• २०८१ बैशाख १७ सोमबार

वुमन्स च्याम्पियन्स लिगको उपाधि चितवन राइनोजले जित्यो

kharibot

काठमाडौँ । पहिलो वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी-२० क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा चितवनले क्याट क्विन्स काठमाडौँलाई ४५ रनले पराजित गरेको हो । चितवन प्रतियोगितामा अपराजित रहदै उपाधि जितेको छ ।

चितवनले दिएको ११३ रनको लक्ष्य पछाएको क्याट क्विन्सले १९.५ ओभरमा अल आउट हुदै ६७ रन मात्र बनाएको थियो ।

क्याट क्विन्सका लागि अप्सरा बेगमले १५ रन बनाइन भने ममता थापा र इश्वरी विष्टले १३-१३ रन बनाएका थिए । क्याट क्विन्सका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

चितवनका बलर सुमन खतिवडा र ऋतु कनौजियाले सर्वाधिक ३-३ विकेट लिएका थिए । सुमनले ३ ओभरमा एक मेडनसहित ११ रन दिएर ३ विकेट लिएकी थिइन् । त्यस्तै रेखा रावलले २ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाउदै ११२ रन बनाएको थियो । चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन बनाएकी थिइन् । त्यस्तै इन्दु बर्माले अविजित २२ बनाएकी थिइन् । त्यस्तै काजोल श्रेष्ठले २१, कन्चन श्रेष्ठले १९ रन बनाएकी थिइन् ।    

क्विन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको महिला टी-२० फ़्रेन्चाइजी लिग दक्षिण एशियामै पहिलो पटक आयोजना भएको हो ।   

वुमन्स च्याम्पियन्स लिगमा ललितपुर फाल्कन्स, पोखरा पल्टन, क्याट क्वीन्स, चितवन राइनोज र विराटनगर टाइन्टस गरि ५ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा क्याट क्विन्सकी कप्तान रुबिना छेत्रीले ६ खेलमा २ अर्धशतकसहित २१४ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी बनेकी छन् । त्यस्तै चितवन राइनोजबाट खेलेकी काजोल श्रेष्ठले ५ खेलमा एक अर्धशतकसहित १३४ रन बनाएकी छन् । त्यस्तै विराटनगरबाट खेलेकी ज्योति पाण्डेले ५ खेलमा एक अर्धशतकसहित १२४  रन बनाएकी थिइन् ।

त्यस्तै बलिङ तर्फ चितवनबाट खेलेकी कविता गौतमले ५ खेलमा सर्वाधिक १० विकेट लिएकी छन् । त्यस्तै चितवनकै रेखा रावलले ७ विकेट लिएकी छन् भने क्याट क्विन्सकी इश्वरी बिष्टले ६ विकेट लिएकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै