काठमाडौँ । इङलिश प्रिमियर लिगमा चेल्सीले पहिलो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले नर्विच सिटीलाई ३-२ गोल अन्तरले पराजित गरको हो ।
चेल्सीको जितमा युवा खेलाडी टामी अब्राहीमले दुई गोल गरेका थिए भने मासन माउन्टले एक गोल गरेका थिए । त्यस्तै नर्विचका लागि टोड कान्टवेल र टीमु पुकीले एक एक गोल गरेका थिए ।
चेल्सीले प्रिमियर लिगको यस सिजनमा यो पहिलो जित हासिल गरेको हो । यस अघि म्यानचेस्टर युनाइटेडसँगको पहिलो खेलमा हार बेहोरेको चेल्सीले दोस्रो खेलमा लेस्टर सिटीसँग बराबरीमा रोकिएको थियो । चेल्सीले प्रिमियर लिग अन्तर्गत अब अर्को शनिबार शेफिल्ड युनाइटेडसँग खेल्ने छ ।
म्यानेजरको रुपमा चेल्सी आएका फ्र्यांक लाम्पार्डका लागि पनि चेल्सीमा यो पहिलो जित हो ।
त्यस्तै नर्विचले भने पहिलो खेलमा लिभरपुलसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा न्युक्यासललाई जितेको थियो । नर्विचले अब अर्को खेल आगामी शनिबार वेस्टह्यामविरुद्ध खेल्ने छ ।