• २०८१ बैशाख १७ सोमबार

मौन शक्ति: एक सशक्त शक्ति

kharibot

सूर्यको प्रकाश, चन्द्रमाको शितलता, आकाशको बिशालता, ताराहरुको अटलता, पृथ्वीको सालिनता सबै मौन अभिव्यक्तिका परिणामहरु हुन् । हुनपनी तारा, सूर्य, चन्द्रमा मौन घुम्छ्न् । रुख बोट बिरुवा घाँस फूल मौन बढ्छ्न । जीवात्मा मौन हुन्छ । तपाईले रुख कहिल्यै बकवक गरेको देख्नुभएको छ ? मौन भएरै हामीलाई अक्सिजन दिन्छ । फूलहरुले कहिल्यै आफ्नो सुन्दरताको घमण्ड गरेका छन् ? उनीहरु आन्तरिक र बाहय शान्तिले सुन्दर भएका हुन् । मधुर आवाज बिहिन सांगीतिक आवाजले प्रेमिल, सुघन्दित र सुन्दर भएका हुन् । मौन अवस्थामा नै बोटमा फल लाग्छ । फल बोटको मौन उपज हो । बिरुवाहरु चट्याङले कहिल्यै बढ्दैनन्, जहिल्यै पनि मौन संगितमय पानी, हावा र प्रकाशको शक्तिले बढ्छ्न् ।

खोलाको आवाजले पानीको गुणलाई बुझाउदैन् आफ्नो हैसियत देखाउँछ र पानीले समुन्द्रमा पुगेपछी आफ्नो गुण र स्वभाव पाउँछ । त्यो शान्त भएरै प्राप्त गरेको हो । या जब खोला शान्त र मौन हुन्छ त्यो समुन्द्र बन्छ ।

कवि शिरोमणि लेखनाथ पौडेल आफ्नो नैतिक दृष्टान्त  कवितामा लेख्नुहुन्छ--

"छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?"

आत्माको शक्तिको लागि मौनको आवश्यकता पर्दछ । ब्रह्मा कुमारी सिवानी दिदीले आत्माका यी सात गुण बताउनु हुन्छ-- "पबित्रता, शान्ति, शक्ति,सुख आनन्द,प्रेम,र ज्ञान" । यी प्राप्त गर्ने मौन एउटा उर्वर भूमि हो । जहाँ सजिलै फस्टाउँछ । भनिन्छ, मौन मस्तिष्कको आराम हो र शरीरको सुताई आत्माको लागि पोषण र पुनर्ताजगी हो ।

जोश विलिङ भन्नुहुन्छ-- "अस्वीकार गर्ने सबैभन्दा मुख्य तर्क मौन हो ।" मुर्ख, अशान्ति र झगडाको लागि अचुक औषधि पनि मौन नै हो । हो, बोल्ने शब्दले भन्दा मौनले उत्तम अनुभूति दिन्छ । भित्र छुन्छ । सोच्ने अवसर मिल्छ । हेलेन केलरले "हरेक चिजको आफ्नै रहश्य हुन्छ, अँध्यारो र मौनको पनि । जेसुकै अवस्थामा होस त्यहाँ सिक्ने बिषय हुन्छ ।"

भन्नुभएको छ भने वान डायरले "हरेक सिर्जनाहरु मौन बाट शुरु हुन्छ । तिम्रो विचार मौनको खालीपनबाट उत्पन्न हुन्छ । तिम्रा शब्दहरु त्यही खालीपनबाट आउँछ । तिम्रो हरेक अस्तित्वहरु त्यही खालिपनबाट आउँछ । सिर्जनशीलतालाई केही स्टिलनेस आवश्यक हुन्छ ।" भन्नू भएको छ । यी कुरालाई आत्मसात किन नगर्ने ? त्यस्तै जे कृष्णमूर्ती भन्नुहुन्छ--  " तिमीले संकेत गरेका छैनौँ ? प्रेम नै मौन हो । यो अरुको हात समाउनु, बच्चालाई मायाँले हेर्नू, बेलुकाको सौन्दर्य हेर्नू, मुस्कुराउनु, प्रेमको बिगत र भबिस्य हुदैन् त्यसैले यो मौनको असाधारण अवस्था हो ।"

अरेबियन उखानले भन्छ-- "मौन रुखले शान्तिको फल दिन्छ ।" मौन र मुस्कान दुई शक्तिशाली साधन हुन् । मुस्कानले धेरै समस्याको समाधान गर्दछ भने मौनले थुप्रै समस्यालाई हटाउँछ । भनिन्छ, ती जो जान्दछ्न बोल्दैनन् जो जान्दैनन् बोल्छ्न् । धेरै बोल्नु खतराको कारण हो । मौन भनेको दुर्भाग्य हटाउनु हो । कुरौटे सुगालाई पिन्जरामा थुनिन्छ अरु चरा नबोली स्वतन्त्र रुपले उड्छ्न् । भर्जिनिया वूल्फ भन्छन--"म मौनको उपन्यास लेख्न चाहन्छु, त्यो चिज जसको बारेमा मानिसहरू भन्न सक्दैनन् ।"

म भन्छु--" उड्नको लागि खाली स्पेस चाहिन्छ । तिमी पनि बोली र बिचार शून्य बनाऊ सजिलै उड्न सक्छौ ।" मेरो बा भन्नुहुन्छ-- "धेरै बुझेको मान्छे मौन हुन्छ । जसरी भरी गाग्री शान्त हुन्छ ।"

मुर्खको उत्तम उत्तर मौनताले दिन्छ । भनिन्छ, त्यति बेलासम्म मुख बन्द राख जतिबेला सम्म मस्तिष्कले गियर लिदैन् । प्रकृतिबाट बोली आउँछ । बुझाइबाट मौन हुन्छ । शब्दले सकेन भने मौन बोल्छ । शब्दले भन्दा मौनले घाउहरु छिटो निको हुन्छन् । शेक्सपियरले भन्नुभएको छ--"थोरै शब्दहरु भएका मानिसहरु उत्तम हुन्छ्न् ।" लिङ्कनले भन्नू भएको छ-- "धेरै लामो भाषण म सजिलोसँग गर्न सक्छु तर अति छोटो भाषण गर्न गार्होछ हुन्छ र त्यो दिन रातभरी सोचिरहन्छु ।" मलाई लाग्छ --"अक्षर, वर्णहरु र शब्दहरु पनि  संगितमय झङ्कारको आभास र मधुरम निशब्द हावाको आरोह अबरोह सँगै उत्पत्ति भएका हुनुपर्छ ।" हो, शब्दहरु आफैमा मौन हुन्छ्न्, महान हुन्छ्न् तर जब मानिसले त्यसलाई ठुल- ठुलो आवाज दिन्छ जसको परिणाममा अर्थहिन निष्प्रभावी र उल्टो बन्न पुग्छ ।

बर्षौ देखि हिमालहरु मौन छ्न् । हामीले दिएका कृत्रिम शब्द र आवाजहरु भन्दा उनिहरुको मौन अर्थ श्रेष्ठतम् छ ।

सिसेरोले मौन संवाद एउटा महान् कला हो भन्नुभएको छ भने एडवार्डो गालिआनो भन्नुहुन्छ, "मौनसँग कुनै भाषाले प्रतिस्पर्धा गर्न सक्दैन किनभने यो पूर्ण भाषा हो ।" रमण महर्षिको शब्दमा "मौन सधैँ वाचाल हुन्छ । यसले भाषाको अनन्त प्रवाह गरिरहेको हुन्छ ।" म भन्छु--"मौनमा नबोलेरै बोलिरहेको होइन्छ । मौनमा हुदा मन सगँ संवाद हुन्छ र तरङमा बाहय जगत सँग ।"

मौन संवाद  कतिसम्म जीवन्त र जवलन्त हुन्छ भन्ने कुराहरु फिल्ममा हेर्न सकिन्छ् । कबिर खानको लेखन र निर्देशन तथा सलमान खानको फिल्म `बजरङगी बाइजान` हिन्दी फिल्ममा ६ बर्षे पाकिस्तानी केटी 'मुन्नी' को मौन भाषाले तपाईलाई वाचल बनाउछ तर ऊ  फिल्म भर बोल्दिन नबोलेरै उसले सबथोक बताउछे । त्यस्तै इरानी फिल्म निर्देशक मजिद मजिदीको सानदार फिल्म 'वरान' की नायिका सिनेमाभरि एउटै संवाद पनि बोल्दिनँ  । नायकले ऊसँग आफ्नो प्रेम प्रकट गर्न पनि पाउँदैन । तर ऊ सिनेमाभरि सबैभन्दा बढी वाचाल छे । लाग्छ, नायकले प्रकट गर्न नपाएको प्रेम नै सबैभन्दा प्रकट छ  । आवाजयूक्त छ ।

लेखक अभय श्रेष्ठ लेख्नुहुन्छ --"संसारमा नाम चलेका सुन्दर सिनेमा धेरै छन् । तर, किन हो म सबैमा आनन्दित हुन सक्दिनँ । संसार हल्लाएका कतिपय फिल्म बारम्बार प्रयास गर्दा पनि पूरा हेर्न नसकेर म हैरान छु । तिनले भुसुक्कै निद्रा लगाइदिन्छन् । तर, कतिपय मौन सिनेमा कति हृदयस्पर्शी हुन्छन् भने जति हेरे पनि तिर्सना मेटिँदैन । इटालीका निर्देशक भित्तोरियो डेसिकाको ‘उम्बर्टो डी’ र ‘टु वमेन’ जति हेरे पनि म थाक्दिनँ । जति हे-यो उत्तिकै आनन्द दिने सिनेमामा मलाई अकिरा कुरुसावाको ‘रसोमन’, फेडेरिको फेलिनीको ‘ला डोल्स भिटा’, ओङ कार वाईको ‘इन द मुड फर लभ’, झाङ यिमुको ‘फ्लावर्स अफ द वार’, सत्यजीत रेको ‘अरण्यर दिनरात्री’, अपर्णा सेनको ‘मिस्टर एन्ड मिसेज अयर’, महेश भट्टको ‘अर्थ’ प्रेमील र हृदयस्पर्शी लाग्छ ।"

हुन पनि यस्ता मन छुने मौन भाषाका सिनेमा कसरी बन्छ्न् ? कति ससक्त हुन्छ ,मौन सम्वादात्मक साहित्य र कला । यो त नेपाली फिल्म पशुपतिप्रसाद कि नायीका बर्षा शिवाकोटीको मौन अभियान वाट तपाईमा प्रकट हुने अनुभूतिले स्पष्ट पार्छ। मौन अभियानबाट दिने प्रेरणाको गहिराई धेरै नै हुन्छ । लभ स्टोरी `मौन` नेपाली सिनेमामा बर्षा र अमनले उत्तम मौन संवाद  गरि प्रेम अभिव्यक्त गरेका छ्न् । सिनेमालाई जीवन्त पारेका छ्न्। यी प्रतिनिधि सिनेमा मात्र हुन् ।  

बास्तवमा सबैभन्दा सुषुप्त कुरा नै सबैभन्दा शानदार तरिकाले दृश्यमान हुन्छ भने कुरा सत्य रहेछ । त्यसको लागि नियालेर हेर्न, बुझ्न र अनुभूत गर्न सक्ने मौन को अभ्यास हुनुपर्छ, शायद ।

भनिन्छ, ऋषि र महर्षीले वाणीलाई मनमा लिन गराए या मिलाए । मनलाई वाणीमा मिलाए त्यसपछि एक सुन्दर मधुर संगित हृदयमा घट्यो त्यो द्रष्टाभावले हेरे, सुने र अभिव्यक्त गरे र घटित भयो । ती महर्षिका मौन आवाजहरु नै वेद, गिता, महाभारत, उपनिषद्  र रामायणका ऋचा बने एउटामा नै हजार शब्दहरु समायोजन हुनसक्ने मौन आवाज बन्यो । ईश्वरीय मौन आवाज ।

ॐ  शब्द पनि भाषा र आवाज भएर नभएर मौन शक्तिको प्राणमय मधुर सांगीतिक अभिव्यक्ति हो एउटा अनुभूति हो जसले शरीर, मन र मस्तिष्कलाई शान्तपार्दै जोड्छ र एकीकृत उर्जा पैदा गर्छ ।

आवजले मानिसलाई बाहिरी जगतसँग जोड्छ भने मौनले आन्तरिक शक्तिसँग जोड्छ । मौनको सिधै सम्बन्ध हृदय,प्रेम र शान्तीसँग हुन्छ । बुद्ध भन्नुहुन्छ -"शान्ती खोज्दै नहिंड । शान्ती तिम्रो भित्री मनमा खोज ।" हो, मौन मनमा मात्र शान्तिको बाँस हुन्छ । सुवास हुन्छ ।

बास्तवमा हामी मौनबाटै आएका हौँ र गन्तव्य पनि मौन नै हो । हो, शून्यबाट शून्य नै आउँछ । हामी शून्य थियौँ र फेरि शून्य नै हुन्छौँ । त्यो नबुझेर हामी बढ्ता बोल्छौँ । म तपाईलाई नबोल्नु त भन्दिन तर जीवनको आन्तरिक यात्रा गर्ने हो भने सोच्नु, अनुभुत गर्नु र हुनु पर्छ । जसको लागि मौनताले धेरै मद्दत गर्छ । साथैं शून्यताले ठूलो सहयोग गर्छ। भनिन्छ, शून्यको बोधले ब्रह्माण्डमा गएर शरीरबाट अलग्यिएर शरीरलाई हेर्न सकिन्छ ।"

थोरै शब्दहरु बुद्धिमानी तरीकले छानेर बोल्नु या बोली बन्द गर्नु उत्तम हुन्छ। सफलता प्राप्त गर्न दुई मन्त्र मुस्कान र मौनलाई आत्मसात गर्नुको कुनै विकल्प छैन्। सून्नु मात्र, सुन्नु पर्छ । प्रतिक्रिया दिनु हुदैन् । तपाईं बुद्धिमानी हुने भए कम बोल्नु, धेरै सुन्नु, थोरै पढ्नु, धेरै सोच्नु र उत्तम विचार निर्माण गर्नु पर्ने हुन्छ ।

फ्रान्सिस बेकनले भनेजस्तै `मौन निन्द्रा समान हो जसले बुद्धिलाई पोषण दिन्छ ।´ जसको लागि होशियारी अपनाउनु पर्छ । भ्रमको पर्दा हटाउन मौनमा बिचरण गर्नुपर्छ । ईश्वरको आवाज नै मौन भएकाले ध्यान र प्राथना गरेर मौन हुनु पर्छ । सूर्यास्थ हेरर प्रकृतिको अनुपम सुन्दरताको रोमान्चक अनुभूति हुन्छ । बोल्नुपर्दैन्,भन्ने कुरालाई तपाईं हामीले मनन गर्ने कि नगर्ने ? कि बकबक बोलिरहने हो ? कानका जाली फुट्ने गरि ।

मौन धारण गर्नु एउटा ठूलो साधना हो यसले हाम्रो सोच्ने क्षमता, स्मरण शक्ति  र सिर्जनात्मक क्षमता बढाइदिन्छ । एकाग्रता, शान्ति र सकारात्मक सोचको बिकासको लागि मौनको अभ्यास गर्न मनोबैज्ञानिक तथा विशेषज्ञले सल्लाह दिन्छ्न्। जब हामी मौन रहन्छौँ आत्ममुल्याकंन गर्छौँ त्यसबाट  नयाँ मानसिक उर्जा प्राप्त गर्छौँ र यो यति साधरण उपायाबाटै हामीले जीवनमा सकारात्मक बद्लाव ल्याउँन सक्छौँ । एलेन वाटले भन्नु भएको छ-- "हामी भबिस्यको लागि बाच्छौँ जुन भ्रम हो मौनले हामीलाई वर्तमानमा लैजान्छ।जहाँ हामी खुसीको अनुभव गर्छौँ।मौनताकै माध्यमबाट हामी भविस्यको भ्रमबाट निस्कन कामयावी हुन सक्छौँ।"

सदगुरुहरुको प्रवचनमा कण्ठको तहबाट बातचित बन्द गर, बिचारको बाढिलाई मनको तहबाट मौन धारण गर/ हेर, बिचार प्रती जाग, हृदयको तहवाट द्रष्टा भावले जाग, शून्यसतियोगमा पुगेर निराकार ध्यान गरि मौन हौँ, नादसतियोग गरेर जाग र असली मौन त्याग गरेर मुनि होउ भन्ने सुन्न पाइन्छ । कतिपय ठाउँमा मौन र योगको अभ्यासले स्वामी देवमुर्तिले चलेको मोटर रोक्न, आफ्नो छातिमाथी गाडी कुदाउन पनि सफल हुनु भयो र केही योगीहरुले आँखाको ज्योतिद्वरा फलामको छ्ड भाँचिदिनुभयो भनेर पढ्न पाइन्छ । यो मौनको अभ्यास कुनै गुरु, योगी, मौन बाबाले मात्र गर्ने होइन यो त तपाईं हाम्रो मनलाई शक्तिशाली बनाउने अस्त्र पक्कै हो । हामीले पनि अभ्यास गर्ने हो । अब त बुझ्नुभो नी ? 

कुनै समय बुद्धलाई ईश्वर छ्न् कि छैनन् भनी देखाउन भनियो । जवाफमा बुद्ध मौन हुनुभयो । त्यस्तै जीससलाई के तपाई भगवानको छोरा हो ? भनेर प्रमाणित गर्न भनियो । उहाँ पनि मौन हुनुभो । प्रमाण भन्दा पछाडी प्रमाण हुन्छ । अर्थात प्रमाणको प्रमाण त्यो मौनता हो । तपाइलाई कसैले सोध्यो तपाइको हातमा चोट छ । त्यो दुख्छ र ? मलाई प्रमाण दिनुहोस । म, कसरी तपाइलाई बिश्वास गरु ? तपाईं, तपाईंको दुखाइलाई कसरी प्रमाणित गर्नुहुन्छ ? तपाईं भन्नू हुन्छ --यो त स्व:नुभूति गर्न बिषय हो नकि प्रमाणित गर्ने कुरा ।

म भन्छु---" मौन हुनुहोस प्रमाण घटित हुन्छ । त्यसैले धेरैजसो प्रश्नको उत्तर जो प्रमाणित हुदैनन्  मौन भएर दिनुहोस । मौन उत्तरहरु नै सबैभन्दा उत्तम र सशक्त उत्तर हुन्छ्न् । मौनमा सटिक जवाफ र असिम शक्ति हुन्छ । त्यति मात्र कहाँ हो र । ईश्वर दर्शन पनि मौन मै हुन्छ"

अहिले अप्राकृतिक ढंगले पग्लिरहेको हिमालको हिउँले मौन भएरै प्रश्न गरिरहेको छ, मानिसलाई ।" भोलि तिमीहरुको के हालत हुन्छ ? जो हालत अहिले मेरो गरायौँ ।" तथापि मानिस चाहिँ ज्यादा बकबक गरिरहेछ । कुनै दिन फेरि भियनामा जस्तै भेला भएर निष्कर्ष सुनेर स्तब्ध हुन्छ अनि फेरि निमेष भरमै भुल्छ । हुनपनि मानविय स्वाभाव जो छ, त्यही शक्ति क्षीण गर्न पर्याप्त छ । तर खुशीको कुरा यो पनि छ- सोच र स्वाभाव बदल्ने हो भने शक्तिशाली हुने उपाय हामीसँगै छ ।

अन्तमा; स्वाभाव बदलौँ र मौनको अभ्यास गरौँ अनि शक्तिवान हौँ ।

(लेखक पाण्डे सुनपकुवा मा बि उर्लाबारी-२ मोरङका शिक्षक हुन्) 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै