• २०८१ बैशाख १७ सोमबार

विश्व रेकर्ड तोड्ने दौडमा दाङका ऋषि

kharibot

दाङ । दाङका ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा छन् । उनी दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा छन् । गिनिजबुक अफ वर्ल्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्हेई कुडायौले सन् २०१८ मे ३ मा ५१ पटक पुसअप गरेर विश्व रेकर्ड कायम गरेका थिए । 

त्यो रेकर्डलाई कसैले पनि तोड्न सकेका छैनन् । तर, दाङ तुलसीपुर उपमहानगरपाकिा–३ निवासी ऋषि परियार यो रेकर्ड तोड्ने क्रममा छन् । विश्व रेकर्डका लागि उहाँले सोमबार तुलसीपुरमा भिडियो रेकर्ड गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा उनले एक मिनेटमा ६० पटक पुसअप गरेको भिडियोसमेत तयार पारेका छन् । 

उक्त भिडियो तथा साक्षीहरुको भिडियोलाई गिनिजबुक अफ वल्र्ड रेकर्डको कार्यालयमा इमेल गर्ने ऋषिले बताए । उनका अनुसार रेकर्ड भएको उक्त भिडियोसहित करीब रु एक लाख पठाउनुपर्ने र त्यसको नतिजा १०-१५ दिनमा आइपुग्छ । “मैले आज गरेको पुसअप गरेको भिडियो र साक्षीहरुको रेकर्ड गिनिजबुकको कार्यालयमा पठाउनुपर्छ”, उनले भने, “त्योसँगै करीब रु एक लाख पठाएपछि १०÷१५ दिनमा नतिजा आउँछ, यदि पैसा नपठाएको खण्डमा भने नतिजा आउन पाँच÷सात महीना लाग्छ ।” तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकूद शाखाको सहयोगमा उहाँ यस पटक गिनिजबुकमा नाम लेखाउने दौडमा छन् । 

परियारले गिनिजबुकमा नाम लेखाएर उक्त खेल क्षेत्रमा नेपालको नाम विश्वमै चिनाउने योजना बनाएको बताए । यसमा उपमहानगरपालिकाले पनि सहयोग गर्ने उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । उनका अनुसार अहिले ऋषिलाई गिनिजबुकमा नाम लेखाउन मद्दत गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाले रु एक लाख १५ हजारसमेत सहयोग गरेको छ ।

तुलसीपुर निवासी परियारले गिनिजबुकमा नाम लेखाउन सफल भएमा खेल क्षेत्रमा तुलसीपुरको नाम अन्तर्राष्ट्रियस्तरमा पुग्नेसमेत पाण्डेले बताए । “हामीले तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’का रूपमा अगाडि बढाइरहेका छौँ”, उनले भने, “सोहीअनुसार हामीले यहाँका खेलाडीलाई प्रोत्साहन गरिरहेका छौँ, अहिले ऋषिले विश्व रेकर्ड तोड्न सफल भएमा उपमहानगरलाई थप मद्दत पुग्छ ।” 

साथै ऋषिलाई गिनिजबुकमा नाम लेखाउन आवश्यक पर्ने रकम जुटाउन उपमहानगरपालिकाले पहल थाल्ने तुलसीपुर उपमहानगर युवा तथा खेलकूद संयोजक अमर नेपालीले बताए ।

हातले टेकेर तीन किलोमिटर हिँड्छन् ऋषि 

ऋषिको गिनिजबुकमा नाम लेखाउने सपना अहिलेको भने होइन । उनले अहिले हातले टेकेर तीन किलोमिटर हिँडेर गिनिजबुकमा नाम लेखाउने दौडमा पनि छन् । उनले चार महीनाअघि हातले टेकेर तीन किलोमिटर दुरी पार गरेको भिडियो गिनिजबुकको कार्यालयमा पठाएका थिए । त्यसको नतिजाको पर्खाइमा छन् ऋषि । विगत चार-पाँच वर्षअघिदेखि गिनिजबुकमा नाम लेखाउने दौडमा हिँड्नुभएका ऋषि आर्थिक अभावमा त्यसले सफलता नपाएको बताउछन् । तर, उनको अठोट भने जसरी पनि गिनिजबुकमा नाम लेखाएर छाड्ने छ । “अर्थाभावले मैले गिनिजबुकमा नाम लेखाउन सकेको छैन”, उनले भने, “तर एकपटक जसरी पनि गिनिजबुकमा नाम लेखाएरै छाड्छु ।” 

सानैदेखि खेल क्षेत्रमा रुचि राख्ने ऋषि जिम्न्यास्टिक, उफ्रने, दौडने, खेल खेल्ने गर्थे । यसमा उहाँको रुचि पनि बढी थियो । उनले केही वर्षअघि सोचे, ‘मानिस खुट्टाले त हिँड्छन्, तर हातले हिँडे कस्तो हुन्छ होला ?’ उनले मनमा उक्त प्रश्न खेलाइरहन मान्नुभएन्, अनि आफै हातले हिँड्ने प्रयास गर्न थाले । 

प्रयास गर्दै जाँदा परियारले विस्तारै हातले उभिन सिके । अनि केही समयको प्रयासपछि विस्तारै–विस्तारै हिँड्न शुरु गरे । यसरी प्रयास गर्दै जाँदा अहिले उहाँ हातले हिँड्न थालेको १३ वर्ष पुग्यो । लामो सङ्घर्ष र प्रयासपछि उनी अहिले उकालो, आरालोसमेत हिँड्नसक्ने भए । यही सीपलाई लिएर उनी विश्व कीर्तिमानी कायम गरी आफ्नो जन्मभूमि र देशलाई चिनाउने दौडमा छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै