• २०८१ बैशाख १७ सोमबार

सिपिएल ड्राफ्टमा नेपालबाट सन्दीप मात्र, यस्तो रह्यो कारण 

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडीको ड्राफ्टमा परेका चार नेपाली खेलाडीमध्ये नेपाली लेग स्पिनर सन्दीप लामिछाने मात्र सिपिएल खेल्ने भएका छन् ।

सन्दीपलाई बारबाडोस ट्रीडेन्टसले ७० हजार अमेरिकी डलरको स्लटमा किनेको छ । अघिल्लो सिजनमा ५ हजार अमेरिकी डलरमा सिपिएल खेलेका सन्दीपले यस पटक छलाङ मार्दै लगभग ८० लाख नेपाली रुपैयाँमा सिपिएलमा अनुबन्ध भएका हुन् ।  

यो सँगै ड्राफ्टमा परेका रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीको विदेशी लिग खेल्ने प्रयास अझै पुरा हुन् सकेन ।  

सिपिएलमा खेल्ने ६ टिमले बढीमा ५ विदेशी खेलाडी मात्र किन्न पाउने नियम रहेकाले पनि अन्य खेलाडी अवसरबाट चुकेको देखिन्छ । ६ टिमले ३५१ विदेशी खेलाडीबाट जम्मा ३० खेलाडी छान्नु पर्ने बाध्यता रहेकाले पनि विदेशी लिग नखेलेका खेलाडीले मौका नपाएका हुन् ।

यसअघि पाँचौ संस्करणमा सन्दीपले सिपिएलको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट क्रिस गेलको कप्तानीमा खेलेका कारण पनि सिपिएल ड्राफ्टमा सन्दीपलाई सजिलो भएको हो । त्यस्तै सन्दीपले सेन्ट किट्सबाट गत सिजनमा कुल ५ खेल खेल्दै ७ विकेट लिएका कारण पनि सन्दीपलाई बारबाड़ोसले राम्रो पैसामा किनेको देखिन्छ । यो बाहेक अन्य विदेशी लिगमा सन्दीपको एक्सपोजरले पनि ड्राफ्टमा सन्दीपको आकर्षण देखिएको हो ।

वेस्टइन्डिजका पुर्व खेलाडी डेरन गंगाले त सन्दीप यस सिपिएलको ‘डार्क हर्स’ खेलाडी भयेको बताउदै बारबाडोसले सहि खेलाडीमा लागानी गरेको भन्दै सन्दीपको प्रसंशा गरेका छन् ।

बारबाडोसले वेस्टइन्डिजका साइ होप, जासन होल्डर, एश्ले नर्स, जोनाथन कार्टर, पाकिस्तानका वहाव रियाज, आसिफ अली, इमाद वशिम, इङल्याण्डका एलेक्स हेल्सजस्ता खेलाडीलाई किनेको छ ।            

बुधवार सम्पन्न खेलाडी ड्राफ्टमा विश्व क्रिकेटका चर्चित खेलाडी राशिद खान, बबर आजम, क्रिस लीन, ब्रेण्डम म्याकुलम, शेन वाटशन जस्ता खेलाडी भने परेका छैनन् । युरोपमा हुने पहिलो युरो टी-२० स्लामसँग सिपिएलको खेल तालिका जुधेका कारण उनीहरु सिपिएल नखेल्ने भएका हुन् ।

आयरल्याण्ड क्रिकेट एशोसियसनले योजना गर्ने सो प्रतियोगिता अक्टोबर ३० देखि सेप्टेम्बर २२ सम्म हुने भएको छ ।

सिपिएलको छैठौ यस पटक सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म हुने वेस्टइन्डिजमा हुदै छ ।

सिपिएलमा ६ टिमको सहभागिता रहेको छ । जसमा बारबाडोस ट्रीडेन्टस, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया स्टार्स, जमैका टलावाह, ट्रिनवागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स रहेका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै