• २०८१ बैशाख १८ मंगलबार

आजदेखि हुने आइपिल कति बदलियो ? के के छन् प्रतियोगिताका नयाँ नियम ?

kharibot

काठमाडौँ । विश्वकै चर्चित टी-२० क्रिकेटको लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को १५औं सिजन आजबाट सुरु हुँदैछ । लिग राउण्डका सबै ७० खेल मुम्बईका तीन र पुणेको एउटा स्टेडियममा खेलाइदैछ । कोरोनाका कारण युएईमा आईपीएल २०२० आयोजना भएको थियो । त्यसपछि २०२१ मा प्रतियोगिता भारतमा सुरु भयो तर यूएईमा समाप्त भयो । कोरोनाका कारण सिजन बीचमै रोकिएको थियो भने दोस्रो लेग युएईमा भएको थियो । यसपटक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले देशका दुई शहरमा थप खेल गराउने योजना बनाएको छ । प्रतियोगिता हुदै जादा धेरै परिवर्तन हुने बताइएको छ ।

यस रिपोर्टमा आइपिएलको यस सिजनमा बारेमा १० प्रश्न र तिनका उत्तर मार्फत जानकारी दिदैछौं :

१- आइपिएल कहिले र कहाँ सुरु हुदैछ ?

साविक विजेता चेन्नई सुपर किंग्सले उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सको सामना गर्नेछ । पहिलो खेल २६ मार्चमा मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । टस बेलुकी ७:१५ बजे हुनेछ र खेल साढे ७:४५ बजे सुरु हुनेछ । यस सिजनमा कुल १२ डबल हेडरहरू छन् (एक दिनमा दुई खेलहरू) । डबल हेडरको दिन पहिलो खेल दिउँसो ३: ४५ बजे र दोस्रो खेल बेलुका ७: ४५ बजे हुनेछ ।

२-  १० टिम बनेपछि आइपिएलको ढाँचा कस्तो छ ?

आइपिएलको यस सिजनमा १० टोली सहभागी हुदैछन् । लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स पहिलो पटक सहभागी हुदै छन् । लिग राउण्डका लागि १० टोलीलाई ५–५ को दुई समूहमा विभाजन गरिएको छ । आईपीएलका दुई सर्वाधिक सफल टोली मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स फरक–फरक समूहमा छन् । सबै टोलीले १४ खेल खेल्नेछन् ।

यसरी लिग राउण्डमा कुल ७० खेल हुनेछन् । समूहका सबै टोलीले एकअर्कासँग दुई दुई खेल खेल्नेछन् । यसपछि दोस्रो समूहको टोलीले एउटा टिमसँग दुई र चार टिमसँग एक खेल खेल्नुपर्नेछ । लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स बाहेक मुम्बई इण्डियन्स, कोलकोता नाइटराइडर्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, पञ्जाव किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स आइपिएलमा खेल्ने १० टिम हुन् । 

उदाहरण- चेन्नई सुपर किंग्सको टोलीले आफ्नो समूहका चार टोलीसँग दुई खेल खेल्नेछ । यसबाहेक समूह ‘ए’को टोली मुम्बई इन्डियन्ससँग दुई खेल र अन्य चार टोलीसँग एक–एक खेल हुनेछन्  । यसरी चेन्नईले लिगमा १४ खेल खेल्नेछ ।

३- सबै लिग खेलहरू कहाँ खेलिनेछन् ?

कोरोनाको जोखिमबाट बच्न यस पटक लिग राउण्डका खेल दुई शहरका चार मैदानमा खेलाइने भएको छ । खेलहरू मुम्बईको वानखेडे, डीवाई पाटिल र ब्रेबोर्न स्टेडियममा हुनेछन् । त्यस्तै पुणेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा पनि खेल हुनेछन् । यसरी खेलाडीलाई एयरपोर्ट जानु पर्दैन । तिनीहरू बसद्वारा नै यी स्टेडियमहरू बीच यात्रा गर्न सक्ने छन् ।

४- के यस पटक होम र अवे खेलहरू हुनेछन् ? 

टिमले वानखेडे र डीवाई पाटिलमा चार–चार खेल र ब्रेबोर्न र एमसीए स्टेडियममा तीन–तीन खेल खेल्नेछन् । घरेलु मैदान (वानखेडे स्टेडियम) मा चार खेल खेल्न बाँकी रहेकाले अन्य टोलीहरूले यो नियम मुम्बई इन्डियन्सका लागि फाइदाजनक भएको महसुस गर्न सक्छन् । तर मुम्बईको टोली सन् २०१९ पछि पहिलो पटक वानखेडे स्टेडियममा खेल्दैछ ।

५- प्रतियोगिता कहिलेसम्म चल्छ ?

लिग राउण्डमा ७० खेल हुनेछन् । यी खेलहरू मार्च २६ देखि मार्च २२ सम्म ५८ दिनमा हुनेछन् । यसपछि चार प्लेअफ खेल हुनेछन् । फाइनल खेल मे २९ मा हुनेछ । प्लेअफको खेल तालिका भने सार्वजनिक भएको छैन ।

६- आइपिएलको समयमा कुनै खेलाडी वा सदस्यलाई कोरोना संक्रमण भयो भने के हुन्छ ?

खेलाडी वा सदस्यमा कोरोना संक्रमण देखिए सात दिन आइसोलेसनमा राखिनेछ । यस अवधिमा उनको कोभिड परीक्षण छैटौं र सातौं दिन हुनेछ । टोलीको बायो-बबलमा समावेश हुन खेलाडी वा सदस्यले २४ घण्टाको अवधिमा लगातार दुईवटा पिसिआर परीक्षणमा नेगेटिभ आएको हुनुपर्ने नियम बनाइएको छ ।

७- कोभिड-१९ का कारण फ्रेन्चाइजीका अधिकांश खेलाडीहरू खेल्न उपलब्ध छैनन् भने के हुन्छ ?

यस्तो अवस्थामा १२ खेलाडी उपलब्ध भएमा ११ खेलाडीसहित फ्रेन्चाइजीलाई खेल्न भनिएको छ । जसमा सात भारतीय र एक वैकल्पिक खेलाडी रहनेछन् । यदि कुनै टोलीसँग कम्तिमा १२ खेलाडी उपलब्ध छैनन् भने, बीसीसीआईले त्यो खेल अर्को दिन आयोजना गर्नेछ । यदि त्यस्तो भएन भने, यो विषय प्राविधिक समितिमा पठाइनेछ । प्राविधिक समितिको निर्णय अन्तिम हुनेछ ।

८- यो आइपिएलमा नयाँ नियम लागु हुदै 

अब सबै टिमले एक इनिङ्समा एकको सट्टा दुईवटा रिभ्यु पाउनेछन् । क्याच आउट भएमा नयाँ ब्याट्सम्यानले अर्को बलमा सामना गर्नुपर्नेछ । अहिलेसम्म यस्तो हुने गरेको छ कि शट प्रहार गर्ने खेलाडीले अर्को छेउमा उभिएको ब्याट्सम्यानलाई पार गरे भने अर्को छेउमा रहेको ब्याट्सम्यानले स्ट्राइक रेट लिन्छ । नयाँ नियममा यस्तो हुने छैन। ओभरको अन्तिम बलमा ब्याट्सम्यान आउट भएमा नयाँ ब्याट्सम्यानले अर्को ओभरको पहिलो बलमा स्ट्राइक गर्दैन । ऊ अर्को छेउमा जान्छ ।

९- यस पटक दर्शकहरूलाई स्टेडियममा अनुमति दिइनेछ ?

महाराष्ट्र सरकारका अनुसार हाल खेलमा स्टेडियमको क्षमता अनुसार २५ प्रतिशत दर्शक खेल हेर्न जान सक्नेछन् । कोरोना भ्याक्सिनको दुवै डोज लिएका दर्शकलाई स्टेडियम जान दिइनेछ ।

१० - बायो-बबल कति परिवर्तन भएको छ? के छन् नयाँ नियम ?

यस पटक बायो-बबलमा सबैभन्दा ठूलो परिवर्तन कडा क्वारेन्टाइनको बारेमा हो । पछिल्लो पटक खेलाडी र सदस्य सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको थियो । यसपटक भने घटाइएको छ । खेलाडी र सदस्यलाई तीन दिन मात्र क्वारेन्टाइनमा बस्नुपर्नेछ । हरेक २४ घण्टामा तीन दिनसम्म सबैको कोरोना परीक्षण गरिने भएको छ । यी नियमहरू अन्य बायो-बबलबाट यहाँ आउने खेलाडी वा सदस्यहरूमा लागू हुने छैनन्। धेरै खेलाडी र सदस्यहरू द्विपक्षीय शृंखला, फ्रेन्चाइज क्याम्प, घरेलु प्रतियोगिता र राष्ट्रिय क्याम्पबाट सीधै आईपीएल खेल्न आउने गरेका छन्। उनीहरुलाई क्वारेन्टाइनमा राख्नु पर्दैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै