीलाई च्याम्पियन्स लिगमा प्रतिबन्ध लगाए पनि आउदो सिजन भने सिटीले अपिल गर्न पाउने भएकाले खेल्न पाउने र अर्को सिजनमा मात्र लागु हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै