• २०८१ बैशाख १७ सोमबार

नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा 

kharibot

काठमाडौ । चाहना मीडिया प्रा.लि.द्वारा उत्पादित हाल टेलिकाष्ट भइरहेको नेपालको सबैभन्दा ठूलो अर्गानिक रियालिटी शो आइएमइ नेपाल लोक स्टारमा अब टप–टेनका लागि सांगितिक प्रतिस्पर्धा हुने भएको छ ।

रियालिटी शोमा कुल ३६ शृंखला निर्माण गरिनेछ ।आफ्नै मौलिक संगीतलाई अन्तर्राष्ट्रिय ढाँचामा ढाली नेपाली ब्राण्डमा बनेको यस शोमा करिब १० करोड रुपैयाँ लागत रहेको छ । ७ प्रदेशका मुख्य सहरहरु धनगढी, सुर्खेत , बुटवल , जनकपुर, इटहरी, पोखरा र काठमाडौंमा आयोजना गरिएको ओपन अडिशनमा हरेक सहरबाट ५० प्रतियोगी छनोट गरी कूल ३५० जना प्रतिस्पर्धीहरु छनोट भएका थिए । छनोट भएका तीन सय ५० प्रतिस्पर्धीमध्ये एक सय नौ जनाले निर्णायक अडिशन प्रवेश गरे, जसमा निर्णायकहरुले फेरी पनि एपिसोड नौ मा शीर्ष २५ प्रतिस्पर्धीहरु छनोट गरेका थिए ।

एपिसोड ११ मा शीर्ष २५ मध्ये २० जना भोटिङ राउन्डबाट छनोट भएका थिए । यस कार्यक्रमको एपिसोड १३ मा फेरी टप १६ छनोट भएका थिए , एपिसोड १५ मा २ जना बाहिरिएका थिए भने एपिसोड १७ मा थप २ प्रतिस्पर्धीहरु बाहिरिएका थिए । एपिसोड १८ सम्म कुल १२ प्रतिस्पर्धीहरुको यात्रा सफल रह्यो । भोटिङ राउन्डबाट छनोट हुँदै एपिसोड २० मा टप ११ बाट प्रतिस्पर्धी भीम नेपाली बाहिरिएका छन्।

टप–टेनमा छनोट हुन सफल भएका प्रतिस्पर्धीहरु रहेका छन् : बिनोद दनुवार (उदयपुर) , चेतन गोतामे (स्याङजा) , दीपेन्द्र राइ (भोजपुर) , मुना अर्याल (चितवन) , पबिन्द्र सुनार (बाजुरा) , प्रभुराज पाण्डे (बाजुरा), रामकुमार नेपाली (रामेछाप) , रविराज शाह (सर्लाही), शनि विश्वकर्मा (रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची) ।

प्रत्येक बिहिबार र शुक्रबार बेलुकी ८:३० बजे एपी वान एचडी. र डिशहोम रमाइलोमा प्रसारण भइरहेको लोक स्टारको प्रथम पुरस्कार रु. ५० लाख रहेको छ, द्वितीय पुरस्कार रु. २५ लाख रहेको छ भने तृतीय पुरस्कार रु.१० लाख रहेको छ । साथै तिनै विजेताहरुलाई एल्बमको कन्ट्रयाक्टको व्यवस्था पनि रहेको छ । 

कार्यक्रमका निर्णायकहरु सुनिता दुलाल, जयनन्द लामा, रामजि खाँड र बि.बि. अनुरागी रहेका छन् । लोक स्टारको प्रमोशन तथा बजार व्यवस्थापनका लागि एड प्याड प्रालि आधिकारिक एजेन्सी रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै